अस्पताललाई १० प्रतिशत निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् । आज गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा उनले कूल शय्याको १० प्रतिशत गरिब, असाहय, विपन्न बिरामीलाई निःशुल्क उपचार सेवाको व्यवस्था गर्न निर्देशन दिए ।
उनले १० प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पताललाई कानूनअनुसार कारबाही गर्ने बताए । “जुन जुन अस्पतालले १० प्रतिशत निःशुल्क उपचारको व्यवस्था गरेको छैन । ती अस्पताललाई कानूनअनुसार कारबाही गर्दछौं”, उनले भने, “जनताले पाउने त्यो अधिकार दिलाएर नै छाड्छौं ।” मन्त्रालयले पनि अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याई उपचार गर्न दुई पटक निर्देशन दिँदै पत्राचार गरिसकेको छ ।
मन्त्री बस्नेतले ठूला मानिस मन्त्री, सांसदले भनेपछि अस्पतालमा शय्या पाउने परम्परालाई तोड्दै विपन्न गरिब सबैले अस्पतालमा भनेको बेला शय्या पाउने बताए । बिरामीले उपचार गर्दा शय्या नपाइने अवस्था रहेको भन्दै उनले अस्पतालमा रहेका शय्या सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटर कति खाली रहेको छ भन्ने कुरा वेबसाइटमा राख्न निर्देशन दिएको बताए ।
मन्त्री बस्नेतले अस्पतालले स्वास्थ्य उपकरण खरिद प्रक्रियामा जोड दिएको पाइएको भन्दै उनले नचलेको उपकरणलाई मर्मत सम्भार गरेर चलाउन निर्देशन दिएको बताए । उनले निजी अस्पतालको उपचार सेवाको शुल्क फरक रहेकाले एकरूपता कायम गर्ने बताए । “अस्पतालले कति सेवा शुल्क लिन पाउने हो । अहिलेको अवस्था हेरेर विज्ञको सल्लाहमा निजी अस्पतालको सेवा शुल्कमा एकरूपता कायम गर्नेछौं”, उनले भने, “सुविधा राम्रो दिएको छ भने फरक पर्दैन । तर सुविधा नदिइकन धेरै शुल्क लिएको छ भने एकरूपता ल्याउछौँ ।”
मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थको लाग्ने कर बढाउन आफूले पहल गर्ने बताए । गङ्गालाल अस्पतालका निर्देशक डा चन्द्रमणि अधिकारीले अस्पतालले दिने सेवा सुविधाबारे मन्त्री बस्नेतलाई जानकारी गराएका थिए ।