‘योजना कार्यान्वयन प्रभावकारी बनाउनुपर्छ’ «

‘योजना कार्यान्वयन प्रभावकारी बनाउनुपर्छ’

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको छ । बजेटमा सुदूरपश्चिम प्रदेशका रणनीतिक महत्त्वको महाकाली करिडोर, सेती लोकमार्ग, धनगढी–दिपायल द्रुतमार्ग, फप्ला क्रिकेट मैदान, सुक्खा बन्दरगाह, पश्चिम सेती लजविद्युत् आयोजना, सेती नदी ६ जलविद्युत् आयोजना निर्माण, खप्तडमा केबुलकार निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, बडिमालिकामा पर्यटन पूर्वाधार निर्माण गर्ने, गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान र डडेलधुरामा मेडिकल कलेज निर्माणलगायत समेटिएका छन् ।

तर, यी योजना नयाँ नभई पुरानै हुन् । यी योजना विगतदेखि सरकारले नीति तथा कार्यक्रम र बजेटमा समेटिरहेको छ, तर कुनै बजेट अभाव, कुनै वर्ष नीति, ऐन, कानुनलगायतको कारण देखाएर कार्यान्वयन हुँदैनन् । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको निजी क्षेत्रले बजेट समग्रमा ठिकै रहेपनि कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा विगतदेखि नै प्रतिक्रिया दिँदै आएका छन् । उनीहरूले सुदूरपश्चिम प्रदेशको विकासका लागि बजेट कमजोर रहेको बताएका छन् । प्रस्तुत छ, निजी क्षेत्रका अगुवाहरूसँग कारोबारकर्मी मुकेश चौधरीले गरेको कुराकानीको सारः–

लगानीको वातावरण बनेन

पुष्पराज कुँवर
अध्यक्ष, कैलाली उद्योग वाणिज्य संघ

संघीय सरकारको यसपालिको बजेटले पनि निजी क्षेत्रलाई खासै समेटेको छैन । तर, बजेटले धेरै कुरा ल्याएको छ । निर्यातलाई प्रोत्साहन गर्ने भनिएको छ । कृषि उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने कुरा छ । कृषि उत्पादन अनुदान दिने कुरा पनि ठीक छ । बैंक, वित्तीय संस्थाले गर्दा निजी क्षेत्रलाई मार परेको कुरालाई बजेटमा सम्बोधन गरिएको छैन । बेरोजगार युवालाई रोजगारी दिने भनिएको छ । केही अन्तःशुल्क घटाइएको छ । १ सय रुपैयाँमा कम्पनी खोल्न सकिने कुरा छ । तर, यसलाई व्यवहारमा लागू गर्नुपर्छ । विगतका वर्षहरूमा पनि यस्तै–यस्तै कुरा गरिएको थियो ।

तर, कार्यान्वयन भएन । आउँदो वर्ष कत्तिको कार्यान्वयन गर्छन् ? हामी पर्ख र हेरको स्थितिमा छौं । सुदूरपश्चिम प्रदेशको विकासका निम्ति कुनै खास कुरा ल्याइएको छैन । एउटा सुक्खा बन्दरगाहको कुरा गरिएको छ । यसलाई निर्माण गरियो भने यहाँको व्यापार–व्यवसायमा राम्रै हुन्छ । सुदूरपश्चिम प्रदेशमा लगानीको वातावरण बनाउने कुरा आएको छैन । सुदूरपश्चिमको समग्र विकासका लागि बजेट छुट्ट्याइएको भनिएको छ । तर, बजेट यकिन भएको छैन । फाप्ला क्रिकेट मैदान बनाइनेछ भनिएको छ । यसको पनि बजेट कति छुट्ट्याइएको छ भन्ने यकिन छैन । पूर्वाधार बनाउने, उद्योगमा लगानी गर्नेलाई अनुदान दिने भन्ने कुराहरू गरिएको छैन ।

युवा उद्यमीका लागि बजेट सकारात्मक छ

पुष्कर ओझा
अध्यक्ष, नेपाल युवा उद्यमी मञ्च कैलाली

संघीय बजेटमा कतिपय योजना सकारात्मक छन् । खास गरेर युवालाई व्यवसायमा आकर्षित गर्नका लागि युवा उद्यमी वर्ष बनाउने कुरा छ । यो हाम्रो माग पनि थियो । यसलाई हामी सबैभन्दा सकारात्मक रूपमा लिएका छौं । कृषि उत्पादनलाई ब्राण्डिङ गर्ने र त्यसको मार्केटिङ गर्ने कुरा पनि सकारात्मक छ । युवालाई लक्षित गरेर कतिपय योजना ल्याइएको छ । स्टार्टअपमा १ सय रुपैयाँमा पनि कम्पनी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । तर, नेपालका उद्योगहरूको समस्या सम्बोधन हुने गरी बजेट आएको छैन ।

