भत्केका सडक मर्मत गर्न ११ करोड लाग्ने «

भत्केका सडक मर्मत गर्न ११ करोड लाग्ने

उदयपुर-गतसाता परेको बाढीले क्षतिग्रस्त बनाएका उदयपुरको चार गाउँपालिकाका २७ वटा ग्रामीण सडक सुचारु गर्न करिब ११ करोड रुपैयाँ लाग्ने भएको छ । सबैलाई जोड्दा ५ सय २२ किलोमिटर लामो हुने यी ग्रामीण सडक मर्मतका लागि १० करोड ६५ लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान जिल्ला विपद् व्यवस्थापन समितिले गरेको हो ।  जिल्ला विपद् व्यवस्थापन समिति, सम्बन्धित गाउँपालिकाका प्रमुख तथा प्रतिनिधि र प्राविधिक समेतको टोलीले अनुगमनपछि सडक सुचारु गर्न करिब ११ करोड रुपैयाँ खर्च लाग्ने प्रक्षेपण गरेको हो । क्षतिग्रस्त सडकमध्ये सबैभन्दा बढी ताप्ली गाउँपालिका जोडिने १ सय ७२ किलोमिटर दूरीको ६ वटा सडकमा ५ करोड १० लाख लाग्ने अनुमान गरिएको छ । त्यसैगरी लिम्चुङबुङ गाउँपालिका जोडिने १ सय २५ किलोमिटर दूरीका ६ वटा सडकमा ४ करोड ५० लाख लाग्ने अनुमान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी धु्रबबहादुर खड्काले बताए । प्रजिअ खड्काका अनुसार रौतामाई गाउँपालिकाको १ सय ३३ किलोमिटर दूरीका ८ वटा सडक मर्मतका लागि ८५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उदयपुरगढीको ९२ किलोमिटर दूरीका ८ वटा सडक भने २० लाख रुपैयाँ खर्च गरे सञ्चालनमा आउने छन् ।सदरमुकाम गाईघाटसँग जोडिने लिम्चुङबुङ र रौतामाई गाउँपालिकाको गाईघाट–मुर्कुची–खमारे–कोल्वोटे–पुवाँरेभन्ज्याङ–माझखर्क–बाराहा ७० किलोमिटर सडक सबैभन्दा जीर्ण बनेको अनुगमन टोलीले जनाएको छ । यो सडक मर्मतका लागि मात्रै ३ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने टोलीको अनुमान छ । ताप्ली गाउँपालिकाको केन्द्र रुपाटार जोड्ने वेतेनी–रुपाटार ५० किलोमिटर सडक मर्मतका लागि २ करोड,  वेतेनी–सोरुङ–रुपाटार ४० किलोमिटरका लागि १ करोड ५० लाख, र नुनथला–ओख्ले ३० किलोमिटर मर्मतका लागि १ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको प्रजिअ खड्काको भनाइ छ । लिम्चुङबुङ गाउँपालिका जोड्ने माझखर्क–जाँते १९ किलोमिटर ३० लाख, बलम्ता–सार्वोटे १७ किलोमिटर ३० लाख र रौतामाईको पुवाँरे–डिल्लिवर–माझखर्क ३० किमि सडक ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ । भुट्टार–लाफागाउँ १६ किमि २० लाख, पुवाँरे–ख्याटुङ्ग–घोत्लिघारी १५ लाख र उदयपुरगढी जोड्ने नेपालटार–स्वर्गे १० किमि ५ लाख र कटारी–जरुवा १५ किमि ३ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । तत्काल उक्त रकम सम्बन्धित गाउँपालिकामा उपलब्ध भए सबै सडक सुचारु गर्न सकिने अवस्था छ । अधिकांश सडक ठाउँ–ठाउँमा पहिरो गएकाले सबैलाई मर्मत गर्नु पर्दा ठूलो रकम लाग्ने प्रजिअ खड्काको भनाइ छ ।गाउँपालिकाका केन्द्रसम्म पुग्ने सडक नभएकाले तत्काल मर्मतसम्भार गरी सुचारु गर्नुपर्ने अवस्था रहेको ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापा बताउँछन् । “बेतेनी–नुनथला–रुपाटार सडक खण्डको मात्रै १ सयभन्दा बढी ठाउँमा पहिरो गएको छ,” थापाले भने, “अधिकांश ठाउँमा तलबाटै जाली उठाएर जग लगाउनु पर्ने भएकाले धेरै रकम खर्च हुने अवस्था छ ।” खर्च व्यवस्थापनभई तत्काल मर्मत गर्न थाल्ने हो भने सबै सडक सुचारु गर्न कम्तीमा २ महिना लाग्ने अनुमान गरिएको छ । गाउँपालिका क्षेत्रभित्र खाद्यान्न संकट पर्दै गएकाले तत्काल सडक मर्मतको विकल्प नरहेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्कको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्