बिक्री हुन छाडे माटोका भाँडा «

बिक्री हुन छाडे माटोका भाँडा

वि.सं २०६२ मा देउखुरी सेरामिक उद्योगको नाममा व्यवसाय दर्ता नै गरेर पुख्र्यौली पेसा सञ्चालन गर्न सुरु गरेका गढवा–६ का लिलाराम कुमालको माटोका भाँडा बनाउने पेसा खुम्चँदै गयो ।

माटोबाट बन्ने जति सबैखाले भाँडा बनाउने उनले अरु बिक्न छाडे पनि बिक्री हुने कप, प्लेटजस्ता माटोका भाँडा बनाउन उद्योग दर्ता गरेरै काम सुरु गरे । त्यो पनि बिक्न छाडेपछि उनले १६ वर्षदेखि माटोका फिल्टर बनाउँदै आएका छन् । त्यसको भविष्य कति भन्नेमै अन्योलता छ ।

“सिक्न त जिल्लामा धेरैले सिकेका थियौं तर फिल्टर बनाउने म मात्रै छु,” उनले भने, “मैले तालिम दिएकाले पनि बनाउँदैनन् ।” एउटा फिल्टरको मूल्य ९५० रुपैयाँ रहेको उनले बताए । वर्षमा १५ सय जति फिल्टर बनाउने उनको भनाइ छ । उनले त्यो मूल्यमा बेच्दा बल्लतल्ल एक सय रुपैयाँमात्रै नाफा हुने गरेको बताउँछन् ।

“माटो नै पाउँदैन । जबर्जस्ती चोरेर ल्याउने हो । न किन्न पाइन्छ न दिन्छन्,” उनले भने, “हाम्रो नजिकको सर्वोदय र भवानी सामुदायिक वनमा लेसिलो माटो छ त्यो पाउन हामीलाई समस्या भएको छ, स्थानीय तहले वन समितिको अधिकारको विषय भन्छन् समितिले दिँदैनन ।” पुख्र्याैली पेशालाई व्यावसायिक बनाउन खोजे पनि व्यवसायले गति नलिँदा यसप्रति छोराछोरीको आकर्षण भएन ।

उनको पनि यो व्यवसाय कसले चलाउने उत्तराधिकारी छैन । माटो नपाइने समस्या, फर्निचरबाट किलोको भाउमा किनेका दाउराको प्रयोगले नाफा घट्दै जानु र प्लास्टिकले माटोका भाँडा विस्थापित हुँदा उद्योग नै राम्रोसँग चल्न सकेको छैन ।
कुमाल टोलका छोटु कुमाल ६२ वर्ष पुगे । आफूले थाहा पाउने भएदेखि माटोका भाँडा बनाउने बुबा, बाजेसँग खेल्दै पेसा सिकेका उनले आफ्ना सन्तानलाई यो पेसामा थमाई राख्न सकेनन् ।

११ जनाको परिवार रहेको घरमा उनीमात्रै एक्लै माटोका भाँडा बनाउने गर्दछन् । कान्छो छोरो चालकको रूपमा कार्यरत छन् भने जेठो छोरा रोजगारीका लागि भारत गएका छन् । उनले गमला, घैंटा, रक्सी पार्ने घ्याम्पा, खुत्रुके, पालाजस्ता माटोका भाँडा बनाउँदै आएका छन् । दाउरा र माटोको समस्यासँग जुध्दै उनले एक्लै बुढेसकालमा भाँडा बनाइरहेका छन् । उनले बनाएका भाँडा गाडी लिएर आएका व्यापारीले तुलसीपुर, सल्यान, नेपालगन्जजस्ता बजारमा पु¥याउने गरेका छन् ।

