बजेटको उपेक्षामा रारा सडक र कर्णाली प्रतिष्ठान

मुगुस्थित रारा ताल नेपालकै आकर्षक पर्यटकीय गन्तव्य हो । नेपालकै सबैभन्दा ठूलो प्राकृतिक रारा ताल बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा छ । तर पर्यटकीय पूर्वाधार अभावले पछिल्लो वर्षमा रारामा आउने पर्यटकको संख्या घट्दै गएको पाइन्छ । रारा जाने मुख्य पर्यटकीय मार्ग नाग्म–गमगडी सडक हो ।
करिब एक दशक पहिलादेखि सञ्चालनमा आएको उक्त सडक स्तरवृद्धि नहुँदा हिउँदमा हिलाम्य र बर्खामा धुलाम्य हुने गरेको छ । जसका कारण रारा आउने पर्यटकले सास्ती पाउने र सडककै कारण देखाउँदै फेरि फर्केर रारा नआउने गरेका छन् । नाग्म–गमगडी सडकको दुरावस्थाको प्रत्यक्ष असर रारा तालको पर्यटन प्रवर्द्धनमा देखिएको छ । सडक स्तरवृद्धि नहुँदा रारा आउने पर्यटकमात्र घटेका छैनन्, दुर्घटनाको जोखिमसमेत बढेको छ ।
मुलुककै ठूलो रारा ताल पर्यटकको रोजाइमा परे पनि त्यहाँ पर्यटक बढाउन आवश्यक पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा परेको छैन । सोमबार सार्वजनिक संघीय सरकारको बजेटमै रारा जाने नाग्म–गमगडी सडक उपेक्षामा परेको छ । रारा ताल जाने एकमात्र पर्यटकीय मार्ग नाग्म–गमगडी सडक संघीय बजेटको प्राथमिकतामा पर्ने आशा थियो ।
सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल भन्छन्, “बजेटमा रारा जाने सडकलाई उपेक्षा गरेको पाइयो । एकातिर पर्यटक बढाउने लक्ष्य लिने अर्कोतिर पर्यटकीय पूर्वाधार निर्माण बेवास्ता गर्ने सरकारको दोधारे चरित्रले कर्णाली पछि परेको हो । तत्काल जुम्ली सांसदले अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुपर्छ ।” सोमबार सार्वजानिक संघिय सरकारको बजेट बक्तव्यको बुदाँ नं. १८० मा स्न २०२३–२०३२ लाई पर्यटन दशक मनाउने र २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पुराउने उल्लेख छ ।
१० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सरकारले सबैभन्दा बढी पर्यटक आवतजावत गर्ने नाग्म–गमगडी सडकलाई बेवास्ता गर्नु साविक कर्णालीका लागि दुःखद पक्ष भएको अध्यक्ष धितालको भनाइ छ । त्यस्तै मृत्युमार्गका रूपमा परिचित कर्णाली राजमार्ग स्तरवृद्धिका लागि पनि ठोस बजेट विनियोजन भएको छैन । स्तरवृद्धि गरिने उल्लेख भए पनि ठोस अंकमा बजेट नहुँदा राजमार्ग स्तरवृद्धि पनि सरकारको प्राथमिकतामा नपरेको हो ।
कर्णाली प्रतिष्ठान अहिले पनि उपेक्षामा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पश्चिम नेपालकै स्वास्थ्य क्षेत्रको भरोसा बन्दै गएको छ । २०६८ सालमा स्थापना भएको प्रतिष्ठानले बितेको एक दशकमा कर्णालीलाई स्वास्थ्य, शिक्षा र अनुसन्धानमा अब्बलता मात्रै देखाएको छैन । विगतमा उपचार नपाएर मृत्युवरण गर्ने कर्णाली अहिले डाक्टर उत्पादन गर्न सक्षम छ भन्ने गतिलो सन्देश पनि दिएको छ । तर संघीय सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई वर्षेनी बजेटमा उपेक्षा गर्दै आएको छ ।
दुर्गम कर्णालीका दुरदराजमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याई राज्यको अनुभूति दिलाएको प्रतिष्ठानलाई सरकारले सौतेनी व्यवहार गर्दै आएको जुम्ला बहुमुखी क्याम्पसका स्ववियु सभापति महेन्द्र हमाल बताउँछन् । उनी भन्छन्, “कर्णाली प्रतिष्ठानले पश्चिम नेपालकै स्वास्थ्य भरोसा केन्द्र बनिरहँदा यसको वृद्धि विकास सरकारको प्राथमिकतामा पर्नुपर्ने हो । तर कर्णाली प्रतिष्ठानलाई बजेट दिनुको सट्टा सुर्खेतमा पनि मेडिकल कलेज स्थापना गरिने सरकारको नीतिले कर्णाली प्रतिष्ठानलाई कमजोर बनाउने षड्यन्त्र हो । यसमा सबै सचेत हुनुपर्छ ।”
यद्यपि बजेट वक्तव्यको बुँदां नं. २४३ मा कर्णाली प्रतिष्ठानअन्तर्गत दैलेखको राकममा एक सय शैयाको स्याटेलाइट अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइने उल्लेख छ । तर बजेट छैन । एमबीबीएस, एमडी, एमडीजीपीलगायत करिब एक दर्जन बढी कार्यक्रम सञ्चालन गरिरहेको कर्णाली प्रतिष्ठान अहिले पनि भाडाकै घरमा चल्न बाध्य छ । प्रतिष्ठानका शैक्षिक तथा प्रशासनिक ३६ वटा निर्माणाधीन भवन बजेट अभावले अलपत्र अवस्थामा छन् ।
समस्याका बीच पनि कर्णालीसहित १३ जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा दिइरहेको छ । तर संघीय सरकारले विगतको जस्तै आगामी आवको बजेट पनि कर्णाली प्रतिष्ठानलाई उपेक्षा गरेको प्रति कर्णालीबासी रुष्ट भएका छन् । साथै कर्णाली प्रदेशका तीन दर्जन योजना बजेटमा समेटिए पनि अंकमा बजेट भने छुट्याएको छैन । पुरानै योजनालाई निरन्तरता दिए पनि विगतकै योजना निर्माणअघि नबढ्दा कर्णालीबासी नयाँ योजनाअघि बढ्नेमा ढुक्क छैनन् ।