सय दिनमा पाथीभराको आम्दानी ६६ लाख «

सय दिनमा पाथीभराको आम्दानी ६६ लाख

इलामको रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाख रुपैयाँमाथी रकम भेटी स्वरुप संकलन भएको छ । गाउँपालिकामा नयाँ नेतृत्व आएपछि यसको आम्दानी पारदर्शी गर्न सुरु गरिएसँगै हिसाव सार्वजनिक भएको हो । यहाँ पुरानो समिति रहेको थियो । तर सो समितिको हिसाव अपारदर्शी रहेको भन्दै पटक–पटक आवाज उठ्दै आएको छ । पुरानो हिसावका सम्वन्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको छ ।

नयाँ समिति आएपछि यसको पारदर्शीतामा गाउँपालिका नै लागेको रोङ गाउँपालिकाका अध्यक्ष मणीकुमार स्याङ्बो सुवासले बताए । उनले पाथीभरा मन्दिर व्यवस्थापनको स्वामित्व परिवर्तन भएकोे सय दिनमा ६६ लाख ६१ हजार तीन सय ७८ रुपैयाँ भेटी संकलन भएको बताए । यसले नयाँ समितिलाई काम गर्ने हौसला र पारदर्शीताका लागि चुनौतीसमेत रहेको छ । पाथीभरा मन्दिरको स्वामित्व नयाँ समितिले गएको फागुन महिनाबाट लिएको हो ।

फागुन महिनामा २१ लाख ७० हजार दुई सय रुपैयाँ, चैतमा २० लाख ६४ हजार सात सय र वैशाखमा १८ लाख ८५ हजार रुपैयाँ भेटी संकलन भएको छ । जेठ महिनाको अहिलेसम्मको अवधिमा समेत पाँच लाख रुपैयाँ भन्दा केही बढी रकम जम्मा भएको छ । स्थानीय तह निर्वाचनको पहिलो कार्यकालमै कार्यविधि निर्माण भए पनि कार्यान्वयनमा आउन नसकेको उक्त मन्दिरको स्वामित्व हाल स्थानीय तहले लिएर मन्दिर ब्यवस्थापन समिति परिवर्तन गरेको हो । रकम बढी हुनु ठूलो कुरा नभएपनि जुटेको रकमको पारदर्शीता प्रमुख पाटो रहेको गाउँपालिका अध्यक्ष स्याङ्बोको भनाइ छ ।

पुरानो व्यवस्थापन समितिले गरेको आर्थिक अपारदर्शीताका विषयमा पटक–पटक कुरा उठेपछि गाउँपालिका र सर्वदलीय बैठकले पाथीभरा मन्दिरको पुरानो समितिको हिसाब नियन्त्रणमा लिएर अनुसन्धान गर्न जिल्ला प्रशासनलाई पत्र पठाउने निर्णय गरेको छ । यसअघि पनि सो विषयमा चर्चा चलेको थियो । तर रकम उठाउन सर्बदलिय निर्णय भने भएको थिएन । पाथीभरा क्षेत्र विकास कोष परिचालन तथा व्यवस्थापन कार्यविधि २०७५ अनुसार समिति गठन भए पनि कार्यान्वयन हुन नसकेपछि सो कार्यमा आफूहरु लागेको नयाँ जनप्रतिनिधिहरुको भनाइ छ ।

पुरानो समितिको आयव्यय सार्वजनिक नभएको ५/६ वर्ष भएकोले जनताले तत्काल सार्वजनिक गराउन गाउँपालिकालाई दबाब दिन थालेपछि प्रक्रिया अघि बढेको हो । मन्दिरमा समेत आर्थिक अपारदर्शीता रहने गरेको भन्ने शन्देश बाहिर गएपछि धर्ममा समेत विश्वास घट्ने भएपछि गाउँपालिकाले नयाँ कदम चालेको हो । पालिका स्थित राजनीतिक दल र पालिकाले जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा पुरानो समितिको विवरण सार्वजनिक गराउने प्रयास स्वरुप जेठ १४ मा सार्वजनिक सुनवाइ तोकेको थियो । तर उक्त कार्यक्रम हुन सकेन ।

लेखा परीक्षकले समयमा सबै कागजात प्राप्त गर्न नसकेको कारण प्रतिवेदन तयार हुन नसकेको जानकारी दिएको पालिकाले जनाएको छ । तर मन्दिरको पुरानो समितिले जेठ ३२ गते सार्वजनिक सुनुवाइ गर्ने कार्यक्रम राखेको छ । इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले पालिकाले पठाएको पत्रका आधारमा पुराने समितिलाई समय तोकेरै साधारण सभा गर्न लगाउने र संस्थाको अडिट रिपोट हेरेपछि फरक परेमा कानुनी प्रक्रिया अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्