म्याग्दीका पालिकामा २ अर्ब १२ करोड ६२ लाख बजेट «

म्याग्दीका पालिकामा २ अर्ब १२ करोड ६२ लाख बजेट

म्याग्दीका ६ स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा एक नगरपालिकासहित ६ पालिका रहेको म्याग्दीलाई सो बजेट विनियोजन गरेका हुन् ।

अर्थ मन्त्रालयले अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत म्याग्दीका पालिकालाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान शीर्षकबाट सो बजेट अनुदान उपलब्ध गराएको हो । पालिकातर्फ आएको कुल बजेटमा चालुतर्फ एक अर्ब ८४ लाख ६७ हजार रुपैयाँ बजेट रहेको छ भने पुँजीगततर्फ २७ करोड ९५ लाख बजेट रहेको छ ।

संघीय सरकारले हिमाली जिल्ला म्याग्दीअन्तर्गत रहेको बेनी नगरपालिकालाई ५० करोड ७४ लाख, अन्नपूर्ण गाउँपालिकालाई ३४ करोड ८३ लाख, धवलागिरि गाउँपालिकालाई ३१ करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी मंगला गाउँपालिकालाई ३३ करोड ४८ लाख, मालिका गाउँपालिकालाई ३१ करोड ६६ लाख र रघुगंगा गाउँपालिकालाई ३० करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

अघिल्लो आर्थिक वर्षभन्दा बेनीनगर, मालिका र रघुगंगामा बजेट घटेको छ भने अन्नपूर्ण, धवलागिरि र मंगलामा बजेट बढेको छ । म्याग्दीमा २०७९/०८० मा २ अर्ब ११ करोड ६१ लाख, २०७८/७९ मा २ अर्ब ६९ लाख र २०७७/७८ मा १ अर्ब ७७ करोड रुपैयाँ बजेट संघीय सरकारले म्याग्दीका स्थानीय तहलाई विनियोजन गरेको देखिन्छ । विकास बजेट राम्रोसँग कार्यान्वयन गर्न नसक्दा पालिकाले प्राप्त गर्ने अनुदान बढ्न सकेको छैन ।

स्थानीय तहको बजेट जनप्रतिनिधि र कर्मचारीको तलब र सेवा सुविधामात्र देखिन्छ । जनताको मागअनुसार काम गर्ने पुँजीगततर्फ न्यून बजेट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्