यतीको पोखराबाट भरतपुर र भैरहवा उडान साउन १६ बाट «

यतीको पोखराबाट भरतपुर र भैरहवा उडान साउन १६ बाट

पोखरा-यती एयरलाइन्सले पोखराबाट भैरहवा र भरतपुरका लागि हवाई उडान गर्ने भएको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पर्यटकहरूको मागअनुसार यही साउन १६ देखि पोखराबाट भैरहवाका लागि सीधा हवाई उडान सेवा सुरु गरिने भएको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
एयरलाइन्सले ३० सिट क्षमता भएको ‘जेटस्ट्रिम–४१ विमानमार्फत भैरहवा र भरतपुरका लागि उडान भर्ने भएको छ भने अन्नपूर्ण एक्सप्रेस माउन्टेन फ्लाइटसमेत सुरु गर्ने भएको एयरलाइन्सका प्रवक्ता भीम राईले बताए । उनका अनुसार १५ भदौदेखि पोखरा भरतपुर र २९ भदौदेखि माउन्टेन फ्लाइटको उडान हुनेछ । यतीले पोखरादेखि भैरहवाका लागि अधिकतम ४ हजार ३ सय ५०, भरतपुरका लागि अधिकतम ३ हजार ८ सय शुल्क निर्धारण गरेको उनले जनाए । आधा घण्टाको माउन्टेन फ्लाइटका लागि ८ हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ ।
सन्, १९९८ देखि सञ्चालनमा आएको यतीका अहिले पाँचवटा एटिआर ७५–५०० र पाँच वटा जेटस्ट्रिम ४१ ट्वीन टर्बोे प्रप विमान सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्र बनाएर उडान भर्दै आएको यती नेपालकै ठूलो हवाई सञ्जाल भएको एयरलाइन्स भएको कम्पनीको दाबी छ । यतीको भगिनी सम्बन्ध भएको एयरलाइन्स तारा एयरले पनि ४ वटा ट्वीन अटर र दुइटा डोर्नियर डिओ२२८ बाट जोमसोम, लुक्ला, सिमीकोट, जुम्ला र रारालगायतका विकट ठाउँमा पनि उडान भर्दै आएको छ । यती एयरलाइन्स सम्भवत दक्षिण एसियाकै पहिलो ‘कार्बन–न्युट्रल एयरलान्स’ भएको कम्पनीले जनाएको छ ।
नेपालगन्जका लागि भने मागअनुसार उडान भर्ने छ । पर्यटकले धौलागिरि, माछापुछ्रे, अन्नपूर्णलगायतका सुन्दर हिमशृंखलाका मज्जा लिउन भनेर माउन्टेन फ्लाइट सुरु गरेको उनले सुुनाए । उनले भने, “पर्यटकहरूले धौलागिरि, माछापुछ्रे, अन्नपूर्णलगायतका सुन्दर हिमशृंखलाको दृश्यावलोकनको लागि मज्जा लिन सक्नेछन् ।”
एयरलाइन्सका मार्केटिङ म्यानेजर सरल राणाले केही महिना घाटा सहेरै भए पनि आफूहरूले सेवा दिन सुरु गर्ने बताए । पोखरा र भरतपुर हवाई नेटवर्कले जोडिएपछि पोखरा आउने पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको सफारी र नारायणी नदीबाट सूर्यास्तको दृश्यावलोकनलगायतका विविध गतिविधि नियाल्न सक्ने मार्केटिङ म्यानेजर राणाले जनाए । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोख्रेल, नाट्टा क्षेत्रीय संघ गण्डकी प्रदेश अध्यक्ष सन्तोष पोख्रेललगायतले पोखरादेखि भैरहवा र भरतपुर सीधा उडानले तीन क्षेत्रको पर्यटन प्रबद्र्धन हुने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्