निर्यातलाई दिगो बनाऊ «

निर्यात व्यापार बढाउन नसक्नुमा सरकारसँगै उद्योगी–व्यापारी पनि कम दोषी छैनन् । निजी क्षेत्र उद्योग खोलेर उत्पादन गर्नुभन्दा व्यापारमा केन्द्रित छ ।

निर्यातलाई दिगो बनाऊ

मुलुकको निर्यात व्यापारले गत वर्ष पहिलो पटक २ खर्ब रुपैयाँको आँकडा पार गरेपछि सरकार र निजी क्षेत्र सबैमा एक किसिमले हौसला थपेको थियो । आयातको तुलनामा निर्यात व्यापारको अंश निकै सानो भएकाले मुलुकको व्यापारघाटा धेरै उच्च छ ।

यस्तो पृष्ठभूमिमा निर्यात व्यापारमा उच्च सुधार हुँदा सबैमा हौसला देखिनु स्वाभाविकै हो । मुलुकको निर्यात व्यापारमा गत आर्थिक वर्षमा देखिएको यो हौसला दिगो भने हुन सकेको छैन । चालू आवमा निर्यात व्यापार सामान्य रूपमा भए पनि बढ्नुपर्नेमा उल्टै कमी आएको छ । गत आवमा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले बढेर २ खर्ब ३ करोड पुगेको थियो ।

अहिलेसम्मको तथ्यांक हेर्दा यो वर्ष २ खर्ब रुपैयाँको आँकडा छुने सम्भावना निकै कम छ । यो वर्षको दस महिनासम्म कुल निर्यातमा २४.५ प्रतिशतले ह्रास आएको छ । वैशाखसम्ममा १ खर्ब ३० अर्ब ९० करोडको निर्यात पुगेको छ । गत वर्षको जस्तै २ खर्बको निर्यात व्यापार पुग्न जेठ र असारमा ६९ अर्बका सामान निकासी गर्नुपर्ने अवस्था छ । एक महिनामा ३५ अर्बका सामान विदेश निर्यात गर्नु भनेको अहिलेको अवस्थामा असम्भव हो ।

विगतका वर्षहरूको तुलनामा गत वर्ष वैदेशिक व्यापार नै धेरै भएको थियो । त्यसैले निकासी व्यापारले पनि २ खर्ब छोएको देखिन्छ । यो वर्ष कुल वैदेशिक व्यापार घटेको छ । आयात पनि धेरै खुम्चिएको छ । त्यसकारण निर्यात पनि घटेको हो । यस अर्थमा गत वर्ष सरकार र निजी क्षेत्रमा देखिएको हौसला न त दिगो हुने किसिमको थियो, न दुवै निकायकोे सुधार नै भएको थियो । गत वर्ष उच्च आयात भए पनि त्यसको दर निर्यातको भन्दा कम थियो ।

यो वर्ष आयातमा १६.८ प्रतिशतले कमी आउँदा निकासी व्यापार २४.५ प्रतिशतले घटेको छ । प्रतिशतका आधारमा निकासी व्यापार अन्य सूचकांकभन्दा कमजोर देखिनु चिन्ताजनक हो । गत वर्षको १० महिनामा निकासी पैठारी व्यापारको अनुपात १ः९.३ रहेकामा यो वर्ष यस्तो अनुपात १ः१०.२ पुगेको छ । यसले कुल वैदेशिक व्यापार र आयातभन्दा निकासीको घट्दो दर उच्च भएको देखाएको छ । यो मुलुकका लागि चुनौती हो ।

अर्कातिर नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यात ३३.६ प्रतिशतले घटेको छ । यसको प्रमुख कारण पाम आयल तथा अन्य तेल व्यापार हो । यो वर्ष भारततर्फ हुने पाम, भटमास तथा सूर्यमुखी तेलमा ६० अर्ब ३३ करोडबराबरको ह्रास आएको छ । भारतले नेपालबाट पाम आयल तथा अन्य तेल आयात नगरेर आफ्नै देशमै रिफाइनिङ गर्दै आएपछि यो अवस्था आएको हो ।

मुलुकको निकासी व्यापारमा कमी आउनुमा आन्तरिक र बाह्य दुवै कारण छन् । यो वर्ष विश्वभर आर्थिक मन्दी आएको छ । धेरै मुलुकबीचको व्यापारमा गिरावट आएको देखिन्छ । यस्तोमा नेपालको बाह्य व्यापारमा पनि असर नपर्ने विषय रहेन । अर्को रुस–युक्रेनबीचको युद्धका कारण पनि व्यापारचक्र प्रभावित बनेको छ । यी दुई मुलुकमा हुने निर्यात–आयात व्यापारमा समस्या आएको छ । नेपालको निर्यात व्यापार खुम्चिनुमा बाह्यभन्दा आन्तरिक कारण बढी छन् ।

आन्तरिक रूपमा हेर्दा नेपालको निर्यात व्यापार बढाउन नसक्नुमा सरकार र निजी क्षेत्र दुवैको कमजोरी छ । सरकारले निर्यात बढाउने किसिमका नीति नियम बनाउनै सकेको छैन । निर्यात व्यापारलाई सहजीकरण गर्ने, सेवासुविधा थप गर्ने, निर्यातमा नगद अनुदान दिने जस्ता केही कार्यक्रम ल्याइएको छ । निर्यातयोग्य वस्तुको सूची पनि तयार हुँदै आएको छ । तर, ती नीति र कार्यक्रम सही रूपमा कार्यान्वयनमा जान सकेका छैनन् ।

निजी क्षेत्रले समय–समयमा कार्यक्रम लागू गर्न दबाब दिने गरे पनि त्यो सरकारी अधिकारीका कानसम्म पुग्ने गरेको पाइँदैन । निर्यात व्यापार बढाउन नसक्नुमा सरकारसँगै उद्योगी–व्यापारी पनि कम दोषी छैनन् । निजी क्षेत्र उद्योग खोलेर उत्पादन गर्नुभन्दा व्यापारमा केन्द्रित छ । स्वदेशमै उत्पादन नबढाएसम्म निर्यात बढ्दैन । तर, व्यवसायीहरूले उत्पादन गर्ने जोखिम मोल्न चाहेको देखिँदैन ।

व्यापारमा नै पर्याप्त नाफा हुने अवस्था आएपछि उद्योग खोल्ने जोखिम कसैले लिँदैन । हाम्रो मुलुकको सन्दर्भमा यही भइरहेको छ । यो प्रवृत्तिलाई तोड्ने गरी सरकारी नीति तथा कार्यक्रम आए मात्र निर्यात व्यापार बढ्न सक्छ । नत्र कुनै वर्ष बढे पनि त्यो दिगो बन्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस्