सामान्य अंकले बढ्यो शेयर बजार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६८ अंकले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ विन्दुमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३८ अंकले बढेर तीन सय ६५ दशमलव ४७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।
विभिन्न कम्पनीका ६५ लाख ४१ हजार तीन सय ८८ कित्ता शेयर दुई अर्ब ३६ करोड ८८ लाख १५ हजार छ सय ३५ रुपैयाँमा खरिद बिक्री भएका छन् । यस्तै कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सोल्टी होटलको रु १० करोड १३ लाख १० हजार सात सय ३४ बराबरको कारोबार भयो ।
शिवम् सिमेन्ट आठ करोड ९७ लाख २१ हजार चार सय ९१ रुपैयाँ, नागरिक लगानी कोष छ करोड ९० लाख ३८ हजार रुपैयाँ, नेपाल दूरसञ्चार कम्पनी छ करोड ५२ लाख ९० हजार दुई सय ६३ रुपैयाँ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको पाँच करोड ६७ लाख ७१ हजार एक सय ५५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
युनिक नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त आठ दशमलव शून्य दुई, स्वाभिमान लघुवित्त पाँच दशमलव ९५, साल्ट ट्रेडिङ कर्पोरेशनको पाँच दशमलव ४२ र सगरमाथा जलविद्युत् कम्पनीको शेयर मूल्य पाँच दशमलव १५ प्रतिशतले घटेको छ ।
यस्तै, सिद्धार्थ इक्विटी फण्ड चार दशमलव ३५, सनराइज फोकस्ड इक्विटी फण्ड तीन दशमलव ८२, मनकामना स्मार्ट लघुवित्त तीन दशमलव ६५, एनआइबीएल ग्रोथ फण्ड तीन दशमलव ५३ र आरबीबी म्युचुअल फण्ड पहिलोको शेयर मूल्य तीन दशमलव २५ प्रतिशतले घटेको छ । आजको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब २० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।