दक्षिण अफ्रिका पठाउने गिरोह सक्रिय
नक्कली वर्क प्रमिट देखाउँदै युवाबाट लाखौं संकलन

वैदेशिक रोजगारीका नाममा दक्षिण अफ्रिकामा नेपाली युवाको तस्करी हुने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले पछिल्लो समय दक्षिण अफ्रिकामा वैदेशिक रोजगारमा आकर्षक तलब सुविधासहितको पदमा काम लगाइदिने भनि नक्कली वर्क प्रमिट प्रयोग गरेर १५० युवाबाट लाखौ रुपैयाँ संकलन गरेको जनाएको छ ।
विभागका निर्देशक गुरुदत्त सुवेदीले मानव वेचविखन एवं गैरकानूनी आप्रवासनमा संलग्न गिरोहले हालै १५० भन्दा बढी नेपालीहरुवाट लाखौं रकम संकलन गरिरहेको जानकारी प्राप्त भएको बताए छन् । सरकारले वैदेशिक रोजगारीका लागि दक्षिण अफ्रिका जान खुला गरेको भएपनि न्यून मात्र नेपाली जाने गरेको पाइन्छ ।
वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको तथ्यांकमा विगत ५ महिनामा ज्यादै कम नेपालीले मात्रै श्रम स्वीकृति लिएर गएको देखिन्छ । दक्षिण अफ्रिकाको आप्रवासन श्रम कानुनी प्रक्रिया जटिल भएका कारण पछिल्लो समय रोजगारका लागि नेपाली युवा लैजाने गिरोह नै सक्रिय रहेको देखिएको हो । सहज रुपमा दक्षिण अफ्रिका जान प्रक्रिया झन्झटिलो भएका कारण अवैध बाटो गरेर अफ्रिका हुदै अमेरिका पठाउने गरेको समेत पाइएको छ ।
विभागले सूचना सार्वजानिक गदै दक्षिण अफ्रिका जाने तयारीमा रहेका युवालाई सावधानी अपनाउन अनुरोध गरेको छ । दक्षिण अफ्रिकाको सरकारी राजपत्रमा २ अगष्ट २०२२ मा प्रकाशित सूचना अनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने १४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारमा लिने कानूनी व्यवस्था रहेको जनाउदै विदेशी श्रमिकलाई कडाई गरेको थियो ।
त्यस्ता पदमा वैदेशिक रोजगारमा दक्षिण अफ्रिका जाँदा नेपाल सरकारको प्रचलित कानून वमोजिम श्रम स्वीकृति लिएर मात्र जानु पर्नेमा गिरोहले अवैध बाटो प्रयोग गर्ने गरेको देखिएको विभागले जनाएको छ । विभागका निर्देशक सुवेदीले सूचना सार्वजानिक गदै भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा, पर्यटन भ्रमण दक्षिण अफ्रिका आउने प्रयोजनको लागि मात्र भएको हुँदा सो भिसाका आधारमा त्यहाँ रोजगारीजन्य काममा संलग्न हुन नपाईने व्यवस्था गरेको जनाए ।
पर्यटक भिसामा दक्षिण अफ्रिका कुनै पनि किसिमको रोजगारीमा संलग्न हुने कार्य गैरकानूनी भएकाले त्यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई सम्बन्धित दक्षिण अफ्रिकी निकायले पक्राउ गरी कानून बमोजिम दण्ड जरिवाना गर्ने तथा थुनामा राखी देश निकाला गर्ने गरेको छ । दक्षिण अफ्रिकाबाट युरोप, अमेरिका लगायतका देशहरुमा जान सजिलो हुने भ्रममा फैलाएर नेपाली युवाबाट लाखौ रुपैया असुल्ने गरेको पाइएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन तथा ओसारपसारको क्रम बढीरहेको पाइएको छ । वैदेशिक रोजगारका नाम अवैध बाटो भएर जाने मनोरञ्जनका क्षेत्रमा काम गर्ने क्रम बढेको पाइएको छ ।