पर्यटक संख्या बढ्दै, खर्च र बसाइ दर घट्दै

कोभिड महामारीपछि अहिले केही महिना पर्यटक आगमनमा वृद्धि भएको छ । तर उनीहरुले गर्ने खर्च र बसाइ अवधि बढ्नुको साटो घटेको छ ।
सरकारी तथ्यांकअनुुसार सन् २०२२ मा पर्यटकको औसत बसाइ अवधिमा केही कमी आएको छ । यस अवधिमा पर्यटकको औसत बसाइ १३.१ दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर छ । सन् २०२१ मा यो क्रमशः १५.५ दिन र खर्च ४८ डलर थियो । त्यसअघि २०२० मा एक पर्यटकले नेपालमा दैनिक ६५ डलर खर्च गर्थे भने औसत बसाइ अवधि १५.१ दिन थियो ।
२०२१ मा कोभिड महामारीका कारण पर्यटक आगमन अत्यन्तै न्यून भए पनि उनीहरुले गर्ने खर्च र बसाइ अवधि बढेको थियो । तर, २०२२ मा दुवै घट्यो । कोभिडको समयमा क्वारेन्टाइन बस्नुपर्ने बाध्यताका कारण खर्च र बसाइ अवधि बढेको हो । तथ्यांकअनुसार २०२२ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट ४६ अर्ब ७६ करोड रुपैयाँ विदेशी मुद्रा आर्जन भएको छ । २०२१ मा यो रकम १३ अर्ब ५० करोड ११ लाख थियो । कोभिडका कारण २०२० र २०२१ मा पर्यटक आगमन संख्या क्रमशः २ लाख ३० हजार र १ लाख ५१ हजारमा झरेको थियो । कोभिड घटे पछि २०२२ मा आगमनमा उल्लेख्य वृद्धि भई ६ लाख १४ हजार ८ सय ६९ पुगेको थियो ।
पर्यटन मन्त्रालयले प्रकाशित गरेको ‘नेपाल टुरिजम स्टाटिस्टिक्स २०१८’ अनुसार सन् २०१७ मा एक पर्यटकले ५४ अमेरिकी डलर खर्च गर्ने गरेकोमा २०१८ मा ४४ डलरमा झरेको थियो । सोही वर्ष पर्यटक हालसम्मकै धेरै करिब १२ लाख आएका थिए । भूकम्प र नाकाबन्दीका वर्षमा पर्यटक आउने क्रम घटे पनि विगत १० वर्षमा पर्यटक आगमनमा वृद्धि भएको तथ्यांकले देखाएको छ । पर्यटकमार्फत हुने दैनिक खर्च नबढ्नुको कारण उनीहरुका लागि उपयुक्त गन्तव्यको विकास गर्न नसक्नु रहेको सरोकारवालाहरु बताउँछन् ।
सन् २०१६ मा नेपाल आएका विदेशी पर्यटक औसत १३ दिन बस्ने गरेका थिए भने दैनिक खर्च ५३ अमेरिकी डलर थियो । २०१७ मा बसाइ अवधि घटेर १२.६ दिन भयो भने दैनिक खर्च ५४ डलर पुग्यो । त्यसअघि २००७ मा १२ दिन बस्ने पर्यटकले गर्ने दैनिक खर्च ४५ डलर थियो भने बसाइ अवधि १२.४ दिन ।
पर्यटकको संख्या वृद्धिसँगै पर्यटन क्षेत्रबाट आम्दानी भने बढेर गएको छ । सन् २०१७ मा ६५ करोड ८० लाख, २०१८ मा ७० करोड ३१ लाख, २०१९ मा ७२ करोड ४३ लाख थियो । २०२० मा कोभिड महामारीका कारण २१ करोड ७० लाख डलरमा सीमित रहेको छ । पर्यटन मन्त्रालयले यस क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रामा ७१ प्रतिशतले कमी आएको जनाएको छ ।
सरकारले जारी गरेको क्वारेन्टाइन नीतिका कारण २०२० मा पर्यटकको खर्च र बसाइ अवधि बढेको भए पनि पछिल्लो समय यसमा कमी आएको नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् । उनले भने, “२०२० र २०२१ मा कोभिड महामारीको समय भएकाले होटल क्वारेन्टाइन दुई हप्तासम्म बस्नुपर्ने अवस्था थियो । यसले गर्दा खर्च र समय बढेको हो ।” विगतमा पनि पर्यटक संख्या वृद्धि हुँदा दैनिक खर्च कम हुने र आगमन संख्या कम हुदाँ खर्च बढ्ने गरेको उनको अनुभव छ । “पर्यटकको संख्या र खर्च दुवै बढाउन चुनौतीपूर्ण नै छ,” उनले भने ।
कोभिडपछि पनि पर्यटनका गतिविधि बढ्न नसक्नु र यो उद्योगमा बढेको प्रतिस्पर्धाका कारण पर्यटकको खर्च र बसाइ अवधि घटेको पर्यटन व्यवसायी योगेन्द्र शाक्य बताउँछन् । उनले भने, “पर्यटक आगमनमा वृद्धि हुने तर उनीहरुबाट प्राप्त हुने आम्दानी बढ्न नसक्नु भनेको खर्चालु पर्यटकलाई स्वागत गर्ने वातावरण विकास गर्न नसक्नु हो ।”
तथ्यांकअनुसार नेपाल आउने पर्यटक सन् २००७ को तुलनामा २००८ मा ५ प्रतिशतले घटेको थियो । २००९ देखि लगातार पर्यटक बढेको भए पनि उनीहरुले गर्ने खर्च भने ओरालो लागेको छ । २००८ मा प्रतिपर्यटक ७३ अमेरिकी डलर दैनिक आम्दानी भएको थियो । यसपछिका वर्षहरूमा यस्तो आम्दानी घट्दै गएर २०१२ मा ३५.६ डलरमा सीमित भएको छ ।
२००९ देखि २०१२ सम्म नेपाल आउने पर्यटक क्रमशः २, १८, २२ र ९ प्रतिशतले बढेका छन् । सो अवधिमा प्रतिपर्यटक दैनिक आम्दानी भने ७३ डलरबाट ६५, ४३, ३८ हुँदै सन् २०१२ मा ३५ डलरमा सीमित भएको छ । २०१३ देखि २०१५ सम्म भूकम्प र नाकाबन्दीको प्रभाव परेको देखिन्छ । त्यो समयमा पर्यटक आगमन निराशाजनक रुपले घटेको थियो तर पर्यटकले गर्ने दैनिक खर्च भने सन्तोषजनक रुपमै बढेको थियो ।