त्यतिमात्रै होइन उनले भाँडा बोकेर गाउँ–गाउँ जाने र अन्नबालीसँग साट्ने परम्परागत काम पनि गरिरहेका छन् । “गल्लासँग साट्न पनि हामी टाढा टाढा जान्छौं । त्यसैबाट उठेको गल्लाले जीवन धानिएको छ,” उनले भने, “पश्चिम भैसहवा, सालभौरी, गंगदी, राजपुरसम्म आफै बोकेर भाडा लैजान्छु अनि गहुँ, मकै, चामलसँग साट्छौं ।” उनीसँग एक कटामात्र जग्गा छ ।

त्यति जमिनले वर्षभरि खान पुग्दैन । बाली उठाउने काम गर्दा गुजारा धानिएको छ । हातैले पिटेर उनले दिनमा १५ वटासम्म घैंटा बनाउने गरेका छन् । त्यही कुमाल गाउँमा चौकु कुमाल र सुशीला कुमालको परिवार पनि छ । माटोका भाँडा बनाउने काम गरिरहेका छन् । उनीहरुको त्यो ठाउँ नै छाडेर भारत जाने सोचाइमा रहेका छन् ।

“हामी पनि इन्डिया जाउँ यहाँ भाँडा बिक्न छाड्यो भनेर श्रीमान् श्रीमतीबीच सल्लाह भइरहेको छ । यहाँ बसेर के गर्ने भन्ने भइसकेको छ,” सुशीलाले भनिन्, “बच्चा पढाउने र बिहे गर्दिन पनि नसकिने भएपछि यो पेशा कसरी गर्नु र ?  अब काम खोज्दै इन्डिया जाने सोचाइमा हुनुहुन्छ ।” १८ वर्ष काठमाडौंको सेरामिक उद्योगमा काम गरेको अनुभव लिएर गाउँ आए पनि पेशा कै कारण विस्थापित हुने अवस्था सिर्जना भएको छ ।

‘पहिले एक सय भन्दा बढी घर थिए सबैका घरमा माटोका भाँडा बन्थे अहिले पाँच घर मात्रै छन् भाँडा बनाउने’– कुमालले भने । ‘दाउरा र माटोको समस्या भएपछि आधाले त माटोका भाँडा बनाउनै छाडे । कोही इन्डिया गए, कसैले मजदुरीको काम गर्छन् ।’ लाखबत्ती बाल्ने पाला पनि उनीहरूले बनाउने गरेका छन् ।

साना पाला दसैंको समयमा र तिहारमा धेरै बिक्री हुन्थ्यो । भ्याइनभ्याई हुन्थ्यो । अहिले विद्युतीय बत्ती आएपछि पाला पनि बिक्न छाडेको उनले बताए । “पहिले सबै बनाएका सामान घरैबाट बिक्थे । अहिले त दसैंमा पाला बेच्न बजार जाँदा पनि किन्दैनन्,” उनले भने, “रक्सी पार्ने डोढिया, घ्याम्पा पनि पनि धेरै जान्थे ।

प्लास्टिकका भाँडाले ती पनि अहिले फाट्टफुट्ट मात्रै बिक्छन् । न दाउरा पाइन्छ न त माटो पाइन्छ, समस्यै समस्यामा गढवाका कुमाल रहेका छन् । उनी भन्छन्, “अहिले बूढाबूढीले २० किलोमिटर टाढाबाट साइकलमा माटो ओसार्छौं । बोरामा दाउरा भरेर चोरी ल्याउने हो । फर्निचरमा किलोको भाउमा किन्दा घाटा हुन्छ ।”

कुनै समय थियो माटोका भाँडाबाट हुने आम्दानी राम्रो थियो । मुख्य आम्दानीको स्रोत रहेको गढवाका कुमाल समुदायले घोराही, लमही, तुलसीपुर, भालुबाङ हुँदै सल्यान, प्युठान, नेपालगन्ज, कैलाली र कञ्चनपुरसम्म माटोका भाँडा बिक्री गर्थे । बजारमा प्लास्टिकका भाँडा बढ्न थालेपछि तयारी माटोका भाँडा कुमाल समुदायका सबैको घरको पिँढीमा थन्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्