Logo

सर्वसाधारणका लागि नेपाल रिपब्लिक मिडियाको आइपिओ खुल्ला

सर्वसाधारणका लागि नेपाल रिपब्लिक मिडियाको आइपिओ आज (शुक्रबार) देखि खुल्ला भएको छ। सर्वसाधारणका लागि ३६ लाख १९ हजार ८९१ कित्ता आइपिओ खुल्ला भएको हो । आवेदकले आजदेखि ३० गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।

जेठ ३० गतेसम्म मागअनुसार आवेदन नपरे असार ८ गतेसम्म आवेदन खुला रहने कम्पनीले जानकारी दिएको छ । शेयर लगानीकर्ताले रिपब्लिक मिडियाको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको जारी पुँजी ९६ करोड ७६ लाख रूपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् प्रतिकित्ता १ सय रूपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रूपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने कार्यक्रमअन्तर्गत पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका र कर्मचारीका लागि निष्कासन गरिएको थियो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई ४ लाख ३५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो । आइपिओका लागि २० हजार ७९१ जनाको आवेदन आएकामा २० हजार ७८५ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

सर्वसाधारणलाई छुट्याएको शेयरमध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता आइपिओ कर्मचारीलाई र ५ प्रतिशत अर्थात् २ लाख १७ हजार ६५० कित्ता आइपिओ सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्