सानादेखि ठूला सबै उद्योग धराशायी अवस्थामा छन् । उद्योगहरूले बैंकको किस्ता, व्याज तिर्न नसकिरहेको अवस्थामा ऋण तिर्ने अवधिलाई थप्ने विषय बजेटमा समेटिएन । मारमा रहेका व्यापारीको समस्या पनि बजेटले सम्बोधन गरेन । समयको हिसाबले बजेट ठीकै छ । तर, कार्यान्वयनको पाटोमा सरकारले कत्तिको काम गर्न सक्छ भने हो । सरकारले गाडी खरिद नगर्ने भनेको छ । नयाँ बिल्डिङहरू नबनाउने कुरा आएको छ । कतिपय यस्ता कुरामा खर्च कटौती गरेको देखिन्छ । तर, ५ करोड संसदीय कोषमा बजेट छुट्ट्याएको छ ।

यसले बजेट दुरुपयोग हुन सक्छ कि भन्ने शंका छ । ल्याएको सबै बजेट कार्यान्वयनमा गयो भने धेरै कुरा सकारात्मक छन् । यसले देशको अर्थतन्त्रलाई उठाउन मद्दत गर्छ । ५० देखि १ सय वाटसम्मका विद्युतीय गाडीमा निश्चित कर लगाएर सहुलियत दिएको थियो, तर आउँदो वर्षदेखि फेरि कर बढाएको छ । यो राम्रो भएन । किनभने देशमा आफ्नै जलविद्युत् खपत होस् भनेर विद्युतीय गाडी ल्याउन प्रोत्साहन गर्नुपर्नेमा भएन । पेट्रोलियम गाडीलाई निरुत्साहन गर्न यसमा फोकस गर्नुपर्ने थियो । कर बढाउनाले पेट्रोल गाडी किने पनि हुन्छ भन्ने सन्देश दिएको छ । यस्तो खालको नकारात्मक कुराहरू पनि बजेटमा छन् ।

सुदूरपश्चिमको अपेक्षा समेटिएन

मायाप्रकाश भट्ट
पर्यटन व्यवसायी

राष्ट्रको आर्थिक अवस्था दयनीय छ । यो अवस्थामा बजेट ठीकै छ । सुदूरपश्चिमलाई बजेटले जुन हिसाबले समेट्छ भन्ने अपेक्षा गरेका थियो, त्यस्तो किसिमको बजेट आएको छैन । सुख्खा बन्दरगाह निर्माण गर्ने बजेट आएको छ । महाकाली करिडोर, सेती लोकमार्ग, धनगढी–दिपायल द्रुतमार्गका लागि बजेट आएको छ, तर ती योजनामा जति बजेट आउनुपर्ने थियो त्यति रकम आएको छैन । सुदूरपश्चिम प्रदेशको पर्यटन विकासमा सहयोग पुर्‍याउने धनगढी विमानस्थल हो । बजेटले विमानस्थल विस्तार गर्ने योजना ल्याएन ।

यो वर्ष कैलाश मानसरोबरको ट्र्याक खुल्छ भन्ने अपेक्षा गरेको थियो । यो पनि सम्बोधन गरिएन । पर्यटन दशक मनाउने भन्ने छ । त्यसका आधारहरू के हुने ? सुदूरपश्चिमका गन्तव्यहरू कुन–कुन हुने भन्ने कुरा छ । तुलनात्मक रूपमा पहिलेको बजेटभन्दा अहिलेको बजेटलाई राम्रो भन्न मिल्दैन । बजेटको आकार घटबढ भएपनि पहिलेदेखि नै बजेट वितरण प्रणाली समानुपातिक रूपमा भएको देखिँदैन । सुदूरपश्चिमलाई संघीय सरकारले बजेट वितरणमा न्याय गरेको छैन । हाम्रो अपेक्षा अरू प्रदेशको तुलनामा केही विशेष बजेट दिनुपर्छ भन्ने थियो ।

पिछडिएको क्षेत्रलाई अगाडि बढाउनका लागि विशेष प्याकेजमा कार्यक्रम ल्याउनुपर्छ । तर, त्यस्तो गरिएन । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि पनि एकात्मक राज्यव्यवस्था जस्तै गरी सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण छ । बजेट सदुपयोग गर्ने प्रणाली झन् दयनिय छ । समयमा काम नगर्ने, असारमा आएर काम गर्ने, असारमै आएर बजेट खर्च गर्ने प्रवृत्तिले विकास हुन सकेको छैन । असारमा टेण्डर आह्वान गरेर मोबिलाइजेसन बजेट लिएर घर बस्ने गरिएको छ ।

