सुजुकी मोटरको नाफा बढ्यो

गत वर्षको तेस्रो त्रैमासिक अवधिमा सञ्चालन नाफमा ६८ प्रतिशतको वृद्धि भएको सुजुकी मोटरले जनाएको छ । भारतमा अटोमोबाइल र मोटरसाइकलको बिक्रीमा भएको वृद्धिले नाफा बढाएको कम्पनीले जनाएको छ । सुजुकी मोटरका लागि भारत विश्वकै ठूलो बजार हो । भारतमा मात्रै नभएर सुजुकीको बिक्री युरोप र जापानमा पनि वृद्धि भएको छ ।
अक्टुबरदेखि डिसेम्बरसम्मको त्रैमासिक अवधिमा जापानकै चौथो ठूलो अटो निर्माताको सञ्चालन नाफा ८६.९ अर्ब येन कायम भएको छ । यो अघिल्लो वर्षको समान अवधिमा कायम भएको ५१.८५ अर्ब येनको तुनलनामा बढी हो ।
सुजुकीले पूरै वर्षको सञ्चालन नाफा ३ सय अर्ब येनसम्म हुने प्रक्षेपण गरेको छ । यो वार्षिक मापनका आधारमा ३३.३ प्रतिशतले बढी हो । यो नाफा अमेरिकी डलरसँग येनको विनिमय दर १ सय ११ र भारतीय रुपैयाँसँग १.७० येनलाई आधार मानेर तय गरिएको हो ।
अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा विश्वव्यापी अटोमोबाइलको बिक्रीमा ९.३ प्रतिशतको वृद्धि भएको कम्पनीले जनाएको छ । भारत, युरोप र जापानको मागमा लगातार वृद्धि भएकाले बिक्री पनि बढेको कम्पनीले जनाएको छ ।
उक्त त्रैमासिक अवधिमा कम्पनीले उत्पादन गरेका मोटरसाइकलको बिक्रीमा पनि १४.२ प्रतिशतकामे वृद्धि भएको छ । यो वृद्धिमा विशेष गरी भारत, चीन र अन्य एसियाली राष्ट्रको मागमा देखिएको मजबुत अवस्थाले सहयोग गरेको छ ।
मारुती–सुजुकीमा बहुमत सेयरका साथ जापानी अटोनिर्माताले भारतीय बजारमा आफ्नो नेतृत्व कायम गर्न सफल भएको छ । मारुती सुजुकी भारतकै ठूलो अटो निर्माता हो ।