ढुवानीमा फेरि भ्याट

प्यान दर्ता गरी सानो आकारको कारोबार देखाएर मासिक करोडाैंको कारोबार हुँदै आएको ढुवानी व्यवसायमा पुनः मूल्य अभिवृद्धि कर (भ्याट) लागु भएको छ । सरकारले ०७६ मा करको दायरा विस्तार गर्दै ढुवानी व्यवसाय भ्याटमा अनिवार्य दर्ता हुनुपर्ने प्रावधान बजेटमार्फत ल्याएकोमा ०७८ को आर्थिक ऐनले त्यसलाई खारेज गरेको थियो । २०८० को आर्थिक ऐनले भ्याट पुनः लागु गरेको हो ।
ढुवानी सेवामा भ्याट लागु गरिएसँगै साना भनिएका व्यवसायीको विरोध र राजनीतिक दबाबमा यो प्रावधान पूर्ण रुपमा लागु हुन सकेको थिएन । आन्तरिक राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी राजुप्रसाद प्याकुरेलका अनुसार खारेज भएको दुई वर्षपछि पुनः ढुवानीमा भ्याट लागु भएको हो । सरकारले ढुवानी सेवाको कारोबारलगायतका विविध पक्षमा अध्ययन गरी भ्याट पुनः लागु गरेको निर्देशक प्याकुरेलले बताए ।
“प्यानमा दर्ता गरी ठूलो परिमाणको ढुवानी कारोबार गर्दा राजस्वमा अर्बौंको क्षति पुगेको बुझेर सरकारले आर्थिक ऐनमार्फत पुनः ढुवानीमा भ्याट लागु गरेको हो । ढुवानी सेवाका सबै कारोबारी भ्याटको दायराभित्र आउनुपर्ने नियम छ,” उनले भने । विभिन्न शुल्क तथा भाडा लिएर मालसामान ढुवानी गर्ने साधनहरु ट्रक, टिपर, ट्यांकर, ढुवानीका काम गर्ने एजेन्ट, ट्रान्सपोर्टर, दलाल, कार्गो तथा पारवहन सेवा तथा ढुवानी सवारीसाधनका व्यवसायीलाई सरकारले भ्याटको दायरामा आउने गरी ऐन बनाएको हो ।
आन्तरिक राजस्व विभागका अनुसार व्यवसायीले कारोबार स्थलसम्म ढुवानी व्यवस्थापन गर्दा प्राप्त हुने सबैखाले सेवा शुल्क र ढुवानी भाडामा भ्याट आकर्षित हुनेछ । ढुवानी कार्यको संयोजन वा ढुवानी गरेबापत तथा आयकर ऐनले तोकेको समयमा ढुवानी व्यवसायीले कर दाखिला गर्नुपर्ने छ । एउटामात्रै ढुवानीको साधन सञ्चालन गरिरहेका व्यवसायीको साधनमा ठूला उद्योगले सामान ढुवानी गरेबापत भाडाको भ्याट बिलबिनै लाखौं रकम टिडिएसमात्रै काटेर भुक्तानी गरिरहेको पाइन्छ ।
चार वर्षअघि ढुवानीमा भ्याट लागु गर्दा ढुवानीकर्तादेखि ठूला व्यवसायीसम्मले विरोध जनाएका ढुवानी व्यवसायीले उद्योगी तथा आयातकर्ताबाट भ्याटबिना नै भाडाको भुक्तानी लिने गरेको र करोडाैं अपचलन भएको बुझेर अहिले उनीहरु पनि चुपचाप बसेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
ढुवानीका साधन भाडामा प्रयोग गर्न दिइए पनि भ्याटमा दर्ता हुनुपर्ने र संलग्न ढुवानी व्यवसायीले समेत मूल्य अभिवृद्धि करबापत विवरण बुझाउनुपर्ने ऐनमा उल्लेख छ । देशभर करिब ५५ हजार मालवाहक ढुवानीका साधन सञ्चालनमा रहेको ट्रक यातायात व्यवसायी महासंघले जनाएको छ । ढुवानी तथा कार्गो पारवहन सेवामा करिब चार हजार एजेन्ट छन्, जसले प्यानमा कारोबार गर्दै आएका छन् ।