काम गरेर पेमेन्ट दिनुभन्दा टेण्डर गरेर एड्भान्स दिएर प्रगति देखाउने चलन सबैभन्दा बढी विकासको बाधक भएको छ । वितरण प्रणालीलाई सुधार गर्नै पर्छ । बजेट समयमा कार्यान्वयन गर्नुपर्छ । सुदूरपश्चिमबाट चीन र भारतसँग रोड, हवाई कनेक्टिभिटी र अन्तर्राष्ट्रिय एयरपोर्ट नभएसम्म सुदूरपश्चिम उँभो लाग्न सक्दैन । यी तीनवटा कुराको विकास भए मात्र पनि सुदूरपश्चिमको विकास सम्भव हुन्छ । यो विषयमा हामीलाई संघीय सरकारले नै हेर्नुपर्छ ।

बजेटमा सुदूरपश्चिमको लबिङ पुगेन

प्रा.डा. राजेन्द्रवीर चन्द
संयोजक, सुदूरपश्चिम आर्थिक सरोकार मञ्च

बजेटमा गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्ने कुरा गरिएको छ । डडेलधुरामा मेडिकल कलेज र आवासीय विद्यालय भनिएको छ । जलविद्युत् क्षेत्रमा पश्चिम सेती र सेती नदी–६ निर्माण गर्ने कुरा गरिएको छ । यिनै कुरालाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्छ । विगतमा बजेट नभएका कारण अधुरा रहेका योजना सम्पन्न गर्नुपर्छ । अहिले आर्थिक अभावले गर्दा धेरै योजनामा बजेट कटौती गरिरहेको छ । विगतमा पनि राजस्व कम उठिरहेको थियो । यसपालि १२ खर्बमात्रै राजस्व संकलन हुने प्रक्षेपण गरिएको छ ।

आन्तरिक आयले प्रशासनिक खर्च धान्न नसक्ने स्थितिमा सरकारका योजना पूर्णरूपमा कार्यान्वयन होलान् भन्ने लागेको छैन । देश विकासमा यो बजेटले टेवा पुर्‍याउँछ भन्ने पनि लाग्दैन । देशको आन्तरिक आम्दानी, देशको सुशासनका कारणले लगानीमैत्री वातावरण बन्न सकिरहेको छैन । दातृ निकायले नेपाललाई विश्वास गर्ने आधार पनि कमजोर हुँदै गएको छ र आफ्नै पनि बजेट सदुपयोग गर्ने सम्भावना पनि कम छ । देशको बजेट कार्यान्वयन गर्ने संयन्त्र पनि कमजोर छ ।

देश आर्थिक संकटको चपेटामा परेको हुनाले बजेट पनि सानो आकारको आएको छ । सुदूरपश्चिममा सुख्खा बन्दरगाह निर्माणको विषय संघले हामीलाई ललिपप दिने कुरा गरेजस्तो मात्रै हो । वर्षौंदेखि बनाउने भनिएको छ तर कार्यान्वयन भइरहेको छैन । यसपालि सुदूरपश्चिमका लागि भनिएको जतिपनि योजना छन्, ती सबै विगतबाट बजेटमा समेटिँदै आएका छन् तर निर्माण हुँदैन । गेटा मेडिकल कलेज विगतदेखि नै पूर्वाधार निर्माण भइरहेको छ ।

निर्माण सम्पन्न हुने चरणमा छ, तर सञ्चालनको मोडालिटी अहिले पनि ल्याइएको छैन । यसले सुदूरपश्चिमलाई आर्थिक हब बनाउनुका साथै सबैमा स्वास्थ्य उपचारको पहुँच पनि पुर्‍याउन सक्छ । यो योजना विगतदेखि बजेटमा पनि समेटिँदै आएको छ, तर कार्यान्वयन भइरहेको छैन । सुदूरपश्चिम प्रदेशको बजेटमा लबिङ पनि पुग्न सकेको छैन । त्यसका कारणले पनि सुदूरपश्चिमले विशेष योजनाहरू पाउन सकिरहेको छैन । सुदूरपश्चिम प्रदेश बजेट माग गर्ने, बजेट पाउने र बजेट कार्यान्वयन गर्ने कुरामा सधैं पछाडि परिरहेको छ । यो वर्ष पनि सुदूरपश्चिमका लागि राम्रो बजेट आएको छैन ।

प्रतिक्रिया दिनुहोस्