अतिक्रमणले साँघुरिँदै कर्णाली राजमार्ग

दुई दशक पहिलासम्म एक बोरा चालम र नुन तेल ल्याउन महिना दिन हिँडेर नेपालगन्ज, सुर्खेत र दैलेख जानुपर्ने बाध्यता थियो । कर्णालीमा सडक पुग्ला गाडी गुड्ला भन्ने कल्पना पनि थिएन ।
विश्व बैंकको सहयोग र नेपाली सेनाको अथक प्रयासले सुर्खेत–जुम्ला २३२ किमि दूरीको कर्णाली राजमार्ग २०६२ सालमा सञ्चालन भयो । कर्णाली राजमार्ग सञ्चालनले चामल, नुनतेल ल्याउन महिना दिन हिँड्नुपर्ने बाध्यताको अन्त्य मात्र भएन । गाउँगाउँमा भौतिक विकासले फड्को मा¥यो, युवाले रोजगारी पाए, स्थानीय उत्पादनले बजार पायो, दुरदराजमा चेतनाको विस्तार भयो भने आम कर्णालीबासीको जीवनशैली र दिनचर्यासमेत फेरियो ।
तर संघीयताअघि र पछि पनि संघीय सरकारले स्तरवृद्धिका लागि नीति र बजेट लगानीमा प्राथमिकता नदिँदा कर्णाली राजमार्ग मृत्युमार्गका रूपमा कहलियो । कर्णाली राजमार्गले दुरदराजमा भित्र्याएको विकास र नागरिकमा ल्याएको चेतना विस्तारको उपलब्धिलाई नकार्न सकिन्न । बितेको डेढ दशक समयलाई नियाल्दा विगतमा स्तरवृद्धि नहुँदा र अहिले सडक अतिक्रमणले कर्णाली राजमार्गमा वर्षेनी सवारी दुर्घटना बढेको देखिन्छ ।
एक लेनको साँघुरो सडक, साना मोड, पुराना थोत्रा सवारी त्यसैमाथि सडक अतिक्रमणका कारण कर्णाली राजमार्गमा सवारी दुर्घटना बढ्दै गएको छ । कर्णालीमा सडक पुग्ने कल्पना नै नगरेका तातोपानी–१ का दत्ते दमाई सडक पुगिसकेपछि जति खुसी भएका थिए । त्यति नै दुःखि अहिले सडक अतिक्रमण बढ्दा छन् ।
रोकिएन राजमार्ग अतिक्रमण
सडक डिभिजन जुम्लाले कर्णाली राजमार्गको आफ्नो कार्यक्षेत्रअन्तर्गत दैखोला–जुम्ला खण्डमा बढ्दो सडक अतिक्रमण हटाउने अभियान चलायो । पहिलो चरणमा जुम्लाको बसपार्क क्षेत्रमा ०७८ मंसिर ६ देखि एकहप्ते अतिक्रमण हटाउन सूचना प्रकाशन र दोस्रो चरणमा ०७८ पुस २० गते सूचनाको अटेरी गरेपछि बल प्रयोग गरेर अतिक्रमण हटाउने अभियान थालिएको थियो ।
नापी कार्यालयबाट नापजाँच तथा सीमांकन गरे पश्चात अतिक्रमण गरी निर्माण भएका घर, टहरा, पर्खाल भत्काइयो भने सडकमा राखेका निर्माण सामग्री हटाइएको थियो । जसअन्तर्गत ०७८ पुस २१ गते सडक अतिक्रमण गरी निर्माण भएका पर्खाल तीनवटा घरका पेटी ११, घरजान बनाएको स्ल्याब, अस्थायी टहरा पाँचवटा संरचनामा डोजर चलाइएको थियो भने आठवटा घरका संरचना र सातवटा सेफ्टी ट्यांकी १५ दिनभित्र हटाउन पत्राचार गरिएको थियो । तर अहिलेसम्म हटाइएको छैन भने अझै अतिक्रमण बढ्दै गएको छ ।
