चिनियाँ आकाशमा अब नेपाली विमान «

चिनियाँ आकाशमा अब नेपाली विमान

सातामा ९८ उडान गर्न पाउने

नेपाली हवाई सेवाप्रदायक कम्पनीले उत्तरी छिमेकी चीनका विभिन्न गन्तव्यमा उडान गर्न पाउने भएका छन् । नेपाल र चीनबीच शुक्रबार बेइजिङमा हवाई सेवा सम्झौता पुनरवलोकन भएसँगै नेपाली कम्पनीलाई पनि चीनमा उडान भर्ने बाटो खुलेको हो । यसअघि दुवै मुलुकबीच सम्झौता भए पनि चीनले नेपाली जहाजलाई आफ्नो मुलुकमा उडान अनुमति दिइरहेको छैन ।
“चिनियाँ पक्षले चाँडै नै नेपाली हवाई सेवाप्रदायक कम्पनीलाई उडान अनुमति दिने आश्वासन पाएका छौं,” वार्तामा सहभागी एक नेपाली प्रतिनिधिले भने, “चाँडै नै नेपाली विमान कम्पनीले उडान अनुमति पाउने छ, चिनियाँ पक्ष नेपाली विमान कम्पनीलाई उडान अनुमति दिन सकारात्मक रहेको पाएका छौं ।”
अधिकारीहरूका अनुसार आउँदो अक्टोवर वा नोभेम्बरमा नेपाल वायुसेवा निगम र त्यसअघि नै निजी लगानीको हिमालयन एयरलाइन्सले उडान अनुमति पाउने सम्भावना छ । यद्यपि, चिनियाँ पक्षले उडान अनुमति दिनुअघि नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमको सेफ्टी अडिट गर्न चाहेको छ । उसले अडिटको लागि आह्वान गरेसँगै प्रक्रिया अगाडि बढाएर उडानको लागि चाँडै ढोका खोल्नसमेत सकारात्मक देखिएको छ ।
अहिले चीनबाट ६ वटा वायुसेवा कम्पनीले नेपालमा उडान भरिरहेका छन् । विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार चीनबाट चाइना इस्टर्न, एयर चाइना, चाइना साउदर्न, सिचुवान एयरलाइन्स, हङकङबाट ड्र्यागन एयर र तिब्बत एयरलाइन्सले काठमाडौंमा हप्तामा साढे ४ दर्जनभन्दा बढी उडान गर्दै आएका छन् ।
निगमले एयरबस ३३० बाट ग्वान्जाओमा उडान भर्ने आन्तरिक तयारी गरिरहेको छ भने हिमालयन एयरलाइन्सले बेइजिङ र ल्हासा उडान गर्ने तयारी गरिरहेको छ । हिमालयनले भने न्यारोबडी ३१९ विमान ल्याएर उडान गर्ने तयारी रहेको छ । २०६४ अघि निगमको विमानले जापानको ओसाका उडान गर्दा चीनको सांघाइलाई ट्रान्जिट बनाएर उडान गर्दै आएको थियो । करिब १२ वर्षपछि नेपाली विमान चीन जाने बाटो खुल्न लागेको हो ।
५ वर्षपछि नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन भएको हो । नयाँ सम्झौताअनुसार चिनियाँ वायुसेवा प्रदायक कम्पनीले हप्तामा नेपालमा ९८ र नेपाली हवाई सेवाप्रदायक कम्पनीले चीनमा ९८ उडान गर्न पाउने गरी सम्झौता भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
२८ उडान थप गर्ने गरी नेपाल र चीनबीच हवाई सम्झौता भएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । उनले भने, “विगतमा प्रतिसाता ७० उडान हुँदै आएको थियो, शुक्रबार चीनमा भएको हवाई सम्झौता पुनरावलोकनबाट २८ उडान थप गर्दै सातामा ९८ उडान गर्न पाउने गरी सम्झौता भएको छ ।”
नेपाली विमान कम्पनीले विगतमा चीनका ७ विमानस्थलमा मात्र उडान गर्न पाउने गरेका थिए । नयाँ सम्झौतापछि चीनका १५ विमानस्थलमा नेपाली विमानले उडान गर्ने पाउने भएका छन् । सम्झौतासँगै नेपाली वायुसेवा प्रदायक कम्पनीले चीनमा उडान गर्न पाउने छन् । चीनमा उडान भर्न नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सले आन्तरिक तयारी गरिरहेका छन् ।
नयाँ सम्झौताअनुसार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विगतमा चीनले ७० उडान गरिरहेको थियो । अब भने ७ उडान थप गर्न पाउने छ । अर्थात हप्तामा ७७ उडान काठमाडौंमा भर्न पाउने छ । लामिछानेले भने, “अन्य २१ उडान भने निमार्णाधीन गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नुपर्नेछ ।”
सन् २०१४ मा भएको पछिल्लो सम्झौतालाई संशोधन गरिएको हो । यसअघि हप्तामा ७० उडान मात्र गर्न पाउने सम्झौता रहेको थियो । पाँच वर्षअघि दुई देशबीच भएको हवाई सेवा सम्झौता संशोधन गरिएको हो । चीनमा नेपाल पक्ष र चिनियाँ टोलीबीच २ दिनसम्म चलेको वार्ताले हवाई सेवा पुनरावलोकनलाई मूर्तरूप दिएको हो । वार्ता टोलीमा मन्त्रालयका तर्फबाट सहसचिव सुरेश आचार्य, उपसचिव प्रमोद नेपाल, वायुसेवाका निर्देशक कृष्णगोपाल जोशी, नेपाल नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक गोपालचन्द्र थापा, कानुन मन्त्रालयका उपसचिव अरुणा जोशी, चीनस्थित नेपाली दूतावासबाट उपप्रमुख सुशील लम्साल सहभागी थिए ।
नयाँ सम्झौताले चीनका वायुयान काठमाडौंपछि निर्माणाधीन गौतमबुद्ध र पोखरा विमानस्थलमा जान जान पाउने बाटोसमेत खुलेको छ । विगतको सम्झौता पुनरावलोकन गदै निमार्णाधीन विमानस्थलमा पनि हवाई सेवा सञ्चालन गर्ने गरी सम्झौतामा गरिएको हो । 
नेपाल हुँदै मानसरोवर यात्रा जाने यात्रुको लागि सहज बनाउनको लागि नेपाली हेलिकप्टर सो क्षेत्रमा प्रयोग गर्नको लागि राखेको प्रस्तावमा पनि चिनियाँ टोली सकरात्मक पाएको वार्ता टोलीमा सम्लग्न मन्त्रलायका  उपसचिव प्रमोद नेपालले बताए । तिब्बतको निर्माणाधीन गुन्सा विमानस्थल प्रयोग गर्न दिने विषयमा चिनियाँ पक्ष सकरात्मक देखिएको छ ।
सन् २०१८मा चीनबाट १ लाख ५३ हजार भन्दा बढिले नेपाल भ्रमण गरेका थिए।सन् २०१८ मा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक दोश्रो नम्वरमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्