सन्दर्भः विश्व वातावरण दिवस
प्लाष्टिक प्रदूषण निर्मूल पार्न सहकार्य आवश्यक

हरेक वर्ष जुन महिनाको ५ तारिख विश्वव्यापी रुपमा मनाइने वातावरण दिवस सोमबार मनाइँदै छ । ‘प्लास्टिक प्रदूषण विरुद्ध लागौं’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाउन लागिएको हो ।
संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइँदै आइरहेको छ । यस वर्ष संयुक्त राष्ट्रसंघले प्लाष्टिक प्रदूषणको समाधानलाई मूल विषय र ‘प्लास्टिक प्रदूषण विरुद्ध लागौँ’ मूल नाराका साथ मनाउन लागिएको हो ।
यस वर्षको मूल नारालाई स्थानीयकरण गर्दै नेपालले पनि प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं भन्ने नाराका साथ वातावरण दिवस मनाउन गइरहेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वरिष्ठ वैज्ञानिक डा. रविन्द्र ढकालले प्लाष्टिकको समाधानको हिसाबले प्लाष्टिकको झोलालाई निरत्साहन गर्न रिसाइकल गर्ने र केही इन्धनको रुपमा प्रयोग गर्न सकिने विषयमा अनुसन्धान भईरहेको बताएका छन् ।
“९ सय डिग्री सेल्सियसभन्दा बढी उच्चतम तापक्रममा बाल्दा अन्य हानिकरक ग्यास निस्कँदैन, यसरी इन्धनमा प्रयोग गर्न सकिन्छ,” उनले भने, “ यसले प्लाष्टिकजन्य बस्तुको नियन्त्रण भई वातावरणीय प्रदूषण कम गर्छ र खेर जाने बस्तुुलाई अर्थतन्त्रमा रुपान्तरण गर्न सकिन्छ ।” सरकारले आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट बक्तव्य मार्फत प्रदूषण नियन्त्रका लागि प्लाष्टिकजन्य बस्तु व्यवस्थापनमा कडाइ गरिने नीति लिएको छ ।“
”वातावरण प्रदूषण नियन्त्रणमा सहयोग पुर्याउने हेतु गुट्खा तथा सूर्ती उद्योगले अन्तःशुल्क लाग्ने वस्तु प्याकिङ्ग गर्दा प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुको सट्टामा २०८१ वैशाख १ गते देखि अनिवार्य रूपमा जैविक रुपमा सडेर जाने ’वायो डिग्रेडेवल’ जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइनेछ,” वक्तव्यमा भनिएको छ । वातावरण विभागका प्रवक्ता शंखर पौडेलले प्लाष्टिकजन्य बस्तु लामो समयसमम नसड्ने र नगल्ने हुँदा यसले वातावरणीय प्रदूषण गराइरहेको भन्दै नियन्त्रणका लागि पहल गरिने बताएका छन् ।
“वातावरणीय प्रदूषण गर्ने मुख्य तत्वहरु मध्ये प्लाष्टिकजन्य बस्तु पनि एक हो, यसलाई नियन्त्रण गर्न तर्फ सबै सरोकारवाला निकाय तथा नागरिक समाज बीचको सहकार्य जरुरी छ,” उनले भने, “सफा र स्वच्छ वातावरण कायम राख्न र प्रदूषणरहित हावामा बाँच्नका लागि प्लाष्टिकजन्य बस्तुको नियन्त्रण हुनुपर्छ । आगामी आर्थिक बर्षको बजेटले पनि नियन्त्रणको नीति लिएको छ ।”
बिभागका अनुसार पोलेथिन ब्यागदेखि लिएर खेलौना, भाँडावर्तन, पाइप, फर्निचर, वट्टा आदि अनेक उपयोगी वस्तुहरूको निर्माण प्लाष्टिकबाट हुने र यी बस्तुहरु लामो समयसम्म नकुइने हुँदा प्रदूषण गराइराख्ने छ । अधिकांश उपभोक्ताहरुको भान्सामा प्रयोग हुने गरेको प्लाष्टिकजन्य बस्तुहरु, जस्तै विस्कुट, चाउचाउ , बोतल, अन्य सामग्री भान्सासम्म आइपुग्ने गर्छ । प्लाष्टिक व्यागदेखि भाँडाहरु पनि प्लाष्टिकजन्य प्रयोग हुने गरेका छन् । विकल्पको खोजि हुनुपर्ने भन्दै वातावरण अभियन्ताहरुले आवाज उठाउँदै आईरहेका छन् ।
वातावरण युवा अभियन्ता बर्षा पराजुलीले प्लाष्टिकजन्य बस्तुको बिस्थापित गर्दै नजाने हो भने प्रदूषण न्यूनिकरण नहुने बताएकी छिन् । “सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा पनि प्लाष्टिकजन्य बस्तुको नियन्त्रणका केही नीतिहरु लिएको छ । विगतमा पनि प्लाष्टिकको झोला नियन्त्रणमा पहल भएको थियो,” उनले भनिन्, “बिगतमा झै आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम कार्यन्वयन फिताले हुनुभएन । पहिला नीति लिए पनि कार्यन्वयन हुन सकेन । यसकारण यस्ता नीतिको प्रभावकारी कार्यन्वयनमा सरकारको चासो हुनुपर्छ ।”
उनका अनुसार प्लाष्टिक प्रदूषण न्यूनिकरणका लागि ३ ओटै तहका सरकारबीचको समन्वय र सहकार्य जरुरी रहन्छ । पटक पटक सरकारले वातावरणीय प्रदूषण रोक्नका लागि प्लाष्टिकको झोला तथा प्लाष्टिकजन्य बस्तु नियन्त्रका लागि प्रयास ग¥यो । तर हालसम्म पनि प्लाष्टिकजन्य बस्तु नियन्त्रण हुन नसक्दा वातावरणीय प्रदूषण बढाइरहेको अवस्था छ । प्लाष्टिजन्य बस्तु नियन्त्रणको बिषय नारामा मात्रै सिमित रहने कार्यन्वयन पक्ष कमजोर हुँदा वातावरणीय प्रदूषण गराउने मुख्य तत्व प्लाष्टिकजन्य बस्तु नियन्त्रण हुन सकेको छैन ।
विश्वभरिमा हरेक वर्ष करिव ४ सय बिलियन टन प्लास्टिकहरू उत्पादन हुने गरेको अध्ययानहरुले देखाएको छ । जस मध्ये ५० प्रतिशत प्लास्टिक एक पटक मात्र प्रयोग गर्न मिल्ने तर त्यसको पुर्नउत्पादन गर्न गाह्रो छ । प्लास्टिक प्रदूषणले विश्वलाई आक्रान्त गरिरहेको यस अवस्थामा विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषण विरुद्ध एकजुट हुन आग्रह गरिएको छ ।