Logo

बिकेनन् वीरबहादुरका बिरुवा

गुल्मीका नर्सरीमा उत्पादित बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । बाहिरी जिल्लाबाट बिरुवा भित्रिने तर जिल्लाभित्रका बिरुवा बिक्री नहुँदा किसान समस्यामा परेका छन् । जिल्लाको सदरमुकाम तम्घासअन्तर्गत रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्जनौं बिरुवा बिक्री हुन सकेका छैनन् ।

५६ वर्षीय कार्कीले विगत १६ वर्षदेखि तम्घासमा रेसुङ्गा मदाने जटिबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर बिरुवा उत्पादनमा लागेका छन् । कृषि ज्ञान केन्द्र गुल्मी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीलगायत कृषिसँग सम्बन्धित कार्यालय, जिल्लास्थित स्थानीय तहले सुन्तला र कागतीलगायतका बिरुवा खरिद गरेर किसानलाई बितरण गरे पनि यी कार्यालयले बाहिरी जिल्लाबाट बिरुवा खरिद गर्दै आएका छन् ।

जसका कारण गुल्मीमा भएका नर्सरीका बिरुवा वितरण हुन सकेका छैनन् । कार्कीको नर्सरीमा सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो, धुपी, मौसम, गुलाफ, मनकामना, श्रीखण्ड, रुद्राक्ष, स्ट्रबेरी, सुगर फ्री, अंगुर र तरकारीजन्य सबै बिरुवा पाइन्छन् । बिरुवाबाट वार्षिक सातदेखि १७ लाखसम्म आम्दानी गर्ने कार्की यस वर्ष बिरुवा बिक्री नहुने चिन्तामा छन् ।

कार्कीसँग अहिले कागती ४० हजार, सुन्तला ३० हजार, टिमुर १५ हजार, अनार सात हजार, कुरिलो पाँच हजार, धुपी तीन हजार र अन्य बिरुवा एक हजारभन्दा माथिका दरले रहेका छन् । कार्कीले सुन्तला प्रति बिरुवा २३, कागती प्रतिबिरुवा २५, टिमुर प्रतिबिरुवा ६०, किबी प्रतिबिरुवा १५० र अम्बा प्रतिबिरुवा ५० रुपैयाँ पर्ने गर्दछ । कार्कीले वि.सं २०६४ सालमा जम्मा २० हजार रुपैयाँबाट सुरु गरेको नर्सरी अहिले ४६ लाखको पुगेको छ ।

विगत १६ वर्षदेखि प्रत्येक वर्ष लगानी बढाउँदै गएका कार्कीले बिरुवा बिक्री नहुन थालेपछि लगानी घटाउने सोंचमा छन् । कार्कीले हाल सात रोपनी जग्गामा बिरुवा उत्पादन गरिरहेका छन् । जसमा दुई रोपनी निजी र पाँच रोपनी जग्गा लिजमा लिएका छन् । लिजमा लिएको जग्गाको वार्षिक १५ हजार भाडा कार्कीले तिर्दै आएका छन् । भारी मात्रामा बिरुवा उत्पादन गरेका कार्की बजारीकरणको ग्यारेण्टी भएका उत्पादन बढाउने बताउँछन् । तर, बिरुवा बिक्री नभए पनि लगानी घटाउँदै गएको कार्कीको गुनासो छ ।

“किसानलाई बिरुवा वितरण गर्ने कार्यक्रम गुल्मीमा वर्षेनी चल्छन्,” कार्कीले भने, “माटो सुहाउँदो बिरुवा भए पनि हाम्रो बिक्री हुन्न, बाहिरी जिल्लाबाट खरिद हुन्छ ।” सामुद्रिक सतहदेखि एक हजार पाँच सयको उचाइमा उत्पादित बिरुवा होचो वा अग्लो दुवै स्थानका लागि उपयुक्त हुने भए पनि बिरुवा बिक्रीमा समस्या देखिएको छ । नर्सरीमा कार्कीकी श्रीमती रेनु कार्कीले सघाउँदै आएकी छिन् । नर्सरीबाट औसतमा दैनिक पाँच जनाले रोजगार पाएको सञ्चालक कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्