कर्णालीका ७३ प्रतिशत नागरिक कृषिमै निर्भर

मुलुकका सात प्रदेशमध्ये सबैभन्दा बढी कर्णाली प्रदेशका नागरिक कृषि पेशामा निर्भर रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार कर्णालीका ७३.७ प्रतिशत जनसंख्या कृषि पेशामा संलग्न रहेको देखाएको छ ।
कर्णालीको कुल जनसंख्याको ७३ दशमलव ७ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा संलग्न रहेको पाइएको छ । कर्णालीको कुल जनसंख्याको सबैभन्दा धेरै कृषि, वन तथा माछापालन क्षेत्रमा संलग्न रहेको देखाएको छ । जनगणनाको अन्तिम नतिजाले १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले गरेको आर्थिक कामलाई नेपालस्तरीय औद्योगिक क्षेत्रअनुसार वर्गीकरण गरी तथ्यांक निकालिएको छ ।
सोहीअनुसार कर्णालीमा आर्थिक काममा संलग्न नौ लाख २६ हजार ३४० मध्ये सबैभन्दा बढी मानिसले कृषि पेशा अंगाल्दै आएका छन् । त्यस्तै थोक एंव खुद्रा २.६, निर्माणमा ५.२, शिक्षामा २.६ र सार्वजनिक प्रसाशन तथा सुरक्षाको क्षेत्रमा २.३ प्रतिशत जनसंख्या संलग्न रहेको तथ्यांकमा उल्लेख छ । यसरी तथ्यांकलाई हेर्दा कर्णालीको कुल जनंख्याको ठूलो हिस्सा कृषि पेशाले ओगटेको छ । तर प्रदेश र स्थानीय तहका नीति तथा लगानीलाई हेर्दा कृषि क्षेत्र उपेक्षामा पर्दै आएको छ ।
भौतिक विकास केन्द्रित नीति र बजेटले कर्णालीको कृषि क्षेत्र र किसान आझेलमा परेका हुन् । ७३.७ प्रतिशत जनसंख्या कृषिमा रहेको कर्णालीमा ठोस नीति र लगानीकै अभावले उत्पादन वृद्धि तथा आयात प्रतिस्थापन गर्न सकिएको छैन । कर्णाली प्रदेशमा खाद्यान्नको माग ३५ लाख दुई हजार एक मेट्रिक टन भए पनि यहाँको उत्पादन ३२ लाख ६५ हजार ३२ मेट्रिक टन मात्र रहेको कर्णाली भूमि, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
कर्णालीमा अहिले पनि दुई लाख पाँच हजार ४२८ मेट्रिक टन खाद्यान्न बाहिरबाट आयात गर्नुपर्ने बाध्यता रहेको कर्णाली प्रदेश भूमि, कृषि तथा सहकारी मन्त्रालयका कृषि विकास अधिकृत पूर्णबहादुर थापाले बताए । निर्वाहमुखी कृषि पेशाले लक्ष्यअनुरुप कर्णाली प्रदेशको समृद्धिमा टेवा पु¥याउनसमेत सकेको छैन । त्यसैले प्रदेश सरकारले कृषि र किसानका हित हुनेगरी आगामी नीति तथा कार्यक्रममा प्राथमिकता दिनुपर्ने जुम्लाका किसान रामकृष्ण बुढ्थापाको माग छ ।
उत्पादनका आधारमा अनुदान, किसान प्रोत्साहन, अनुदानमा मल बिउ प्रदान, ढुवानीमा सहुलियत, बजारीकरणको सुनिश्चितता लगायतका कृषि नीतिमा सरकारले ध्यान दिए कर्णालीको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रले योगदान गर्ने उनको भनाइ छ । यस्तै कुल जनसंख्याको नौ लाख ५८ हजार ६४३ अर्थात् ७१ दशमलव ७ प्रतिशत जनसंख्या आर्थिक रूपले सक्रिय रहेको छ ।
आफ्नो जीवन निर्वाहका लागि दैनिक आर्थिक उपार्जनमा लाग्ने जनसंख्या सन्तोषजनक अवस्थामा भए पनि रोजगारीको सुनिश्चिता नहुँदा कामका लागि भौतारिनु पर्ने स्थिति छ । यस्तै कर्णालीमा आर्थिक रूपले सक्रिय व्यक्तिमध्ये ६ लाख १८ हजार ४८७ जना अर्थात् ९२ दशमलव ५ प्रतिशत अक्सर रोजगार पाएको र ५० हजार २२८ अर्थात् ७ दशमलव ५ प्रतिशत जनसंख्या बेरोजगार रहेका छन् ।
आर्थिक रूपमा सक्रिय कर्णालीका नागरिक आसंस्थागत क्षेत्रअनुसार सबैभन्दा धेरै घरायसी क्षेत्रमा काम गर्ने ७६ दशमलव ९ प्रतिशत, गैरवित्तीय संस्थामा काम गर्ने १७ दशमलव ६ प्रतिशत, सरकारी क्षेत्रमा काम गर्ने ४ दशमलव ७ प्रतिशत, वित्तीय संस्थामा काम गर्ने शून्य दशमलव ५ प्रतिशत जनसंख्या रहेको उल्लेख छ ।