भ्रष्टाचारमा ६ जनाविरुद्ध मुद्दा दायर

जुम्लामा पर्यटकीय मार्ग उद्यान निर्माणका नाममा आर्थिक भ्रष्टाचार गर्ने ६ जनाविरुद्ध मुद्दा दायर भएको छ । जुम्लाको तिला गाउँपालिका–१ स्थित नाग्मको हिमा नदी र तिला नदीको दोसाँधमा पार्क उद्यान निर्माणमा आर्थिक भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
तिला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली (सार्की), इन्जिनियर जनक रोकाया र सबइन्जिनियर प्रेमबहादुर बस्नेतविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको हो । त्यसैगरी अख्तियारले नाग्मा पार्क तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दबहादुर बुढा, सचिव अर्जुन बुढा र कोषाध्यक्ष दिलधरा दमाईंविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
प्राविधिकसँगको मिलेमतोमा कम काम गरेर कार्य सम्पादन मूल्यांकन पूरा भएको प्रतिवेदन देखाई उपभोक्ता समिति र प्राविधिकको सहमतिमा बिल भर्पाइ बनाई सरकारी रकमको चरम दुरुपयोग गरेको अख्तियारले ठहर गरेको छ । अहिले काम अलपत्र अवस्थामा छ । अख्यितारको रिपोर्टअनुसार कामै नभएको ठाउँमा काम सम्पन्न भएको झुटो प्रतिवेदन तथा बिल भर्पाई बनाई राज्यकोषको भ्रष्टाचार गरेका हुन् ।
अख्तियारका अनुसार नाग्मापार्क उद्यान निर्माण योजना स्वीकृत भएको लागतअनुसार काम भएको छैन । स्थलगत नापजाँच गर्ने क्रममा थोरै काम गरेको भएता पनि बढी काम भएको प्राविधिक मूल्यांकनसहितको नापी किताब तयार पारी कार्य सम्पन्न प्रतिवेदन बुझाई सोहीबमोजिम भुक्तानी भएको पाइएको छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सार्कीसहित रोकाय र बस्नेतविरुद्ध पाँच लाख ४५ हजार ४१९ रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना असुलउपर गर्न माग दाबी गरिएको अख्तियारका प्रवक्ता भोाला दाहालले बताए । उनका अनुसार उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षविरुद्ध पनि पाँच लाख ४५ हजार ४१९ रुपैयाँ बिगो कायम गरी सजाय र बिगोबमोजिम जरिवाना माग दाबी गरिएको छ ।