भौतिक पूर्वाधार निर्माणमा त्रुटि «

भौतिक पूर्वाधार निर्माणमा त्रुटि

झापाको मेचीनगर नगरपालिकामा भौतिक पूर्वाधार निर्माणमा गम्भीर लापरबाही भएको पाइएको छ । मेचीनगर नगरपालिकाभित्र भौतिक पूर्वाधार ड्रेन, प्लमवाल, कल्वर्ड, सडकको स्तरोन्नति, कालोपत्रे निर्माणको क्रममा ठेकेदारको लापरबाही भएको पाइएको हो ।

वडा, नगर र प्रदेशबाट विनियोजन भएको बजेटबाट भौतिक पूर्वाधार निर्माण तथा स्थलगत निरीक्षण सर्भे गर्दा नै त्रुटिपूर्ण सर्भे गरेको पाइएको छ । नेपाल सरकारबाट विनियोजित बजेटअन्तर्गत मेचीनगर–१४ स्थित पुष्पलाल मार्गमा निर्माणाधीन प्लमवालसहितको कालोपत्रे बाटोमा ठेकेदारको लापरबाही भएको पाइएको माओवादी केन्द्र मेचीनगर–१४ का इन्चार्ज अपूर्व डाँगीले बताए ।

मेचीनगर–१४ स्थित पुष्पलाल मार्गमा निर्माणाधीन प्लमवालसहितको कालोपत्रे बाटोको स्तरोन्नतिअन्तर्गत कालोपत्रे गर्दा बाटोको सतह नमिलेको, बाटोको बीचमा विगतदेखि भएको ह्युमपाइपलाई ब्यवस्थापन नगरी कालोपत्रे गर्न खोजेको, निर्माणको सम्झौता गरेको ठेकेदार कम्पनीले सूचना बोर्ड नराखेको लगायतका त्रुटि पाइएको उनले बताए ।

माओवादी केन्द्र मेचीनगर–१४ को टोलीले मेचीनगर–१४ स्थित पुष्पलाल मार्गमा निर्माणाधीन प्लमवालसहितको कालोपत्रे बाटोको अनुगमन गर्दा अनुगमनका क्रममा कालोपत्रे गर्दा बाटोको सतह नमिलेको, बाटोको बीचमा विगतदेखि भएको ह्युमपाइपलाई ब्यवस्थापन नगरी कालोपत्रे गर्न खोजेको, निर्माणको सम्झौता गरेको ठेकेदार कम्पनीले सूचना बोर्ड नराखेको पाइएकाले वडा र नगरमा जानकारी गराएको बताउँदै उनले त्यस्ता कार्य तत्काल सुधार नगरे काम रोक्ने चेतावनी दिएको जनाए ।

२०७९ फागुन महिनामा ठेकेदार कम्पनी टिमाई भ्यालीले मेचीनगर–१४ स्थित पुष्पलाल मार्गमा प्लमवालसहितको कालोपत्रे बाटोको निर्माण सम्झौता गरेर काम सुरु गरेर हाल २५० घनमिटरको प्लमवालको काम सम्पन्न हुनै लाग्दासम्म पनि सूचना बोर्ड नराखेर नागरिकलाई सूचनाको हकबाट वञ्चित गरेको अपूर्व डाँगीले बताए । टिमाई भ्यालीले सम्झौतापछि ढिलै काम सुरु गरे पनि सम्बन्धित निकाय मेचीनगर नगरपालिका र वडा कार्यालयले आवश्यक अनुगमन र स्थानीय बासिन्दासँग समन्वय नगरी निर्माण सुरु गरेको स्थानीयबासी बताउँछन् ।

ठेकेदार कम्पनीले ठेक्का पारेर निर्माण सुरु गरे पनि नगर र वडाले स्थानीयसमक्ष समन्वय नगर्नु ठेकेदार, जनप्रतिनिधि र कर्मचारीको मनोमानीमा निर्माणाधीनको गुणस्तर कम हुने डाँगी बताउँछन् । प्लमवाल निर्माण गर्दा गिट्टी बालुवा र सिमेन्ट ६० प्रतिशत र ४० प्रतिशत ढुंगा प्रयोग गर्न पाउने प्राविधिक पेपरमा उल्लेख भए पनि ठेकेदारले प्लमवाल निर्माण गर्दा ८० प्रतिशतसम्म ढुंगा प्रयोग गरेको पाइएको माओवादी केन्द्र मेचीनगर–१४ की अध्यक्ष हेमकुमारी शिवाकोटीले बताइन् ।

स–साना १० देखि २० सिएमको ढुंगाको प्रयोग गर्ने स्टिमेटमा उल्लेख भए पनि प्लमवाल निर्माण गर्दा ठेकेदारले मनोमानी ढंगले ठूला ढुंगा प्रयोग गरेको उनको दाबी छ । ५२० मिटर लम्बाइ, १८ फुट चौडाइ र ४० इन्च मोटाइको कालोपत्रे निर्माण हुँदा दुई ठाउँमा कमजोर ह्युमपाइप रहेको र उक्त कमजोर पाइपमाथि नै कालोपत्रे बिच्छ्याउने योजना बनाएको मेची नगरपालिकाका इन्जिनियर रोशन रिमालले बताए ।

पुष्पलाल मार्ग र नवजीवन मार्गमा पाँच दशकयता सिँचाइका लागि गोझापैनीमा निकासका लागि ह्युमपाइप हालेको बताइएको छ । ठेकेदार कम्पनी टिमाई भ्यालीका प्रोपाइटर दिपक दाहाल केसीले आफूले गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्