सिप्रदीयन सहायता संस्थाको सम्मान
सिप्रदीयन सहायता संस्थाले हालै सम्पन्न तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन २०२३ का विजेताहरूलाई सम्मान गरेको छ ।सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्व संस्था सिप्रदीयन सहायता संस्थाले म्याराथनका विजेताहरू धाविका मञ्जु रावत र धावक दल बहादुर कुँवरलाई एक कार्यक्रम माझ सम्मान स्वरुप नगद पुरस्कार हस्तान्तरण गरेको हो ।
म्याराथनमा महिलातर्फ प्रथम हुन सफल भएकी धाविका मञ्जु रावतलाई सम्मान स्वरुप ७५ हजार रुपैयाँ प्रदान गरिएको थियो भने पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्न सफल भएका दल बहादुर कुँवरलाई ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।कार्यक्रममा सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहल, उपाध्यक्ष राजन बावु श्रेष्ठ, महासचिव राजेश प्रसाद गिरी र कोषाध्यक्ष सौरभ राज थापालियाले विजेतालाई बधाई दिँदै नगद पुरस्कार प्रदान गरेका थिए ।
खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको क्षमता वृद्धि गर्ने उद्देश्यले सिप्रदीयन सहायता संस्थाले विजेताहरू आबद्ध रहेको कर्णाली स्पोर्टस क्लबसँग विगत २ वर्षदेखि सहकार्य गर्दै आएको छ । कम्पनीले अल्ट्रा म्याराथन दौड तालिमका लागि जेहिन्दर र मेहनती खेलाडीहरू छनोट गरी प्रशिक्षणका लागि आवश्यक सामग्री तथा पौष्टिक आहारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै आएको बताएको छ ।