गाउँमा खानेपानी आएपछि बजार बन्यो बस्ती

छेडागाड नगरपालिका–२ सुयाडाका मनबहादुर विक फलामको काम गर्छन् । फलामको काम गरेवापत उनलाई त्यहाँका सर्वसाधारणले दिएको अन्नबाट दैनिक जीविका चलाउने गर्दछन् । विकको घर आंगनमै अहिले २४ घण्टा पानीको धारा आउने गर्दछ ।
पानी बोक्दै हैरान हुने विकको श्रीमती पानसरी विक पानीको धारा घरमै आएपछि समय बचत भएको भन्दै श्रीमान्सँग फलामको काममा सघाउने गरेको बताउँछिन् । उनीजस्तै सुयाडाका राजेन्द्र थापा पानीको अभावमा बसाइँ नै सर्ने योजनामा रहेको पीडा सुनाउँदै अब घरमै पानी आएपछि बसाइँ सर्ने काम दिमागबाट हटेको बताए ।
अहिले उनले पानीको सुविधा पाएसँगै घरमा होटल चलाएर आम्दानीको स्रोत बनेको बताउँछन् । मध्यपहाडी लोकमार्गको बीचमा पर्ने सुयाडा गाउँ अहिले पानीको सुविधा पाएसँगै बजारमा परिणत भएको छ । धार्मिक पर्यटनका साथै दुई जिल्लाको सिमाना रहेको अग्लो डाँडाबाट धेरै ठाउँमा देखिने गर्दछ । मध्यपहाडी लोकमार्गको पिच सडकले छोएका कारण विस्तारै बजारीकरण भएको छ ।
पानीको अभावमा सर्वसाधारणले सुयाडा छाड्नेसम्मको अवस्था आएपछि दुई वर्षअघि लिफ्टमार्फत् सोलार सिस्टमबाट तीन किलोमिटर तलबाट सुयाडामा पानी पुर्याएको थियो । अहिले १५० घरधुरी यही लिफ्टमार्फत् आएको पानी प्रयोग गरिरहेका छन् । कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयअन्तर्गत खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जाजरकोटको ६९ लाख ६६ हजार ४७२ मा लिफ्ट खानेपानी आयोजना निर्माण भएको थियो ।
सुयाडाको पर्यटकीय क्षेत्र अवलोकनका लागि दुई वर्षअघि खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाही पुग्दा त्यहाँका सर्वसाधारणले खानेपानी समस्या हुँदा बस्ती नै सार्नुपरेको र पानी बोक्दा अन्य कुनै पनि काम हुन नसकेको पीडा सुनाएपछि तत्काल लिफ्ट सिँचाइ योजनाको काम अगाडि बढाउन पहल थालिएको स्थानीयबासी नरेन्द्र थापाले बताए । अहिले सुयाडामा बस्ती बाक्लो हुँदै जानुका साथै बजारीकरणसमेत भएको छ ।
पानी पाएपछि बनेको बजार र यहाँ बसाइँ सरेका सर्वसाधारणले आर्थिक रूपमा समेत राम्रो आम्दानी गरेको थापाले बताए ।पानीे बोक्दाबोक्दा हैरानी भएको पीडा सुनाउँदै स्थानीयबासी काली थापाले भनिन्, “पानीकै समस्याले गर्दा यहाँ छोरी दिने र लिनेसम्मकै समस्या उत्पन्न हुन लागेको थियो । पानी नपाउने ठाउँ भन्दै बेइजती हुँदै आएको थियो । बिहानै पानी लिन गएको दिउँसो आउनुपथ्र्यो । उकालोमा पानी बोक्दा सबैभन्दा ठूलो दुःख यही हो झैं लाग्ने गरेको थियो, अहिले घरमै पानी आउँछ ।”
पानी बिनाको जीवन कल्पना पनि गर्न सकिँदैन, अब पानी आयो हाम्रो सबै गतिविधि अगाडि बढ्छ स्थानीयबासी नैना थापाले बताइन् । सुयाडामा पानी आए पनि अब सही रूपमा सदुपयोग गरी बढ्दो जनसंख्यालाई धान्न सक्ने अवस्थालाई मध्यनजर गरी अगाडि बढे दिगोपनालाई सघाउ पुर्याउने छ ।