गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः कृषि र स्वास्थ्यमा जोड

कृषि र पशुको बिमामा निःशुल्क, १० वर्षका बालबालिकादेखि ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार
कृषि र स्वास्थ्यलाई जोड दिँदै गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले आइतबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि र स्वास्थ्यलाई जोड दिएका हुन् । प्रदेश प्रमुख गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा निःशुल्क कृषि र पशुदेखि १० वर्षका बालबालिकादेखि ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई ओपीडीलगायतका सेवामा निःशुल्क प्रदान गर्ने स्वास्थ्य उपचारसम्मका कार्यक्रम उल्लेख गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा सेवा विस्तार र नागरिकको पहुँच र स्वामित्व बढाएको छ भने मिर्गौला डायलाइसिसको प्रतीक्षामा रहेका बिरामीलाई निःशुल्क डायलाईसिस सेवा विस्तार गरिएको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ । ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ भन्ने अभियानमा बाँदर प्रभावित क्षेत्रमा केन्द्रित गरी दुग्ध र मासुजन्य उत्पादनमा जोड दिने भएको छ । त्यस्तै भूमि बैंकको अवधारणा, उत्पादनमा आधारित अनुदान, एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फार्मको सामुहिक कृषि विकास कार्यक्रम सञ्चालन गरीने भएको छ ।
प्रस्तुत गरिएको उक्त नीति तथा कार्यक्रममा सीपयुक्त जनशक्ति बेरोजगार रहेको र रोजगारदाताको विदेशी श्रमिकलाई काम लगाउने अवस्थाको अन्त्य गरी श्रम र सीपको माग र आपूर्ति सहज बनाउन रोजगार मेलाको आयोजना गरिने भएको छ । भरतपुर क्यान्सर अस्पतालका साथै अन्य सरकारी अस्पतालहरुसँग सम्झौता गरी सबै खालको क्यान्सरको उपचारमा एक लाख रुपैयाँसम्मको थप आर्थिक सहायता प्रदान गरिने भएको छ ।
एलपी ग्याँसलाई प्रतिस्थापन गरी विद्युतीय चुन्हो प्रयोगलाई प्रोत्साहन गर्ने र उज्यालो गण्डकी प्रदेश बनाउन लाग्ने, एक घर एक धारा अभियान आगामी दुई वर्ष भित्र पूरा गर्ने लक्ष्य राखिएको नीति तथा कार्यक्रममा समेटिएको छ । पोखरामा रहेको प्रदेश संग्रहालयमा गण्डकी प्रदेशस्तरिय प्रदेश एकीकृत कला संस्कृति संग्रहालयको रुपमा विकास गरिने भएको छ ।
पोखरामा सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण प्रकृया अघि बढाउने, पोखरामा अन्तर्राष्ट्रिय स्तरको कभर्डहलको प्रकृया अघि बढाउने, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीसहित अन्य व्यक्तिलाई गण्डकी खेलकुद पदक प्रदान गर्ने भएको छ भने एक स्थानीय तह एक खेल मैदान अभियानलाई जोड दिने भएको छ । गण्डकी प्रदेशभित्रै विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार गर्ने नीति अन्र्तगत सुविधासम्पन्न बाल अस्पताल, पोखरामा मुटु रोगसँग सम्बन्धित विशेषज्ञ अस्पताल स्थापना गरिने भएको छ ।
विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम तथा विद्यालय नर्स कार्यक्रम सञ्चालन गरिने, किशोरीहरुको मर्यादित महिनावारी प्रवद्र्धनमा ध्यान दिँदै स्थानीय तहको समन्वयमा प्रदेश भित्रका सबै स्वास्थ्य संस्थामा निःशुल्क स्यानिटरी प्याड वितरणको सुविधा उपलब्ध गराइने भएको छ । गर्भवती, सुत्केरी महिला तथा नवजात शिशुलाई आपत्कालीन स्वास्थ्य अवस्थामा उद्धारका लागि एयर एम्बुलेन्सको व्यवस्था गरिने भएको छ । स्वास्थ्य संस्था बाहिर सुत्केरी हुने दरलाई शुन्यमा झार्दै संस्थागत सत्केरी प्रदेश विशेष अभियान सुरु गरिने भएको छ ।
स्थानीय तहसँगको समन्वयमा ग्रामीण अल्ट्रासाउण्ड सेवालाई विस्तार गरिने भएको छ । १० वर्ष मुनिका बालबालिका तथा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई प्रदेश सरकार मातहतका अस्पताल तथा आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा ओपीडी सेवा र प्रयोगशाला परीक्षणमा निःशुल्क गरिने भएको छ । गण्डकीमा डायलायसिस सेवा, नागरिकको स्वास्थ्यमा टेवा भन्ने अवधारणा अनुसार डायलायसिस सेवालाई झन्झटमुक्त बनाउँदै पालो कुर्नपर्ने अबस्थालाई शुन्यमा झारिने भएको छ ।
कृषि र पशु बीमा कार्यक्रम सञ्चालनमार्फत नागरिकलाई कृषि पेशतर्फ आकर्षण गर्न संघ सरकारबाट दिएको ८० प्रतिशत अनुदानमा प्रदेश सरकारले २० प्रतिशत थप गरी कृषि र पशु बीमालाई निःशुल्क बनाएको छ । साथै जग्गा चक्लाबन्दी, बीउ र मलमा अनुदान जस्ता कार्यक्रम सञ्चालन गरिएको छ । प्रदेश सरकारले विगतमा पनि अघि सारेको उज्यालो गण्डकी प्रदेश कार्यक्रमलाई साकार पार्न साना तथा ठूला जलविद्युत आयोजना निर्माण, बायोग्याँस तथा सौय उर्जा कार्यक्रम र काठेपोल विस्थापन जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
समृद्ध प्रदेश निर्माण गर्न सडक सञ्जाल विस्तार गर्ने उद्देश्यले प्रदेश सदरमुकाम र स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माण, कालोपत्रे गर्ने, प्रदेशका गौरवका योजनाहरुलाई निरन्तरता दिने, कोरला त्रिवेणी सडकमार्फत दुई छिमेकी राष्ट्र र गण्डकी प्रदेशको समृद्धिको आधार निर्माण गर्न सरकार लागि परेको प्रदेश प्रमुख गुरुङले बताए ।