९० प्रतिशत घरमा विद्युतीकरण «

९० प्रतिशत घरमा विद्युतीकरण

धादिङमा ९० प्रतिशत घरमा विद्युतीय सेवा पुगेको छ । आव २०७९/८० सम्ममा घरेलु प्रयोजनको लागि ६३ हजार मिटर जडान गरिसकेको नेपाल विद्युत प्राधिकरण धादिङ केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । बाँकी १० प्रतिशत घरपरिवारमा विद्युतीकरणको लागि टेण्डर भइ काम भइरहेको छ ।

आव २०८०/८१ को अन्तसम्ममा सवै घरपरवारमा बिजुली बत्ती पुग्ने केन्द्र प्रमुख न्यौपानेले बताए । जिल्लामा औद्योगिक केन्द्र नभएपनि राजमार्ग क्षेत्रमा क्रसर, वालुवा प्रशोधन केन्द्र सञ्चालनमा छन् । बेनीघाट रोराङ गाँउपालिका वडा न २ ताल्तीमा ह्वासिन सिमेन्ट उद्योग, धुनीवेसी नगरपालिका वडा नं. ९ जुगेडीमा यूनाइटेड सिमेन्ट उद्योग र वडा नं. ७ खानीखोलामा मंगला सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् ।

जिल्लाका ६३ हजार मिटरबाट पाँच मेगावाट विद्युत खपत हुँदै आएको छ । त्यसैगरी यूनाइटेट सिमेन्ट उद्योगको १० मेगावाट खपत गर्ने क्षमता रहेपनि करिब पाँच मेगावाटसम्म खपत गर्दै आएको छ । ह्वासिन सिमेन्टको २० मेगावाट खपत गर्ने क्षमता रहे पनि अहिले सात मेगावाटसम्म खपत गर्दै आएको छ । जिल्लामा नौवटा ग्रामीण सामुदायिक विद्युत संस्थामार्फत पनि विद्युतीकरण भएको छ ।

चारवटा सामुदायिक विद्युतीकरण गर्ने संस्था मैदी, मालिका, भैरवी र रणकालिका नियमित महशुल बुझाउनेमा पर्छन् । बाँकी पाँचवटाले नियमित महशुल बुझाउने गरेका छैनन् । अहिले धादिङवेसी, सल्यानटार, जरेखेत र नौविसेमा विद्युत सव–स्टेशन रहेको छ । प्रशाखा तथा नो लाइट १० वटा रहेको छ । विद्युत महशुल काउण्टर धादिङवेसी, सल्यानटार, गजुरी र धार्केमा छ ।

अहिले नुवाकोटबाट धादिङवेसी र जरेखेत सव–स्टेशनमा ल्याएर विद्युत वितरण गरिदै आएकोमा मस्र्याङदीबाट ल्याएको १३२ केभीबाट सिद्धलेकको करमटारमा ट्रान्समिटर राखेर धादिङवेसी र जरखेत सव–स्टेशनमा जोड्ने काम भैरहेको छ । जिल्लामा एक सय दुई जना कर्मचारीको दरवन्दी भएपनि हाल ४३ जना मात्र कर्मचारी कार्यरत रहेको कारण पनि सेवा प्रवाहमा कठिनाइ आइरहेको छ । एक सय दुई जनाले गर्ने काम ४३ जनाले गर्न कठिन हुने केन्द्र प्रमुख न्यौपाने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्