पुसदेखि पाइपलाइनबाटै पेट्रोल आयात

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट आउँदो पुसदेखि पेट्रोल आयात हुने भएको छ । पाइपलाइनबाट पेट्रोल आयतपछि नेपाल आयल निगमको इन्धन खर्च र ढुवानी भाडा वापत वार्षिक करिब तीन अर्ब रुपैयाँ बचत हुने भएको छ । पाइपलाइन परियोजनाको दोस्रो चरण अन्तरगत बाराको अमलेखगञ्ज डिपोमा थप चारवटा भण्डारण ट्यांकी आगामी पुस भित्रै निर्माण सकेपछि पाइपलाइनबाट पेट्रोल आयात हुन्छ ।
कुल खपतको करिब ६५ प्रतिशत डिजेल पाइपलाइन मार्फत आयात गरीए पनि भण्डारण अभावमा निगमले पाइपलाइनबाट पेट्रोल आयात गर्न नसकेको निगमको प्रादेशिक डिपो अमलेखगञ्जका प्रमुख विनीतमणि उपाध्यायले बताए । उनले आउदो पुसबाटै पेट्रोल आयात गर्ने उद्देश्यले भण्डारण ट्याकंकीको काम पुसमै सक्ने गरी योजना अनुसारको काम भैरहेको जानकारी गराए । खपतका आधारमा डिजल, पेट्रोल आयात पाइपलाइनबाट नियमित भएपछि निगमले इन्धन खर्च र ढुवानी भाडा वापत वार्षिक करिब तीन अर्ब रुपैयाँको हाराहारीमा रकम जोगाउने अनुमान गरिएको उपाध्यायले बताए ।
पेट्रोल टयांकरबाट आयात गर्दा निगमको इन्धन खर्च र ढुवानी भाडा वापत प्रतिमहिना १० देखी १२ करोड रुपैयाँ खर्च हुने गरेको निगमले जनाएको छ । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना अन्तरगत मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन २०७६ भदौ २४ देखि संचालनमा आएको थियो । पाइपलाइनबाट हाल डिजेल मात्रै आयात गरिदै आएको छ भने पेट्रोल लिनका लागि भारतको बरौनीसम्म नेपाली भाडाका टयांकरहरु निगमले पठाउने गरेको छ ।
बरौनीदेखि अम्लेखगञ्जसम्म पेट्रोल ढुवानी गर्दा प्रतिलिटर पेट्रोलमा ३ रुपैयाँ लाग्ने खर्च पाइपलाइनबाट आउदा प्रतिलिटर ५० पैसा मात्रै खर्च हुने निगमले जनाएको छ । भारतको बरौनी पुगेर एक ट्याकरमा २० हजार लिटर पेट्रोल ल्याउन लागि ४ सय लिटर डिजेल खर्च हुने गर्छ भने नेपाली टयांकरले भारतीय दूतावास, बिहार सरकारको अनुमति, अनेक खाले शुल्कदेखि सवारी कर तिनुपर्छ । प्रत्येक चालकले बरौनी गएबापत दैनिक ५ सय रुपैयाँ भता लिने गर्दछन ।
उक्त खर्च टयांकर धनीले गर्ने र ढुबानी भाडा वापत निगमले निजी टयांकर संचालकलाई भुक्तानी गर्ने नेपाल पेट्रोलीयम टयांकर महासंघले जनाएको छ । अगामी डिसेम्बर २४ देखि सञ्चालन गर्ने गरी निर्माण थालिएको पूर्वाधारको ४० प्रतिशत काम भैसकेको छ । २ अर्ब १४ करोड लगानी रहने उक्त परियोजनको ४ ट्यांकी मध्ये भारतीय आयल निगमले ४१/४१ लाख लिटरको क्षमता भएको २ वटा र नेपाल आयलले ५/५ हजार किलोलिटरको २ वटा ट्यांकी निर्माण गर्नेछ ।
पाइपलाइनबाट प्रतिघण्टा औसतमा २ लाख ५० हजार लिटर डिजेल आउँदा भण्डारण गर्न पर्याप्त ट्याकंकी नहुँदा समस्या बोकेको अमलेखगञ्ज डिपोले हाल देशको २६ जिल्लामा इन्धन आपूर्ती व्यवस्थापन गर्दै आइरहेको छ । ६७ हजार ७ सय २४ वर्गमिटर क्षेत्रफलमा फैलिएको अमलेखगञ्ज डिपोमा १९ हजार ८ सय ४० किलोलिटर डिजेल, तीन हजार चार सय ३० किलोलिटर पेट्रोल, सात सय ६० किलोलिटर मट्टितेल भण्डारण गर्ने क्षमता रहेको छ ।