अस्पतल भवन निर्माणमा खेलाँची «

अस्पतल भवन निर्माणमा खेलाँची

हिमाली र दुर्गम क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले सरकारले उपल्लो डोल्पाका गाउँपालिकाहरुमा बनाउन लागेका स्वास्थ्य चौकी भवन वर्षौंदेखि अलपत्र परेका छन् । उपल्लो डोल्पा दुर्गम तथा सडक सञ्जालसँग नजोडिएको क्षेत्र हो । यसअन्तर्गत पर्ने डोल्पोबुद्ध, शे फोक्सुण्डो र छार्काताङसुङ गाउँपालिकाका केही स्थानमा सरकारले स्वास्थ्य चौकी भवन बनाउन ठेक्का लगाएको थियो । तर, निर्माण कम्पनी र सरकारी कर्मचारीको गैरजिम्मेवारीका कारण वर्षौं बित्दा पनि भवन बनेका छैनन् ।

यी तीन पालिकाको कुल जनसंख्या ७ हजार ७ सय २७ छ । यही जनसंख्यामा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सरकारले भवन बनाउन खोजेको हो । यो क्षेत्रमा ल्याबदेखि सुरक्षित सुत्केरी सेवासमेत नहुँदा जटिल खालको समस्या आउनेबित्तिकै हेलिकोप्टर चढाएर दुनै वा अन्य ठूला अस्पतालमा लैजानुपर्ने बाध्यता छ । यो हिमाली र दुर्गम क्षेत्रमा सामान्य खालको औषधिबाहेक अन्य केही सेवा पाउन सक्ने अवस्था छैन । औषधि लिन नै मुस्किल छ । तीन पालिकामध्ये डोल्पोबुद्ध–५ तिन्जेमा बनाउन लागिएको स्वास्थ्य चौकी भवन क्याराभान कन्स्ट्रक्सन जेभीले ठेक्का लिएको थियो ।

भवन डिभिजन कार्यालय जुम्लाले सात वर्षअघि लगाएको ठेक्काको काम अहिलेसम्म पूरा भएको छैन । सरकारी कार्यालय र ठेकेदार कम्पनीको लापरवाहीका कारण सर्वसाधारणले स्वास्थ्य सेवा पाउन सकेका छैनन् । दुर्गमका बासिन्दा भगवान् भरोसामा बाँच्न बाध्य छन् । सरकारी कर्मचारी भने पटक–पटक निर्माण व्यवसायीलाई ताकेता गरे पनि नसुनेको बताउँछन् । “भवन निर्माणको ठेक्का धेरै पुरानो रहेछ । काम छिटो गर्नुस् भन्दा हुन्छ भन्छन् तर गर्दैनन्,” भवन डिभिजन जुम्लाका प्रमुख प्रदीप सिंहले भने ।

भवन निर्माण नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या आएको भनेर गाउँपालिकाबाट पटक–पटक गुनासो आएको उनले जानकारी दिए । समयमा काम नगर्ने र आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने अधिकार कानुनले सरकारी कर्मचारीलाई दिएको छ । ठेक्का तोड्नेदेखि कम्पनीलाई कालोसूचीमा राखेर अन्य काम गर्न रोक लगाउन सकिने कानुनी आधार भए पनि भवन डिभिजनले केही गरेको छैन । प्रमुख सिंहले अहिले काम गर्न अन्तिम पटक भनेको र अब पनि काम नभए कालोसूचीमा राख्ने चेतावनी दिएको जानकारी दिए ।

एक करोड ९७ लाख रुपैयाँ लागतमा यो भवन निर्माणको ठेक्का लिने व्यवसायी चन्द्र थकाली हुन् । थकालीले भवन अलपत्र पार्ने काम त गरेका छन् नै, भवन निर्माणमा काम गरेका व्यक्तिलाई समेत पैसा दिएका छैनन् । स्थानीयबासी लावाङ गुरुङले भवन निर्माणमा आफूले ९७ लाख रुपैयाँ खर्च गरेको तर थकालीले ५० लाख रुपैयाँमात्र दिएको गुनासो गरे । “भवन निर्माणमा मैले खर्च गरेको ९७ लाखमध्ये ४७ लाख रुपैयाँ अझै पाएको छैन,” गुरुङले कारोबारसँग भने, “पटक पटक सम्पर्क गर्दा पनि थकाली सम्पर्कमा आउन चाहेका छैनन् ।”

अब पनि सम्पर्कमा नआए भवनमा प्रयोग भएका सामग्री निकालेर लैजाने चेतावनी गुरुङले दिए । उनका अनुसार अहिलेसम्म भवनको छानोबाहेक अरु धेरै निर्माण पूरा भएको छ । निर्माण व्यवसायी थकालीले यो भवनमात्र अलपत्र पारेका होइनन् । फोक्सुण्डो गाउँपालिका–५ भिजेरको स्वास्थ्य चौकी भवनसमेत थकालीको कम्पनी क्याराभानले ठेक्का लिएर अलपत्र पारेको छ । करिब सात वर्षअघि ठेक्का लिएको यो भवनको कामसमेत आधा बनाएर बीचमै छाडेको गाउँपालिकाले जनाएको छ ।

भवन नहुँदा स्वास्थ्य सेवा सामान्य कोठा भाडामा लिएर सञ्चालन गर्नुपरेको पालिकाको भनाइ छ । अर्कोतिर डोल्पोबुद्ध गाउँपालिकामा संघीय सरकारको बजेटमा १० शैयाको स्वास्थ्य संस्था भवन निर्माणको काम समेत अगाडि बढ्न सकेको छैन । जग्गा प्राप्तिमा समस्या भएपछि भवन निर्माणको काम रोकिएको हो । अहिले जग्गा लिन पहल जारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले बताए ।

यहाँ दुई स्वास्थ्य संस्था छन् र करारका स्वास्थ्यकर्मीबाट काम हुँदै आएको छ । देवकोटाका अनुसार तिन्जेमा भवन नहुँदा भाडाको घर लिएर काम गर्नुपरेको छ । धोमा भवन छ भने अन्य चार ठाउँमा आधारभूत स्वास्थ्य केन्द्र भाडामा छन् । यस्तै, छार्काताङसुङ गाउँपालिकामा संघीय सरकारको बजेटमा १० शैयाको स्वास्थ्य संस्था निर्माण गर्ने भने पनि अहिलेसम्म बजेट आएको छैन ।

यहाँ दुई स्वास्थ्य चौकी र चार आधारभूत स्वास्थ्य केन्द्र रहेको प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले बताए । अर्कोतिर स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्य कर्मचारी पनि सधैं कार्यालयमा हुँदैनन् । मंसिरदेखि पालिका छोडेका स्वास्थ्यकर्मी चैत लागेपछि मात्र कार्यक्षेत्रमा फर्किन्छन् । चिसोको बहाना बनाएर उनीहरु प्रत्येक वर्ष यसैगरी भाग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्