५० अतिरिक्त हुलाक कार्यालय खारेजी हुने «

५० अतिरिक्त हुलाक कार्यालय खारेजी हुने

सरकारले हुलाक सेवालाई पुनःसंरचना गर्ने घोषणा गरेसँगै लमजुङका ५० वटा अतिरिक्त हुलाक कार्यालय खारेजी हुने भएका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेक्रममा सरकारले एक स्थानीय तह एक हुलाक कार्यालय नयाँ योजना कार्यान्वयन गर्ने घोषणा गरेको हो । सरकारले गरेको घोषणासँगै जिल्लाका ५० वटा अतिरिक्त हुलाक कार्यालय खारेजी हुने भएका हुन् ।

साविक ६१ गाविसमध्ये ५० वटा गाविसमा रहेका अतिरिक्त हुलाक कार्यालय खारेजी हुने जिल्ला हुलाक कार्यालय लमजुङका प्रमुख गंगाबहादुर घलेले बताए । अतिरिक्त हुलाक खारेजीसँगै जिल्लाका तीनवटा इलाका हुलाक कार्यालय पनि घट्ने भएको छ । कार्यालय प्रमुख घलेका अनुसार सरकारले एक स्थानीय तह एक हुलाक कार्यालय योजना ल्याएकाले साविकका तीनवटा इलाका हुलाक कार्यलय हटाइने भएको हो ।

सदरमुकाम बेसीसहरमा जिल्ला हुलाक कार्यलय रहेको र यसअघि सुन्दरबजार नगरपालिका र क्होलासोँथार गाउँपालिकामा रहेका एक/एक इलाका हुलाक कार्यालय हटाइने भएको हो । यसअघि सुन्दरबजार र क्होलासोँथारमा दुई/दुईवटा इलाका हुलाक कार्यालय रहेका थिए । अतिरिक्त हुलाक कार्यालय खारेज भएसँगै जिल्लामा कार्यरत डेढ सय बढी कर्मचारी पनि बिदाई हुने भएका छन् । अतिरिक्त हुलाक कार्यालयमा करारमा कार्यरत १५८ जना कर्मचारीको बिदाई हुने भएको हो ।

सरकारले अतिरिक्त हुलाक कार्यालयमा कार्यरत करार कर्मचारीलाई उचित सेवा सुविधा दिई बिदाई गर्ने जनाएको छ । झण्डै एक दशक अघिसम्म लोकप्रिय र प्रभावकारी सञ्चारको रूपमा रहेको हुलाक सेवा सूचना प्रविधिको विकाससँगै विस्थापितजस्तै भएको छ । हुलाक सेवालाई प्रविधिसँग जोडेर सेवा प्रवाह गर्नुपर्नेमा सरोकारवालाले आवाज उठाउँदै आएका थिए । पछिल्लो समय हुलाक सेवा लिनेको संख्या उल्लेख्य मात्रामा घट्दै गएको छ ।

हुलाक सेवालाई छिटो, स्तरीय, भरपर्दो र विश्वसनीय सेवा प्रदान गरी सेवाग्राहीलाई सन्तुष्ट बनाउन आवश्यक रहेको सरोकारवालाको धारणा छ । सरकारले अतिरिक्त हुलाक कार्यालयसँगै हुलाक बचत बैंक खारेजी गर्ने घोषणा गरेको हो । अतिरिक्त हुलाक कार्यालयल खारेज गरी कार्यरत कर्मचारीलाई सुविधासहित अवकास दिइने र हाल सञ्चालनमा रहेका हुलाक बचत बैंकका खातालाई क वर्गका सरकारी बैंकमा स्थानान्तरण गर्ने सरकारले सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्