पथलैया–ढल्केबर चार लेन बन्दै

तत्कालीन सोभियत संघको सहयोगमा २०२१ सालमा निर्माण भएको राष्ट्रिय राजमार्ग अन्तरगत दुई लेनको पथलैया-ढल्केबार सडक खण्ड चारलेनमा स्तरवृद्धि हुने भएको छ । सडक विभाग विकाश सहायता कार्यान्वयन महाशाखाले यसै साता पथलैया, निजगढ लगाएतका स्थानमा गरेको सार्वजानीक सुनुवाइमा पथलैया-ढल्केबार सडक खण्ड चार लेनमा स्तरवृद्धि हुने जनाइएको हो ।
एक सय तीस किलोमीटर लम्बाई रहेको उक्त सडक खण्डमा पूर्वपश्चिम राजमार्गका अन्य खण्डमाजस्तै मिडियन ‘डिभाइडर संरचना’को दुईतर्फ ७–७ मिटरको दुई–दुई सडक बन्नेछ । एउटा लेन ३.५ मिटरको हुनेछ । ‘मिडियन’ मा ग्रिनरी बेल्ट तयार गरेर रुख विरुवा र फूल रोपिनेछ । दायाँ–बायाँ साँढे २ मिटरको अतिरिक्त पिच गर्ने योजना रहेको कार्यक्रममा बताइएको थियो । उक्त सडकमा गुडदै गरेको सवारी बिग्रिएमा समयको लागि पाकिङ गर्न सक्ने, चार लेनमा २ लेन एकतर्पिm आउने र २ लेन जाने गरी डिजाइन गरिएको विभागका इन्जिनियर उमेश झाले बताए ।
साइकल लेन, फुटपाथ, छोपीने गरी नाला रहने उक्त सडक सबबेस २० सेन्टिमिटर र माथिल्ले फिनीसिङ लेबल १४ सेन्टिमिटर रहने जनाइएको छ । हाल सञ्चालनमा रहेको कजवे लच्का हटाइने र आवश्यक स्थानमा बक्स कन्र्भट निर्माण गरिने पनि योजना रहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत ८८ अर्ब विश्व बैंकको ऋण दिन सहयोगमा निर्माण हुने उक्त सडक वन्यजन्तु मैत्री हुनेछ । पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेकाले सडकबाट वारपार गर्ने जंगली जनावरका लागि ‘एनिमल पास पुल’ पनि निर्माण गरिने सडक विभागको योजना रहेको छ ।
विद्युत, पानी, नेटवर्कको पाइपलाईन, वातावरण संरक्षणको विविध पक्षमा अध्ययन गरी डिजाईन तयार गरिएको कार्यक्रममा विज्ञ तथा प्राविधिकले बताएका छन् । सडक सीमा भित्रको संरचना हटाउने, रुख कटान गर्ने, पोल सार्नेसहितका काममा सडक विभागले रणनीतिक हिसावमा थाल्ने पनि उल्लेख छ । ३० हजार ८ सय ७१ साना ठूला रुख कटान गर्ने, प्रति रुख दश वटाका दरले ३ लाख ८ हजार २ सय ७० विरुवा रोपिने विभागले जनाएको छ ।
सरोकार राख्ने स्थानीय तहका जनप्रतिनिधी तथा नागरिकले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीको क्षमताको आधारमा जिम्मा दिन सडक विभागका विज्ञ प्रविधिकसँग आग्रह गरेका छन् । चार लेन सडकको रूपमा विकास गर्न लागिएको यस राजमार्गमा दैनिक करिब ५ हजार बढी सवारीसाधन आवत जावत हुने गरेको ट्रफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । उक्त सडक निर्माण भएपछि साघुरो सडक र तीव्र गतिका कारण हुने सवारी दुर्घटना, मानवीय क्षतिमा कमि हुने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख संतोष भटराईले बताए ।