डोजरे विकासले बिनास निम्त्याउँदा मासिँदै वातावरण

गत असोज १९ देखि २५ गतेसम्म भएको बेमौसमी वर्षासँगै आएको बाढी पहिरोले जुम्लामा ठूलो जनधनको क्षति गर्यो । जुम्लाको मार्सीधानका फाँट र दर्जनौ विद्युत गृहलगायतका क्षेत्रमा ठूलो क्षति भयो । तातोपानी ४ हाँकुस्थित नेत्र ज्योति मावि विद्यालय बगर बन्यो । त्यस्तै, बाढीले तातोपानीको ५ हेक्टर र तिलाको १३ हेक्टर गरी १८ हेक्टर मार्सीफाँट बगर बनेको छ । पातारासी, गुठिचौर, तातोपानी र तिला गाउँपालिकामा बाढीले बढी नै क्षति भएको थियो ।
अहिले पनि विपद्का आला घाउ जुम्लामा ज्युँका त्युँ छन् । अन्य ज्युलोमा अहिले रोपाई सुरु भएपनि तातोपानीको लाछु ज्युलोको ३० प्रतिशत भाग बाँझिएको छ । करिब १४० बढी सिचाई कुला भत्किएपछि अहिलेसम्म अधिकांश पुर्ननिर्माण नहुँदा रोपाईमा समस्या भएको छ । यसरी वर्षासँगै आउने बाढी पहिरोले क्षति गराउने विभिन्न कारण मध्य पहिलो डोजर विकासलाई लिइएको छ । स्थानीय सरकार सञ्चालनपछि डोजरे विकासले विनास मात्र निम्त्याएको छैन वातावरणसमेत कुरुप बन्दै गएको छ ।
बाढी पहिरोको जोखिम पनि उत्तिकै बढेको छ । जुम्लाका आठै पालिकाले पहिलो प्राथमिकता दिएर सडक निर्माण गरेका छन् । जिल्लाका ६० वटै वडामा सडकले छोएको छ । तर अधिकांश सडक वातावरणीय प्रभाव मूल्यानंकन बिनै निर्माण भएकै कारण प्राकृतिक प्रकोपले क्षति हुँदै आएको छ । पछिल्लो समय जुम्लामा सामान्य वर्षा हुने वित्तिकै बाढी पहिरो आउने प्रमुख कारण मध्य डोजरे विकास एक हो ।
डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्रीले भने, “असोजमा आएको बाढीको पहिलो कारण नै डोजरे विकास हो । वातावरण संरक्षण बिना विकासको अर्थ छैन भन्ने तथ्य धेरैले बुझेर बुझ पचाएका छन् । संघीयतापछि डोजरे विकास रोक्न मुस्किल छ । जसका कारण वातावरण संरक्षण चुनौतीको विषय बन्दै गएको छ । वातावरणीय प्रभाव मूल्यांकन बिना डोजर प्रयोगमा रोक लगाइनु पर्छ ।”
जुम्लाको माथिल्लो तटीय क्षेत्र पातारासी र गुठिचौर क्षेत्रको पूर्वाधार विकासलाई वातावरणमैत्री बनाउन जरुरी छ । माथिल्लो तटीय क्षेत्रको डोजरले विकासले तल्लो तटीय क्षेत्र तातोपानी र तिलामा बाढीले क्षति गरेको अनुसन्धानले देखाएको छ । डोजरले विकासले निम्त्याएको बिनासलाई रोक्न वातावरणीय प्रभाव मूल्यांनकन नीति निर्माण र प्रभावकारी कार्यान्वयनमा स्थानीय तहको ध्यानकर्षण हुन जरुरी छ । जुम्लाका तातोपानीको भेरीखोला, गिढीखोला पातारासी र गुठिचौर क्षेत्र बाढीको उच्च जोखिममा छन् ।
डोजरे विकाससँगै अनियन्त्रित मानवीय गतिविधि, अतिवृष्टी, वन फडानी लगायतका कारणले वातावरण कुरुप बन्दै छ । स्थानीय तहको ध्यान बाटो बनाउन तर्फ मात्रै देखिन्छ । वातावरण संरक्षण बिना मानव अस्तित्व संकटमा पर्ने निश्चित छ । डोजरे विकासे र प्लाष्टिक प्रयोग अन्त्यमा जोड जुम्लामा सोमबार ५०औं विश्व वातावरण दिवस मनाइएको छ ।
कर्णाली प्राविधिक शिक्षालय र डिभिजन वन कार्यालयको संयुक्त र्यालीपछि आयोजित अन्तरक्रियामा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले डोजरे विकास र प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्दै वातावरण संरक्षणमा ध्यान दिनुपर्ने बताए । उनले भने, “वातावरणमैत्री नीति निर्माण र वातावरणीय प्रभाव मूल्यांकनको कार्यान्वयन गरी पूर्वाधार विकास गर्न जरुरी छ । जल, जमिन, जंगलको संरक्षण विना विकासको अर्थ छैन । वातावरण संरक्षणका क्षेत्रमा समेत स्थानीय तहले लगानी बढाउन जरुरी छ ।”
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले अब तीनै तहका सरकारल विकास आर्थिक, सामाजिक र वातावरणीय विकासमा जोड दिनुपर्ने बताए । उनले डोजरे विकासको अन्त्य, प्लाष्टिकजन्य वस्तुको प्रयोगमा रोक, वृक्षारोपण कार्यक्रममा लगानी जस्ता विषयमा ध्यान दिनुपर्ने उल्लेख गरे ।
सामुदायिक वन उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष गार्कण चौलागाईले वातावरण संरक्षणका लागि सरकारी निकायसंगै स्थानीय नागरिकको सक्रियता जरुरी रहेको बताए । हरेक वर्ष जेठ २२ मा औपचारिक रुपमा मनाइने दिवसमा वातावरण संरक्षणका चिल्ला कुरा मात्र गरेर सम्भव नभएकोले नीतिगत रुपमै जुम्लाले काम गर्नुपर्ने अबस्था आएकोमा सरोकारवालाको जोड छ ।