तीन सातादेखि विद्युत् अवरोध «

तीन सातादेखि विद्युत् अवरोध

लमजुङ-मध्यनेपाल नगरपालिका अन्तर्गतका तीन गाउँमा तीनसाता अघिदेखि विद्युत् अवरोध हुँदा जनजीवन प्रभावित भएको छ । मध्यनेपाल–१, जिताअन्तर्गत देउराली, ताप्ले र बेलटारी गाउँमा विद्युत् अवरोध भएको हो ।
विद्युत् वितरणका लागि भुसालथोक भन्ने ठाउँमा राखिएको ट्रान्सफर्मरमा समस्या आएपछि तीनवटै गाउँ विद्युत्विहीन भएका हुन । ट्रान्सफर्मरमा समस्या भएको तीनसाता बितिसक्दा पनि सम्बन्धित निकायले मर्मतमा चासो नदिँदा तीन गाउँका करिब एक सय घर विद्युत्विहीन बनेका हुन् ।
मध्यनेपाल नगरपालिकाको वडा नं. १ देखि ५ सम्म जाल्पादेवी रिस्ती भूपू सैनिक ग्रामीण विद्युतीकरण सेवाले विद्युत् सेवा दिँदै आएको छ । बिग्रिएको ट्रान्सफर्मर मर्मतका लागि समय लाग्ने भएकोले तत्काल विद्युत् सुचारु गर्न नसकिएको विद्युतीकरण सेवाका अध्यक्ष रामनाथ पौडेलले बताए । ट्रान्सफर्मर मर्मतका लागि हेटौंडा पु¥याइएको र अझै केही दिन लाग्नसक्ने पौडेलको भनाइ छ ।
गाउँमा विद्युत् नहुँदा स्थानीय विद्युतीय उपकरण प्रयोग गर्नबाट वञ्चित बनेका छन् । विद्युतीकरण नहुँदा दैनिक जीवनचर्यामा निकै कठिनाइ भएको स्थानीय विष्णुप्रसाद पौडेलले बताए । साँझमा राम्रोसँग पढ्न र गृहकार्य गर्न नपाएपछि पढाई प्रभावित भएको सो गाउँका विद्यार्थीले बताएका छन्् । गाउँमा बिजुली नहुँदा स्थानीय टिभी हेर्न पाएका छैनन् । मोबाइल चार्ज गर्नसमेत अर्को गाउँमा पुग्नुपरेको स्थानीय विजय पौडेलले बताए । गाउँसँगै जोडिएका छिमेकी जिल्ला तनहुँ र लमजुङकै अन्य गाउँमा भने बत्ती अवरोध नभएको स्थानीयले बताएका छन ।
झण्डै एक दशकअघि भारतीय भूपू सैनिक संघको पहलमा भारत सरकारले पश्चिम लमजुङका साविक पाँच गाविसमा विद्युतीकरण गरेको थियो । तत्कालीन समयमा साविक जितादेखि तान्द्राङ टक्सार, सूर्यपाल, रम्घा र समीभञ्ज्याङ गाविसमा भारतीय सरकारले विद्युतीकरणमा सहयोग गरेको हो ।
विद्युतीकरणका क्रममा जिताको भुसालथोकमा ५० केभीएको ट्रान्सफर्मर राखिएको थियो । तर केही वर्षपछि सो ट्रान्सफर्मरमा समस्या आएपछि मर्मतको लागि हेटौंडा लगिएको र पछि त्यसको सट्टामा २५ केभीएको ट्रान्सफर्मर राखिएको छ । उपभोक्ताहरूले भने तत्कालीन अध्यक्षले ट्रान्सफर्मर बेचेर सानो क्षमताको ट्रान्सफर्मर राखेको आरोप लगाउँदै आएका थिए । समितिका अनुसार ५० केभीएको ट्रान्सफर्म बिग्रिएर मर्मत गर्न समय लाग्ने भएपछि उक्त समयमा विद्यार्थीहरूको प्रवेशिका परीक्षा सञ्चालन भइरहेकोले तत्काल समस्या समाधानका लागि २५ केभीएको ट्रान्सफर्मर ल्याइएको थियो । पछि साट्ने गरी सानो क्षमताको ट्रान्सफर्मर ल्याइए पनि मर्मत केन्द्रबाट नै आफ्नो ट्रान्सफर्मर हराएको भन्दै उक्त ट्रान्फर्मरको बारेमा सोधखोज भइरहेको समितिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्