पीडित बनाउनकै लागि अध्यादेश ल्याएको भन्दै विरोध प्रदर्शन «

पीडित बनाउनकै लागि अध्यादेश ल्याएको भन्दै विरोध प्रदर्शन

फाइल तस्बिर ।

सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा परिभाषित गरी कानूनी रुपमा दण्डनीय बनाउन अध्यादेश ल्याएको भन्दै पीडित लेनदेन संघर्ष समिति मधेस प्रदेश आन्दोलित भएको छ ।

आफूहरुलाई थप पीडित बनाउन सरकार उद्धत रहेको भन्दै पीडित लेनदेन संघर्ष समिति मधेस प्रदेश समितिले विरोध जुलुस निकालेको हो । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि मुलुकीसंहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० ल्याएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा गत वैशाख २० गते सो अध्यादेश जारी गरेका थिए । प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिरहाका धनेश्वर यादवले साहु महाजनलाई पीडित बनाउनकै लागि अध्यादेश ल्याएको आरोप लगाए ।

उनले गरिब तथा असहायलाई सहयोग गरेको रुपैयाँ डुबाउनकै लागि यस प्रकारको अध्यादेश ल्याइएको र यसले समाधान दिन नसक्ने बताए । त्यस्तै पीडित लेनदेन संघर्ष समितिका अध्यक्ष विजय यादवले सरकारले चोर बाटोबाट अनुचित लेनदेन भन्दै त्यसको रोकथामका लागि अध्यादेश ल्याएका कारण आफूहरुलाई आन्दोलनमा उत्रिनु परेको बताए । अध्यादेशले देवानी प्रकृतिको मुद्दा रहँदै आएकोमा यसलाई फौजदारी प्रकृतिको मुद्दामा ल्याएकोमा आफूहरुको आपत्ति रहेको उनले बताए ।

उनले भने,‘एकाध बेइमान महाजन होलान तर उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुको साटो सबैलाई यसरी पेल्नु सर्वथा अनुचित हो ।’ कपाली कागज पनि वडा कार्यालयमा दर्ता गराउनु पर्ने प्रावधान गलत रहेको उनको भनाइ थियो । विरोध जुलुसमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही र रौतहटका महाजनहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्