Logo

तनहुँका पालिकाको खाना–खाजामा चार करोड

तनहुँका स्थानीय तहले एक वर्षको अवधिमा खाना तथा खाजामा चार करोडभन्दा बढी बजेट खर्च गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका १० स्थानीय तहले खाना, खाजा तथा अतिथि सत्कारमा चार करोड २३ लाख २४ हजार खर्च गरेका हुन् ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार चार नगरपालिकाले दुई करोड ९६ लाख १० हजार र ६ गाउँपालिकाले एक करोड २७ लाख १४ हजार खर्च गरेका छन् । देवघाट गाउँपालिकामा १८ लाख २७ हजार, ऋषिङ गाउँपालिकामा १३ लाख ४४ हजार, घिरिङ गाउँपालिकामा ६ लाख ६१ हजार, आँबुखैरेनी गाउँपालिकामा २५ लाख ६२ हजार, म्याग्दे गाउँपालिका २१ लाख ९७ हजार, बन्दीपुर गाउँपालिकामा ४१ लाख २३ हजार खर्च भएको छ ।

यस्तै, भानु नगरपालिकामा ९४ लाख ७५ हजार, व्यास नगरपालिकामा एक करोड ११ लाख ४ हजार, भिमाद नगरपालिकामा २० लाख ९३ हजार र शुक्लागण्डकी नगरपालिकामा ६९ लाख ३८ हजार खर्च भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ मा सरकारी रकम खर्च गर्दा सो खर्चलाई पुष्टि हुने कागजात पेश गर्नुपर्नेमा तनहुँका स्थानीय तहले जथाभावी रुपमा खाना तथा खाजामा उक्त रकम खर्च गरेको भेटिएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८/७९ मा स्थानीय तहले खाना, खाजा तथा अतिथि सत्कारका लागि गरेको यो खर्च स्पष्ट प्रयोजन र आधार नखुलाई खर्च गरेको भेटिएको छ । पालिकाले यसरी हुने खर्चमा नियन्त्रण गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । सरकारले जारी गरेको सार्वजनिक खर्चमा मितव्ययिता कायमसम्बन्धी मापदण्ड २०७७ को दफा ३ मा सार्वजनिक निकाय तथा सार्वजनिक पद धारण गरेको व्यक्तिले सरकारी कामको सिलसिलामा खर्च गर्दा कार्यालय सामान, मसलन्द, पानी, बिजुली, इन्धन विविध खर्च लगायतमा मितव्यय कायम गर्नुपर्ने प्रावधान छ ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले अघिल्लो आर्थिक वर्ष खाना–खाजामा धेरै रकम खर्च भए पनि चालु आर्थिक वर्षमा त्यसलाई कटौती गरिएको जानकारी दिए । चालु आव २०७९/८० का लागि गाउँपालिकाले बन्दीपुर अस्पतालका बिरामीका लागि समेत गरी १५ लाख विनियोजन गरेकोमा ११ लाख ८३ हजार खर्च भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्