बालबालिकाको विकासमा लगानी बढाउन माग «

बालबालिकाको विकासमा लगानी बढाउन माग

आगाामी आर्थिक वर्षका लागि स्थानीय तहमा नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी चलिरहेको छ । तातोपानी गाउँपालिकाले बजेटमाथि राय सुझावसमेत माग गरेको छ ।

जुम्लाका आठै स्थानीय तह बजेट तर्जुमाको आन्तरिक तयारीमा जुटिरहँदा तातोपानी गाउँपालिकाका बालबालिकाले बाल विकासका क्षेत्रमा लगानी बढाउन माग गरेका छन् । पछिल्लो समयमा सामाजिक रुपान्तरणका संवाहकका रूपमा हेरिएका बालबालिकालाई तीनै तहका सरकारले उपेक्षा गर्दै आएको छ ।

गैरसरकारी संस्थाले बालबालिकालाई सामाजिक रूपान्तरणका विभिन्न अभियानमा सक्रिय गराए पनि सरकारी तबरबाट अपेक्षित सहयोग नपाएको बालबालिकाको गुनासो छ । अझै समाजमा बालविवाह, बहुविवाह, छुइप्रथा, छोराछोरीबीचको विभेदलगायतका कुरिति विद्यमान छ । यस्ता कुरिति न्यूनीकरण गर्न बालबालिका निसर्त रूपमा खटिएका छन् ।

गाउँमा हुने बालविवाहलाई रोक्न बालसञ्जाल निर्मम रूपमै लागेको देखिन्छ । तर स्थानीय सरकारको लगानी बालबालिकाको संरक्षण, क्षमता विकास र सुरक्षामा भन्दा पनि भौतिक विकासतिरै बढी भएको देखिन्छ । भौतिक विकासले मात्रै समाज रूपान्तरण सम्भव नरहेको भन्दै तातोपानीका बालबालिकाले पालिकालाई आगामी नयाँ बजेटमा बाल बालबालिका सवालमा नीति निर्माण र लगानी बढाउन माग गरेका छन् ।

तातोपानी गाउँपालिकास्तरीय बाल सञ्जालका अध्यक्ष सुशील नेपाली भन्छन्, “बढ्दो भौतिक विकासले गाउँगाउँमा संघीयताको अनुभूति त भयो । गाउँगाउँमा सडक जोडिए, उत्पादनले बजार पाए । तर त्यो विकासले मात्रै समाज रूपान्तरण भयो त ? एक वर्ष नटिक्ने संरचना बन्न थाले, सरकारी काम भनेकै विकासभन्दा खाने हो भन्ने प्रवृत्तिको विकास भयो । त्यसैले अब सामाजिक रूपान्तरणका क्षेत्रमा लगानी बढाउन जरुरी छ ।”

१७ बुँदे कार्ययोजनासहित माग पेस

तातोपानीका बालबालिकाले पालिकालाई १७ बुँदे माग पेस गरेका छन् । आगामी बजेटमा समेटिनुपर्ने र बाल सञ्जालले सामाजिक रूपान्तरणका लागि गर्नसक्ने कार्ययोजनासहितका १७ बुँदे माग उपाध्यक्ष रेवती रावल, महिला शाखा प्रमुख शान्ति सेजुवाललाई हस्तान्तरण गरेका हुन् ।

तातोपानी महिला शाखाको आयोजना र किर्डाक नेपाल र वल्र्डभिजनको सहयोगमा दुई दिन आयोजित पालिकास्तरीय बाल भेलाबाट बालबालिकाका आवश्यकता पहिचान, बाल सञ्जालले कुरिति अन्त्य गर्नसक्ने कामसहितको माग पेस गरिएको पालिकास्तरीय बालसञ्जालका अध्यक्ष सुशील नेपालीले बताए ।

दुई दिने बाल भेलामा किर्डाकले बाल अधिकार, कर्तव्य र जिम्मेवारीलगायतका विषयमा सिकाएको थियो । बाल भेलाकै उपलब्धि स्वरुप तातोपानीका बालबालिकाले आगामी बजेटमा बाल विकासमा लगानी बढाउन कार्ययोजनासहित माग पेस गर्न सफल भएको अध्यक्ष नेपालीको भनाइ छ ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागार्इंले आगामी आर्थिक वर्षमा आवश्यकता, औचित्य र मागका आधारमा नीति निर्माण र बजेट लगानी हुने बताए । अनुत्पादन क्षेत्र र वितरणमुखी बजेट विनियोजनमा रोक लगाइने भएकाले बालबालिकालाई उत्पादनसँग जोड्ने गरी नीति ल्याइने उल्लेख गरे ।

उपाध्यक्ष रेवती रावलले आगामी पाँच वर्षमा तातोपानीलाई बालविवाहमुक्त तथा बालमैत्री पालिका बनाउने लक्ष्य राखिएकाले बालबालिकाका सवाललाई नीतिमा प्राथमिकता दिनुपर्ने उल्लेख गरिन् । प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले पालिकामा पञ्चवर्षीय रणनीतिक योजना निर्माण भएकाले सोहीअन्तर्गत बालबालिकाका सवाललाई प्राथमिकता दिएर कार्यान्वयन गर्न सकिने बताए ।

भविष्यको सक्षम जनशक्ति बनाउनका लागि पालिकाले बालबालिकाको विकासमा लगानी गर्न तयार रहेकाले कलम, कसम, कदम तीन (क)मा अबका बालबालिकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्