कर्णाली प्रदेशबाट विदेशिनेको संख्या ९४ हजार

कर्णाली प्रदेशबाट विदेश बस्ने नागरिकको संख्या देशभरमै कम देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले दिएको जानकारीअनुसार कर्णालीबाट विदेश बस्नेको जनसंख्या ६२ हजार ७२८ परिवारबाट ९४ हजार ३२० जना रहेको छ ।
कर्णालीमा विदेश बस्नेको संख्य अन्य प्रदेशभन्दा कम देखिएको छ । सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट चार लाख २० हजार ९०६ जनाको विदेश बसोबास रहेको तथ्यांकमा देखिन्छ । कर्णालीमा पुरुषको तुलनामा महिलाको संख्या कम छ । पुरुषको संख्या ७७ हजार २७८ अर्थात् ८१.९ प्रतिशत र महिला १७ हजार ४२ अर्थात् १८.१ प्रतिशत रहेका छन् । २०६८ को जनगणनामा ६७ हजार ५८२ जना विदेशमा बसोबास गर्ने व्यक्तिको संख्या थियो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार ४१२ रहेको छ । जसमध्ये आठ लाख २३ हजार ७६१ पुरुष र आठ लाख ६४ हजार ६५१ महिलाको संख्या रहेको छ । यहाँ पुरुषको तुलनामा महिलाको जनसंख्या बढी देखिन्छ । लैङ्गिक अनुपातमा प्रति एक सयजना महिलामा पुरुषको संख्या ९५.२७ प्रतिशत रहेको छ । २०६८ को जनगणनामा लैङ्गिक अनुपात ९५.६९ थियो ।
यसपटक गरिएको जनगणनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक (अन्य लिङ्गी)लाई पनि समेटिएको छ । देशभरमा दुई हजार ९२८ संख्या रहेकोमा कर्णालीमा २.८ प्रतिशत रहेको छ । कर्णालीमा १० वर्ष वा सोभन्दा बढी उमेरका ६ लाख ६८ हजार ७१५ जनामध्ये आर्थिक रूपमा सक्रिय अक्सर रोजगारको संख्या ६ लाख १८ हजार ४८७ रहेको छ भने ५० हजार २२८ जना बेरोजगार रहेको तथ्यांकले देखाएको छ ।
यीमध्ये विद्यार्थी भएकाले आर्थिक रूपमा काम नगर्नुको प्रमुख कारण देखाइएको छ । साथै वृद्ध अवस्था, पारिवारिक हेरचाह, अशक्त बिरामी, पेन्सन, सामाजिक कार्यलगायतका कारण छन् । पाँच वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसंख्यामा ७६.१ प्रतिशत साक्षरता दर रहेको छ । त्यसध्ये सबैभन्दा बढी प्राथमिक तह (३०.९ प्रतिशत), दोस्रोमा निम्न माध्यमिक तह (२१.५ प्रतिशत), एसईई वा सो सरह (८.० प्रतिशत) र सो भन्दा माथिल्लो तह उत्तीर्ण गर्ने १५.८ प्रतिशत रहेको तथ्यांक छ ।
कर्णालीमा वार्षिक औसत जनसंख्या वृद्धिदर ०.७० रहेको छ । त्यसमध्ये सबैभन्दा बढी सुर्खेतमा १.६२ र सबैभन्दा कम दैलेखमा –०.३५ प्रतिशत रहेको छ । कर्णालीमा सबैभन्दा धेरै जनसंख्या रहेको जिल्ला सुर्खेतमा चार लाख १५ हजार १२६ छ भने सबैभन्दा कम डोल्पामा ४२ हजार ७७४ रहेको छ । कर्णालीका ६१.४ प्रतिशत परिवार घरपरिसरमै र २४.१ प्रतिशत परिवारले मूल धाराबाट खानेपानी प्रयोग गर्ने गरेको तथ्यांक छ । ४९.६ प्रतिशत नागरिक ४९.६ प्रतिशत विद्युतको पहुँचमा छन् भने ४७.९ प्रतिशतले सौर्यऊर्जा प्रयोग गरेका छन् ।
नतिजानुसार देशका १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा बसोबास रहेको कार्यालयले जनाएको छ ।