साथै तेस्रो चरणमा राजमार्ग अतिक्रमण गरी निर्माण भएका तातोपानी–२ जर्मी गाउँका २४ वटा स्वयम् स्थानीयले नै हटाएका थिए । अतिक्रमण हटाइएका क्षेत्रमा सडक डिभिजनले नाला तथा फुटपाथ निर्माण गर्न, तातोपानीमा ग्याविन पर्खाल निर्माणका लागि ठेक्का गरेर कामसमेत अघि बढाएको थियो । तर सडक सार्वजनिक सम्पत्ति हो, अतिक्रमण गर्दा दुर्घटना बढ्छ, सबैले सडक सुरक्षा गर्नुपर्छ बुझेकै स्थानीयले व्यक्तिगत प्रयोजनका लागि कर्णाली राजमार्गको दैखोला–जुम्ला खण्डको १०४ किमि सडकको विभिन्न भागमा पुनः अतिक्रमण भएको पाइएको छ ।
जसमा नाग्म–जुम्ला खण्डको रारालिही, त्रिवेणी, कुडारी, राँका, लिताकोट, तातोपानी, एैरेनी, उम्गाड र जुम्ला बसपार्क क्षेत्रमा फेरि सडक अतिक्रमण मनपरि संरचना निर्माण गर्ने क्रम बढेको छ । जुम्ला बजार क्षेत्रको मात्रै करिब दुई किमि सडक अतिक्रमण भएको देखिन्छ ।
राजमार्गको केन्द्र रेखादेखि दाँया साढे ७ र बाँया साढे ७ मिटर क्षेत्रको लगतसमेत कट्टा भएर मुआब्जा पाइसकेको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले बताए । उनले भने, “कर्णाली राजमार्गको जुम्ला–सुर्खेत खण्डको २३२ किमिको लालपुर्जा सडक विभागसँंग छ । नागरिकले बुझेर पनि बुझपचाएकै कारण सडक अतिक्रमण बढेको छ । यसमा स्थानीय सरकारको बेवास्ता देखिन्छ ।”
दैखोला–जुम्ला खण्डको १०४ किमि सडकअन्तर्गत कालिकोटमा पर्ने शुभकालिका गाउँपालिका, खाँडाचक्र र तिलागुफा नगरपालिका तथा जुम्लाका तिला, तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाले सडक अतिक्रमण रोक्न गरिएको मागलाई बेवास्ता गर्दै आएको छ ।
अधिकांश क्षेत्रको सडक साँघुरिएर बाटो जस्तो हुन थालेको छ । नालीको नाम निसाना छैन । अव्यस्थित संरचना बनाएर दुर्घटनाको जोखिम बढेको छ ।
९ वर्षमा १८ सय दुर्घटना, ९९१ को मृत्यु
कर्णाली राजमार्गमा विभिन्न कारणले वर्षेनी सवारी दुर्घटना बढ्दै गएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतको प्रतिवेदनअनुसार बितेको नौ वर्षमा मात्रै कर्णालीमा एक हजार आठ सय बढी सवारी दुर्घटना भएका छन् । १८ सय बढी दुर्घटना हुँदा ९९१ जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी एक हजार ५२७ जना गम्भीर घाईते भएका छन् ।
साँघुरा मोड एक लेनको सडक,थोत्रा पुराना सवारी र त्यसैमाथि बढ्दो सडक अतिक्रमणका कारण कर्णाली राजमार्गमा अत्यधिक सवारी दुर्घटना हुने गरेको छ । पछिल्लो तीन आर्थिक वर्षमा सवारी दुर्घटनाबाट १२ सय जना घाइते भएका छन् । कोरोनाकालका बेला भने सवारी दुर्घटना घटेको पाइएको थियो । तथ्यांकअनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन् ।
तीव्र गति, पुराना सवारी र साँघुरो तथा सडक अतिक्रमण दुर्घटनाको मुख्यकारण मानिएको छ । कर्णाली राजमार्गमामा बढ्दो अतिक्रमण रोक्न स्थानीय सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने, सडक डिभिजनले सचेतनाका कार्यक्रम गर्नुपर्नेमा नागरिक अगुवा राजबहादुर महतले जोड दिए । उनका अनुसार अटेरी गर्नेलाई नियमानुसार सिधै कारबाही गर्नुपर्ने उनको भनाइ छ ।