सफा हिमाल अभियान २०२३ सम्पन्न

नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान २०२३ को चौथो संस्करण सम्पन्न भएको छ ।
विश्व वातावरण दिवसको अवसरमा जुन ५ मा समापन कार्यक्रम आयोजना गरेर अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइएको हो । कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालगायत अभियानमा संलग्न अन्य साझेदार निकायहरू र सरकारी अधिकारीहरू तथा मुख्य सरोकारवालाहरू सहभागी थिए ।
सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरूणत्से हिमाल सरसफाई गर्ने उद्देश्यका साथ यो अभियान २८ मार्चमा सुरु भएको थियो । अत्यधिक उचाइमा रहेका यी हिमालहरुबाट फोहोर संकलन गर्ने जोखिमपूर्ण यात्रामा नेपाल आर्मी र शेर्पाहरु गरी ९७ जना सहभागी थिए । टिमको अथक प्रयासले ३५,७०८ किलोग्राम फोहोर संकलन गर्न सफल भएको थियो ।
यसरी संकलन गरिएका फोहोरहरु काठमाडौं पठाई पूर्ण रुपमा छुट्ट्याएर रिसाइकल पार्टनर क्रिएसनलाई हस्तान्तरण गरिनेछ । जसले ती फोहोरहरुलाई पुन छुट्ट्याएर रिसाइकल अथवा उचित रुपमा व्यवस्थापन गर्नेछ । वातावरणीय दिगोपन र सामुदायिक संलग्नता सम्बन्धी परियोजनाहरुको लागि कोका–कोला फाउन्डेसन सधैँ अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएको कम्पनीको दावी छ ।
जसमध्ये सफा हिमाल अभियान पनि एक हो । नेपाली सेना, सरकारी संस्थाहरु, दातृ संस्थाहरु र संलग्न सम्पूर्णको सामूहिक प्रयासबाट हिमाली क्षेत्रमा फोहोर व्यवस्थापनको महत्वबारे जनचेतना जगाउन यो अभियानले महत्वपूर्ण प्रभाव पारेको छ । सफा हिमाल अभियान २०२३, सहकार्य, धैर्य र वातावरणीय जिम्मेवारीको प्रेरणादायी उदाहरण बन्न पुगेको छ । यो अभियान नेपालको प्राकृतिक सम्पदालाई भावी पुस्ताका लागि संरक्षण गर्ने सामूहिक प्रतिबद्धताको प्रमाण हो ।