बजेटले लक्ष्य हाँसिल गर्न कडा मेहनत गर्नुपर्छः विनोद चौधरी «

बजेटले लक्ष्य हाँसिल गर्न कडा मेहनत गर्नुपर्छः विनोद चौधरी

नेपाली काँग्रेसका सांसद एवं उद्योगपति विनोदकुमार चौधरीले अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बेला आएको बजेटले लक्ष्य हाँसिल गर्न कडा मेहनत गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा विनियोजित बजेटबारे बिहीबार आफ्ना धारणा राख्दै उनले आम्दानी र खर्चको हिसाबले निर्धारित गरिएको ६ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्न चुनौती रहेको बताए । उनले सरकारले प्रस्तुत गरेको बजेटमा देशले भुक्तानी गर्नुपर्ने ऋणको सावाँ ब्याज भन्दा विकास बजेट सानो हुन थालेको टिप्पणी गरे ।

उनले ऋणको सावाँ ब्याज भुक्तानीको लागि १७.५५ प्रतिशत वित्तीय व्यवस्थापन गरिएको र विकास कार्यक्रमको लागि पुँजीगततर्फ १७.२५ प्रतिशत बजेट विनियोजन हुनु भनेको अर्थतन्त्र क्रमशः गिर्दो अवस्थामा गएको सूचक भएको टिप्पणी गरे । देशले १७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँको खर्च गर्नुपरेको अवस्था भनेको देशमा आर्थिक विकासको गति रोकिएको मान्नुपर्ने बताए ।

सरकारले आगामी आर्थिक वर्षमा विनियोजित बजेट खर्च गर्न धेरै मेहनत गरे बजेटले सकारात्मक सुधार गर्ने अपेक्षा गर्न सकिने बताए । उनले सरकारले प्रस्ताव गरेको बजेट गठबन्धनमा भएको सरकारले ल्याएको भएर पनि बजेटमा स्पष्ट सामाजिक, राजनैतिक दृष्टिकोणको कमी रहेको बताए । उनले बजेटमा निजी क्षेत्रलाई प्रोत्साहित गरेकोले सकारात्मक रुपमा लिन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्