राज ब्रुअरीको सोलार रुफटप परियोजना राष्ट्रिय ग्रिडमा जडान

बडवाइजर बियरको उत्पादक राज ब्रुअरी र सिम्पल इनर्जीले नवलपरासीस्थित राज ब्रुअरीमा सोलार रूफटप प्रोजेक्टको संयुक्त उद्घाटन गरेका छन् । यो परियोजना राष्ट्रिय ग्रिडमा जडान गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो रूफटप सोलार परियोजना हो ।
त्यसका साथै यो नेपालको ब्रुअरी उद्योगमा पनि पहिलो सोलार परियोजना हो । राज ब्रुअरीले सोलारबाट उत्पादन भएको उर्जाले आफ्नो कारखाना सञ्चालन गर्नेछ भने अतिरिक्त उर्जा राष्ट्रिय ग्रिडबाट वितरण हुनेछ । प्राइभेट इन्फास्ट्रक्चर डेभलपमेन्ट ग्रुप (पीआईडीजी) कम्पनी इन्फ्राको एशिया र सरल उर्जा नेपाल (सन) को संयुक्त लगानीमा सिम्पल इनर्जीले रुफटप सोलार सिस्टमको डिजाइन, स्थापना र सञ्चालन गरेको हो ।
उक्त ५०० किलोवाटको सोलार परियोजनाले वार्षिक लगभग ८४४ मेगावाट आवर स्वच्छ उर्जा उत्पादन गर्दछ । नेपालको स्थापित विद्युत उत्पादन क्षमता लगभग २,७०० मेगावाट रहेको छ । जसमा ९६ प्रतिशत जलविद्युत हो । देशको ऊर्जा विविधीकरणमा योगदान दिनुका साथै, राज ब्रुअरीको सोलार रूफटप स्थापनाले बिजुली कटौतीको समयमा डिजेल खपत कम गर्न र सुख्खा मौसममा विद्युत कटौतीको प्रभावलाई कम गर्न मद्दत गर्नेछ ।