नमुना बन्दै भानु जन मावि «

नमुना बन्दै भानु जन मावि

ताप्लेजुङ – सदरमुकामदेखि २५ मिनेटको दुरीमा अवस्थित छ, श्री भानु जन मावि । एल आकारको २ तले चिटिक्क परेको ७ वटा भवन । नम्बर अङ्कित गरिएको ३४ वटा कोठा । अझै आठ-दश वटा कोठा फिनिसिङ गर्न बाँकी छ । रातो र सेतो रङले भवन रङ्गिएको छ । भवनका छुट्टाछुटट्टै कोठामा विज्ञान, फिजिक्स र सभिल इन्जिनियरिङतर्फको ल्याबको व्यवस्था ।
शान्त वातावरणको कोठमाभित्रका डेस्क तथा बेन्चमा बस्दा देखिने टिलिक्क टल्कने सेतो ह्वाइटबोर्ड । कुनै कोठाभित्र पर्याप्त खेल सामग्री । पुस्तकै पुस्तकले सजिएको पुस्तकालय । बाहिरबाट हेर्दा निलो छानो । वरिपरि हरियाली । नजिकैको डाँडामा सरस्वतीको मन्दिर छ । विद्यालयको अघिल्लोपट्टि खेलमैदान । खेलमैदान वरिपरि प्याराफिट । एकापट्टि बास्केटबल कोर्ट । चारैतिर घेरावारा । करिब १४ रोपनी जग्गा । विद्यालयको सबै भू–भाग प्रत्यक्ष निगरानीका लागि जडान गरिएको ३० वटा बढि सिसी क्यामेरा व्रिटिश वेलफेयरले २०७३ मा जडान गरिदिएको छ । स्थापना विसंं. २००६ लेखिएको सुन्दर गेट प्रवेशलगत्तै विद्याको मन्दिर प्रवेश गरेको आभास हुन्छ । अब यो विद्यालयको परिचय थपिएको छ, देशकै नमुना विद्यालय ।
भौतिक पूर्वाधार, विषयगत शिक्षक, निःशुल्क अग्रेजी माध्यममा पठनपाठन, शिक्षकको विद्युतीय हाजिरी, अतिरिक्त क्रियाकलाप, पर्याप्त शैक्षिक सामग्री र विद्यालय–अभिभावकबीच पठनपाठन केन्द्रित छलफल विद्यालयका विशेषता हुन् । यिनै विशेषताले विद्यालयको साख ह्वात्तै बढायो । २०७४ मा प्रदेश नं. १ कै उत्कृष्ट विद्यालयको पुरस्कारले शिक्षक, अभिभावक र विद्यार्थीको मनोबल अझ बढायो । प्रदेश सरकारले नगद ५ लाखले पुरस्कृत ग-यो । २०७५ को उपलब्धिले चालू आर्थिक वर्ष २०७६ का लागि ७७ जिल्लाका उत्कृष्ट १ सय विद्यालयको सूचीमा सुचीकृत भएको छ । असार २७ गतेको मन्त्रिस्तरीय निर्णयबाट छनौट गरिएका ८४ विद्यालयको सूचीमा भानु जन माविले ९४ अंक प्राप्त गरेको छ । विद्यालयको सक्षमतामा सुधार गरि शिक्षामा रुपान्तरणको गतिलाई तिब्रता दिने उद्देश्यले विद्यालय क्षेत्र विकास योजना २०७३-७४–२०७९-८० सम्मको अवधिमा मुलकभरका १ हजार सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउने सरकारको योजना छ । तीमध्ये २ सय २२ वटा विद्यालय छनौट भई गुरुयोजनासहित नमुना विद्यालय विकासका क्रममा छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत केन्द्र विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले असार २९ गते सार्वजनिक गरेको सूचनामा प्रदेश नं. १ का इलाम, झापा, धनकुटा र मोरङका २-२ वटा विद्यालय सूचीमा परेका छन् । इलामको शान्ति निकेतन मावि र अमर मावि बरवोटे परेका छन् । झापाको हिमाली मावि भद्रपुर र बुद्ध आदर्श मावि बुधबारे परेका छन् । मोरङका मनोहर जनता मावि मधुमल्ला र पोखरिया मावि पोखरिया छनौट भएका छन् । धनकुटाको सरस्वती मावि सिंधुवा र भानु मावि डाँडाबजार छनौटमा परेका छन् । पाँचथरको शिद्धदेवी मावि नवमीडाँडा, तेह्रथुमको सरस्वती मावि तम्फुला, भोजपुरको शारदा मावि प्याउली, सोलुखुम्बुको वीरेन्द्र ज्योती मावि शिवटार र खोटाङको सरस्वती मावि दिक्तेल छनौट भएका छन् । सुनसरीको धरान उपमहानगरपालिकास्थित पब्लिक हाइ स्कुल चतरालाइन छनौट भएका छन् ।
नमुना विद्यालयको छनौटमा परेका विद्यालयले कम्तीमा १ करोड अनुदान पाउने भएका छन् । विद्यालय छनौटमा परेलगत्तै कार्यक्रम लागू गर्नका लागि आवश्यक कागजात तथा प्रक्रिया बुझ्नका लागि विद्यालयका प्रअ किशोर राई काठमाडौ पुगेका छन् । प्रअ राईले भने, “सम्झौताको चरणमा पुगेका छौँ । संकलित कागजात बुझाएर पक्रियामा प्रवेश गरेका छौं ।” नमुना विद्यालय विकास एवं सञ्चालन निर्देशिका २०७४ (पहिलो संसोधन २०७५) अनुसार आवश्यक तयारी विद्यालय सुरु गरिसकेको निमित्त प्रअ राजमणि प्याकुरेलले बताए । २०७५ को एसईईमा पनि जिल्लाको सामुदायिक विद्यालयतर्फ प्रथम भएको जानकारी दिँदै विद्यालयका निमित्त प्रअ प्याकुरेलले भने, “निर्देशिका बमोजिम विद्यालयमा सेवा सुविधा थप्छौ । गुणस्तरीय शिक्षाका लागि अझ फड्को मार्छौ ।” शिशु कक्षा अर्थात् इसिडी कक्षादेखि कक्षा–१२ सम्म गरि करिब २ हजार बढी विद्यार्थी अध्यनरत छन् । ३८ बढी शिक्षक-शिक्षिका कार्यरत छन् । विद्यालयले आफ्नो १ करोड लगानी गरेको छ । ब्याजले निजी शिक्षकको व्यवस्थापन गर्न सहयोग मिलेको छ । अभिभावकको रेखदेख, सम्बन्धित निकायको निश्पक्ष अनुगमन र शिक्षकको निरन्तरताले गिर्दो सामुदायिक विद्यालयको साख सजिलै बचाउन सम्भव देखिने गरिको उदाहरणीय विद्यालय बनेको हो ।

देवराज गुरुङ

प्रतिक्रिया दिनुहोस्