चैतमा भन्दा वैशाखमा घट्यो निर्जीवन बिमा कम्पनीको व्यवसाय

पछिल्लो एक महिनामा निर्जीवन बिमा कम्पनीको व्यवसाय ३५ प्रतिशतले घटेको छ । गत चैत महिनाको तुलनामा वैशाखमा निर्जीवन बिमा कम्पनीको व्यवसाय घट्न पुगेको हो ।
चालु आर्थिक वर्षको वैशाख महिनामा निर्जीवन बिमा कम्पनीहरूले दुई अर्ब ६७ करोड ४७ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । गत चैतमा यी कम्पनीहरूले चार अर्ब १४ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका थिए । गत चैतको तुलनामा वैशाखमा निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय एक अर्ब ४७ करोड रुपैयाँ कम हो । समग्रमा भने निर्जीवन बिमा कम्पनीहरूको कुल बिमा शुल्क ३२ अर्ब ६८ करोड रुपैयाँ नाघेको छ ।
वैशाखसम्ममा सञ्चालनमा रहेका १५ निर्जीवन बिमा कम्पनीले ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका हुन् । निर्जीवन बिमा कम्पनीहरूले वैशाखसम्ममा २३ लाख ५० हजार ६५२ वटा बिमालेख जारी गरेका छन् । जसमध्ये वैशाखमा मात्र एक लाख ८४ हजार ३१४ बिमालेख निर्जीवन बिमा कम्पनीबाट जारी भएको नेपाल बिमा प्राधिकरणको तथ्यांक छ । वैशाखमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले २० हजार ९६७ वटा बिमालेख जारी गरेको छ ।
यस्तै सिद्धार्थ प्रिमियरले २० हजार ७०२ वटा बिमा लेख जारी गर्दा सगरमाथा लुम्बिनीले १९ हजार १७२ बिमालेख जारी गरेको छ । यस्तै नेको इन्स्योरेन्सले १८ हजार ३५७, हिमालयन एभरेस्टले १८ हजार १९८ वटा बिमालेख जारी गरेको छ । यसबाहेकका कम्पनीहरूको १८ हजारभन्दा कम बिमालेख जारी भएको छ । कम्पनीहरूले सातवटै प्रदेशमा सम्पत्ति, सामुद्रिक, हवाई, मोटर, इन्जिनियर तथा ठेक्का, विविध, कृषि बाली र लघु बिमालेख जारी गरी साढे ३२ अर्बभन्दा बढी बिमा शुल्क संकलन गरेका हुन् ।
यसमध्ये कम्पनीहरूले मोटर बिमा व्यवसायबाट सबैभन्दा धेरै बिमा शुल्क संकलन गरेका छन् । वैशाख महिनासम्म मोटर बिमालेख जारी गरी १० अर्ब रुपैयाँ बिमाशुल्क संकलन भएको छ । यस बिमालेखमा सबैभन्दा धेरै बिमाशुल्क बाग्मती, लुम्बिनी र कोशी प्रदेशबाट संकलन भएको छ । बाग्मती प्रदेशले मोटर बिमालेख जारी गरी वैशाखसम्ममा ६ अर्ब रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । यस्तै लुम्बिनी प्रदेशमा एक अर्ब ४० करोड रुपैयाँ, कोशी प्रदेशमा एक अर्ब रुपैयाँ मोटर बिमालेखबाट संकलन भएको छ ।
अन्य चार प्रदेशमा करोड रुपैयाँको बिमा शुल्क संकलन भएको छ । सम्पत्ति बिमालेखबाट निर्जीवन बिमा कम्पनीहरूले सात अर्ब २९ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । सम्पत्ति बिमालेखअन्तर्गत बाग्मती प्रदेश र कोशी प्रदेशमा धेरै रहेको छ । चालु आर्थिक वर्षमा बाग्मती प्रदेशबाट चार अर्ब र कोशी प्रदेशबाट एक अर्ब बिमाशुल्क आर्जन भएको छ । इन्जिनियर तथा ठेक्का बिमालेखबाट पाँच अर्ब ६७ करोड रुपैयाँ बिमा शुल्क संकलन भएको छ । बाग्मती प्रदेशबाट चार अर्बभन्दा बढीको बिमा शुल्क संकलन भएको छ ।
अन्य प्रदेशमा कम बिमाशुल्क संकलन भएको छ । यस्तै विविध बिमालेखबाट ३ अर्ब ४९ करोड रुपैयाँ बिमाशुल्क संकलन भएको छ । सामुद्रिक बिमालेखबाट एक अर्ब ६७ करोड रुपैयाँ, हवाई बिमाबाट एक अर्ब ६० करोड रुपैयाँ, कृषि तथा बालीबाट दुई अर्ब र लघु बिमाबाट ६ करोड १८ लाख रुपैयाँ बिमाशुल्क संकलन भएको छ । मोटर बिमामा १४ लाख ८७ हजार वटा बिमालेख सक्रिय छन् ।
सम्पत्ति बिमामा चार लाख २५ हजार वटा बिमालेख जारी भएका छन् । विविध बिमामा एक लाख ३६ हजार वटा बिमालेख, सामुद्रिक बिमामा एक लाख १२ हजार बिमालेख तथा कृषि तथा बालीअन्तर्गत एक लाख ५२ हजार बिमालेख जारी भएका छन् । यस्तै लघु बिमामा ३३ हजार चार सय बिमालेख, इन्जिनियर बिमामा २५ हजार बिमालेख, हवाई बिमामा ११४ वटा बिमालेख जारी भएको छ । निर्जीवन बिमा कम्पनीहरूमा लघु बिमाको संख्या ३३ हजार पुगेको छ ।