प्रदुषण हटाउन प्लाष्टिकजन्य वस्तुको विकल्प खोज्न जोड «

प्रदुषण हटाउन प्लाष्टिकजन्य वस्तुको विकल्प खोज्न जोड

वातावरणीय प्रदुषण हटाउनका लागि प्लाष्टिकजन्य वस्तुको विकल्पको खोजी गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपालले मनाएको वातावरण दिवसको समारोहमा बोल्दै सरोकारवालाहरुले प्लाष्टिकजन्य वस्तुको विकल्प खोजीनुपर्ने बताएका छन् ।

वन तथा वातावरण मन्त्री डा. विरेन्द्र यादवले प्लाष्टिकजन्य वस्तुको विकल्पको खोजी गरिनुपर्नेमा जोड दिएका छन् । “वातावरणीय प्रदुषण गराउने मुख्य तत्व भनेकै प्लाष्टिकजन्य वस्तुहरु हुन्, यी वस्तुहरु लामो समयसम्म नसड्ने र नगल्ने हुँदा समस्या आउँछ,” उनले भने, “प्लाष्टिकजन्य वस्तु नियन्त्रण नगरे प्रदुषण बढ्दै जाने छ र मानविय स्वास्थ्यमा असर पुग्ने छ ।”

उनले अन्तरसरकारी निकयाबीच समन्वयको अभावका कारण पनि नियन्त्रणमा थप समस्या उत्पन्न भएको बताए । “वन तथा वातावरण मन्त्रालय वातावरणीय संरक्षणका कुरा गर्छ, प्रदुषण नियन्त्रण गर्नुपर्ने कुरा गर्छ, तर उद्योग मन्त्रालय प्लाष्टिजन्य वस्तु उत्पादन गर्ने उद्योग धमाधम दर्ता गरिदिन्छ अनि कसरी हुन्छ ? नियन्त्रण ?” उनले भने, “वातावरण संरक्षणका लागि कुनै कसरत बाँकी राख्दिन , ल फाइल ल्याउनुस् यहाँ प्रधानमन्त्रीले भने पनि मेरै पाटीृ अध्यक्षले रोक्न खोजे पनि म त्यस्ता नीति अगाडि बढाइदिन्छु ।”

उनले सवारी साधनमा युरो थ्रीभन्दा माथि उठ्न नसकेको भन्दै अब प्रदुषण नियन्त्रण गर्न पनि युरोको मापदण्ड बढाउनुपर्ने बताए । पूर्व वातावरणमन्त्री गणेश साहले वातावरणीय समसया विश्वको समसया बन्दै गएको भन्दै वातावरण जोगाउन सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिए । प्लाष्टिकजन्य वस्तुलाई विज्ञानको प्रयोगबाट रिसाइकल गर्नुपर्ने उनको सुझाव छ ।

मन्त्रालयका सचिव डा. रेवतीरवण पौडेलले प्रदुषित हावावाका कारण मानविय स्वास्थ्यमा असर परिरहेको भन्दै उपत्यकामा वायु प्रदुषण नियन्त्रणको एक्सन प्लान बनाउने तयरी भएको जानकारी गराए । “वायु प्रदुषण नियन्त्रणका लागि सबै क्षेत्रबाट पहल हुनु जरुरी छ” उनले भने ।

प्रतिक्रिया दिनुहोस्