महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम बैंकलाई «

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम बैंकलाई

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ । फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो । फाइनल खेलको म्यान अफ द म्याच उपाधि प्राइम बैंकका क्रितार्थ शाक्यले हात पारेका छन् ।

यसअघि प्राइम कमर्सियल र एनआइसी एसिया तथा महालक्ष्मी विकास र माछापुच्छ्रे बैंकबीच सेमिफाइनल खेल भएको थियो । पहिलो सेमिफाइनलमा प्राइम बैंकले एनआइसी एसिया बैंकलाई ३१ रनले हराएको थियो । सो खेलमा प्राइम बैंकका प्रवेश श्रेष्ठ म्यान अफ म्याच चुनिएका थिए । दोस्रो सेमिफाइनल खेलमा माछापुच्छ्रेले ५ विकेटको जित निकालेको थिए ।

सो खेलमा माछापुच्छ्रेका निशेष केसी म्यान अफ द म्याच घोषित भए । फाइनल खेलमा माछापुच्छ्रे बैंकले टस जितेर ब्यटिङको निम्तो दिएको प्राइम बैंकले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा ८७ रन बनाएको थियो । प्राइमका कितार्थ शाक्यले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ माछापुच्छ्रेका विश्वास ढकालले १४ रन खर्चिंदै २ विकेट लिएका थिए । जवाफी ब्याटिङमा आएको माछापुच्छ्रे बैंकले जम्मा ४७ रन बनायो ।

माछापुच्छ्रेका लागि रोशन पाठकले ११ रन बनाएका थिए । बलिङतर्फ प्राइमका सुनिल खड्का र कमलेन्द्र श्रेष्ठले समान २÷२ विकेट लिए । यो प्रतियोगितामा कामना सेवा विकास बैंकका समिर थापा उत्कृष्ट ब्याट्सम्यान र कामना सेवा विकास बैंककै छेतेनदोर्जे शेर्पा उत्कृष्ट बलर घोषित थिए । त्यसैगरी, उत्कृष्ट फिल्डरको उपाधि एनआइसी एसिया बैंकका सञ्जय गिरीले हात पारे । उत्कृष्ट विकेट किपरको उपाधि एनआइसी एसिया बैंककै रितेश अधिकारीले पाए ।

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगकै सर्वोकृष्ट खेलाडीमा प्राइम बैंकका क्रितार्थ शाक्य चुनिए । १६ टिम सहभागी प्रतियोगितामा सनराइज, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे, प्राइम कमर्सियल, लुम्बिनी विकास, कामना सेवा र महालक्ष्मी विकास बैंक क्वार्टरफाइनल राउण्डमा पुगेका थए । क्वार्टरफाइनल सनराइज र एनआइएसी एसिया, राष्ट्रिय वाणिज्य र माछापुच्छ्रे, प्राइम र लुम्बिनी विकास तथा कामना सेवा र महालक्ष्मी विकास बैंकबीच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्