अतिरिक्त क्रियाकलापसँग शैक्षिक महोत्सव «

अतिरिक्त क्रियाकलापसँग शैक्षिक महोत्सव

‘शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवर्द्धन, हाम्रो अभियान’ भन्ने मुल नारासहित बेनी नगरपालिका–६ स्थित अथुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ । शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउने उद्देश्यले शैक्षिक महोत्सव गरिएको हो ।

२२ गतेसम्म सञ्चालन हुने शैक्षिक महोत्सवको अवलोकन गर्दै गण्डकी प्रदेश सरकारकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिम्खडाले शैक्षिक महोत्सवले शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवर्द्धन र विद्यार्थीहरुको क्षमता पहिचान गर्नमा सहयोग पुग्ने बताइन् । उनले सरकारी विद्यालयको भौतिकसँगै शैक्षिक गुणस्तर वृद्धि गराउन गण्डकी प्रदेश सरकार जिम्मेवार भएर लाग्ने प्रतिवद्धता जनाइन् ।

त्यस्तै गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारीले विद्यालयमा पढाइसँगै अतिरिक्त क्रियाकलापसँग जोडिएको शैक्षिक महोत्सवले विद्यार्थीहरुको क्षमतालाई उजागर गर्न सहयोग पुग्ने बताए । उनले सरकारी विद्यालयको भौतिक र शैक्षिक गुणस्तरमा सुधार गराउनका लागि तीन तहको सरकारसंग समन्य गरेर व्यवहारिक शिक्षालाई पठनपाठन समावेश गराउन लाग्ने बताए । त्यस्तै विद्यालयका प्रध्यानाध्यापक सोमनाथ ढुंगानाले विद्यालयमा विद्यार्थीहरुले आर्जन गरेको शिक्षालाई व्यवहारमा उतार्न र प्रतिभाको पहिचान गर्न शैक्षिक महोत्सव आयोजना गरिएको बताए ।

चार दिनसम्म सञ्चालन हुने महोत्सवमा विद्यार्थीको क्षमता अनुसार प्रतियोगितामा सहभागिता गराउने उद्देश्यले चित्रकला, वृद्धिचाल, नृत्य, खुल्ला कविता, भजन, मोटिभेसनल कलास, हाजीरजवाफ, वतृत्वकला र विद्यालयस्तरको विज्ञान तथा शैक्षिक सामग्री प्रदर्शनी गरिने विद्यालयले जनाएको छ । महोत्सवमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका विज्ञान प्रविधि र स्थानीय सामग्री प्रदर्शन गरेका छन् । यस विद्यालयले पहिलो शैक्षिक महोत्सव २०७६ सालमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्