जलवायु परिवर्तनले बढ्दै गर्मी «

जलवायु परिवर्तनले बढ्दै गर्मी

यतिबेला अत्यधिक गर्मीका कारण सर्वसाधरणको जनजीवन कष्टकर बन्दै गएको छ । पछिल्लो समय वर्षा हुन नसकेको र तापक्रम बढ्दै जाँदा गर्मी पनि ह्वात्तै बढेको छ ।

मौसमविद्का अनुसार तापक्रम अझै बढ्दै जाने र एक सातासम्म गर्मी अत्यधिक हुने छ । तराईका जिल्लामा यतिबेला ‘लु’ (अत्याधिक तातो दिन) लागेको छ । तराईमा २ वा २ दिनभन्दा बढी ४० डिग्री वा सोभन्दा माथि अधिकतम तामक्रम भए ‘लु’ को अवस्था भनिन्छ । तर पूर्वी तराईका जिल्लामा लगातार ३ दिनदेखि ४० डिग्रीभन्दा बढी तापक्रम भएको देखिन्छ । नवलपुरका तापक्रम ४३ डिग्री सेल्सियस पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार ६ वटा तापक्रम केन्द्रमा ४० देखि ४६ डिग्रीसम्म तापक्रम मापन भएको छ । पहाडी जिल्लाको हकमा भने २ वा २ दिनभन्दा बढी ३५ देखि ४० डिग्री सेल्सियसम्म अधिकतम तामक्रम भए ‘लु’ को अवस्था मानिन्छ । विभागको तथ्यांकअनुसार ३३ वटा तापक्रम मापन केन्द्रमा ३५ देखि ४० डिग्री सेल्सियसम्म तापक्रम पुुगेको छ ।

वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले विगत केही दिनदेखि वर्षा तथा वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय हुँदा देशका अधिकांश स्थानको तापक्रम उल्लेख्य रुपमा वृद्धि भएको बताइन् । “नेपालमा वैशाखदेखि साउनसम्म अन्य महिनाको तुलनामा बढी गर्मी हुने गर्दछ,” उनले भनिन्, “यतिबेला पानी नपर्दा तापक्रम वृद्धि भएको छ, उच्च सतर्कता अपनाउन जरुरी छ ।”

जलवायुु परिवर्तनका कारण आगामी दिनमा तापक्रम वृद्धि हुने र कालान्तरमा पृथ्वीमा सजिव प्राणीकै अस्तित्व नास हुन सक्ने भन्दै विश्वव्यापी चासो र चिन्ताको विषय बन्दै आएको छ । जलवायुु परिवर्तनको असरका कारण तापक्रम वृद्धि हुँदै जाने भन्दै यतिबेला बहसको विषय पनि बनेको छ ।

जलवायुु परिवर्तन विज्ञ मञ्जित ढकालले एल्निनो (जलवायु परिवर्तनका कारण प्रत्येक ५ देखि ७ वर्षसम्म प्रशान्त महासागरको तापमानमा प्राकृतिक रुपमा फेरबदल आउने र तातो हावा बढ्ने, तथा तातो हावा बगेर तामक्रम बढाउने प्रक्रिया) का कारण अत्यधिक गर्मी भएको बताएका छन् ।

“आइपीसीसीको तथ्यांकअनुसार औसत तापक्रम १.२ डिग्री सेल्सियसले बढेको देखाउँछ” उनले भने, “अर्को दशकमा अनुमान गरिएको तापक्रम वृद्धिको समस्या यही दशकमा भोग्नुपर्ने अवस्था आएको छ ।” बढ्दो तापक्रमसँगै सर्वसाधरणको जीवनस्तर कष्टकरण बन्दै जानु, झाडा पखाला, हैजा जस्ता रोग बढ्न सक्नु, काम गर्ने मजदुरलाई असर गर्नु, स्कुल गएका विद्यार्थीमा पनि समस्या आउनु, आवातजावतलगायतका समस्याले जनजीवनमा समस्या आएको छ ।

विभिन्न स्थानमा पानीको मुहान सक्दा, खानेपानी आपूर्ति कम हुन, वन्यजन्तुु तथा पारिस्थितीकीय प्रणालीमा असर पर्दै जाने समस्या आउँछ । वातावरणीय प्रदुुषण बढ्दै जानु, सुक्काका कारण वन डढेलो लाग्ने खतरा जस्ता अन्य समस्याहरु आउन सक्ने विज्ञहरुले बताएका छन् । कृषि विज्ञ डा. डिल्लीराम शर्माले यतिबेला धानको बिउ राख्ने समय भएको र बढ्दो तापक्रम तथा सुक्का कारण कृषकले बिउ राख्न नसकेको बताए ।

विपत व्यवस्थापनविद् डा. धर्मराज उपे्रर्तीले अझै १ साता गर्मी बढ्न सक्ने भन्दै जेठको २२ बाट पश्चिम तराईमा पनि ‘लु’ देखिने र तराइभरी फैलिने भन्दै सतर्कता रहन अनुरोध गरेका छन् । उनका अनुसार समग्र मा हिउँदे वर्षाको तुलनामा प्री मनसुन राम्रो नै भएको छ ।

प्रतिक्रिया दिनुहोस्