मधेस प्रदेशको अधिकांश कार्यक्रम पूरानै «

मधेस प्रदेशको अधिकांश कार्यक्रम पूरानै

मधेस प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थि वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम अधिकांश पूरानै योजनलाई निरन्तरता दिइएको छ । नीतिमा केही महत्वकांक्षी कार्यक्रम र नारै नारा राखिएको छ । प्रदेश सरकारकोतर्फ बाट प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार प्रदेशसभामा एउटै क्षेत्रमा पनि धेरै कार्यक्रम र नारा उल्लेख गरे ।

मधेस प्रदेस सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिवृद्धि, गरिबी न्यूनीकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्राथामिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा अत्यधिक नारा र अधिकांश पूरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । आर्थिक नियमितता र भ्रष्टाचारका कारण विगतको सरकारको पालामा विवादित बनेको ‘बेटी बढाऊ, बेटी बचाऊ’ ‘मुख्यमन्त्री स्वच्छता अभियान’ कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

‘मधेस प्रदेशको पर्यटन पूर्वाधार आन्तरिक पर्यटनको आधार’ सार्थक बनाउनका लागि एक जिल्ला ‘एक नविनतम पर्यटकीय गन्तव्य’ कार्यनीति लिएको नीति तथा कार्यक्रममा उल्लेख छ । संघीय सरकारले जस्तै मधेस प्रदेश मन्त्रालय अन्तर्गत रहेका निर्देशनालय, विभाग, वोर्ड, समिति, आयोग र प्राधिकरणलाई गाभी पुनः संरचना वा खारेज गरी चालू खर्च न्यूनिकरण गरी पुँजिगत क्षेत्रमा खर्चलाई बढवा दिने नीति लिएको छ ।

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर उत्पादन र उत्पादकत्व वृद्धिका लागि प्रदेश र स्थानीय तहको सहकार्यमा बाँझो एवं उपगोग विहिन खेतीयोग्य जमिनको प्रयोग कृषि समूह तथा कृषक सहकारीलाई लिजमा जमिन उपलब्ध गराउने व्यवस्था गर्ने र ‘एक टोल एक सामुहिक कृषि उत्पादन’ ‘एक वडा एक विशेष उत्पादन’ र ‘एक पालिका एक उत्पादन क्षेत्र’ कार्यक्रम सञ्चालन गर्ने भनेर नारै नारा उल्लेख गरिएको छ ।

विगतका सरकारले ल्याएको एक जिल्ला एक शीत भण्डार कार्यक्रमकै निरन्तरतामा कृषि उपजहरुको उत्पादन, प्रशोधन र भण्डारणमा सहयोग पुर्‍याउन भन्दै स्क्रिन हाउस, भण्डारण गृह, शीत भण्डार र बीऊ प्रशोधन केन्द्र निर्माण गर्ने जनाइको छ । अनुदानबाट निर्माणाधिन शीत भण्डारका अधुरो योजना यो वर्षमा सम्पन्न गरिने उल्लेख छ । कृषि र सिँचाईमा पनि प्रदेश सरकारले अत्यधिक नारा राखेको छ । कृषिलाई प्रवद्र्धन गर्न भन्दै ‘सिँचाईमा लगानी, किसानके खुशहाली’ ‘मुख्यमन्त्री कृषक उत्थान कार्यक्रम’ लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

चुरे संरक्षण तथा व्यवस्थापन कार्यान्वयनका लागि ‘चुरे संरक्षण तथा व्यावस्थापन ऐन’ निर्माण गर्न पहल गर्ने, प्रदेश भित्र रहेका नदीजन्य पदार्थका क्रसर उद्योगलाई व्यवस्थित गर्न आवश्यक ऐन निर्माण गरी कार्यान्वयन गर्ने भनेको छ । ‘प्रदेश प्रमुख नदिनाला नियन्त्रण’ सञ्चालन गर्ने उल्लेख छ । ‘जहाँ बाटो त्यहाँ रुख, त्यसले ल्याउँछ परम सुख’, ‘मधेस हरित प्रदेश’ ‘एक नागरिक एक विरुवा’ ‘हरित सहर, स्वच्छ शहर’ लगायतका नारा सहितको हरितपार्क कार्यक्रम समावेश गरिएको छ ।

त्यस्तै ‘व्यवस्थित जलाधार, समृद्धिको आधार’ ‘चुरे जोगाउ, मधेस बचाउ’ अभियानलाई पनि निरन्तरता दिइने उल्लेख छ । सामाजिक विकासतर्फ मधेस प्रदेशका ६० वर्ष माथिका नागरिकलाई आँखा, दाँत र कानको निःशुल्क जाँच गरिने व्यवस्था, रक्तचाप, मधुमेह, तथा अन्य नसर्ने रोगको प्राथामिक परीक्षण तथा सचेतना वृद्धिका लागि पालिकाहरुसँगको सहकार्यमा ‘मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवा कार्यक्रम’ संचालन गरिने उल्लेख छ ।

‘वातावरण प्रदूषण न्यूनिकरणका लागि प्रदेशका दलित, तथा अति सीमान्तकृत परिवाकार लागि ‘धुवाँमुक्त भान्सा अभियान’ ‘एक परिवार, एक विद्युतीय चुल्हो’ कार्यक्रम, बालविवाह विरुद्धको १० बर्षे रणनीतिक योजना कार्यान्वयनमा ल्याउन स्थानीय तहसँग समन्वय गर्ने उल्लेख छ । पूर्वाधार क्षेत्रमा ‘जहाँ सडक, त्यहाँ विकास’ ‘एक निर्वाचन क्षेत्र, एक सडक’ ‘प्रादेशिक एवं स्थानीय सडक सुधार कार्यक्रम, पर्सादेखि सप्तरी जिल्लासम्म ‘मधेस शहिद लोकमार्ग’ निर्माण अगाडि बढाउने जस्ता कार्यक्रमलाई पनि समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्