घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव

कास्कीको घान्द्रुक क्षेत्रको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले घान्द्रुकमा सेन्चुरी पर्यटन महोत्सव तथा तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन २०८० सुरु भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समिति र घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा जेठ २० सम्म चल्ने महोत्सवको एक समारोहकाबीच गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले उद्घाटन गर्दै गण्डकी प्रदेशको समृद्धिको मुल आधार पर्यटन भएको बताए ।
सांसद बरालले पर्यटनमा उद्यमशीलताको विकास गरी गाउँको समृद्धिसँग जोड्न जरुरी भएको दाबी गर्दै पर्यटन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न गुणात्मकरुपमा फड्को मार्न जरुरी रहेकोमा जोड दिए । प्रदेश सरकारले यसअघि पनि प्रदेशको समृद्धिको मुल आधार पर्यटन घोषणा गरे पनि उचित बजेट विनियोजन गर्न नसक्दा नाम मात्रको समृद्धिको आधार पर्यटन भएको भन्दै सांसद बरालले गुनासो गरे । अब पर्यटन क्षेत्रमा उचित बजेट विनियोजन गर्न आवश्यक भएको उनको भनाइ छ ।
अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित उक्त महोत्सवले घान्द्रुकसहित गण्डकी प्रदेशकै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने सांसद बरालको भनाइ छ । सांसद बरालले भने,“घान्द्रुकमा स्वदेशी र विदेशी पर्यटन किन आउँछन् भन्ने धेरैको जिज्ञासा हुन सक्छ, घान्द्रुकमा प्राकृतिक सौन्दर्ययता, मौलिक संस्कार संस्कृती अवलोकनका लागि पर्यटकहरु आउँछन्, प्रदेश समृद्धिको आधार पर्यटन हो यसको विकास र प्रचारप्रसारमा तपाई हामी अब सबै लाग्नु पर्ने समय आएको छ । यसमा सरकार र निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाएर लैजानुपर्ने छ ।”
सांसद बरालले घान्द्रुक गाउँलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न विद्युत प्राधिकरणले टेण्डरको प्रक्रिया अगाडि बढाएकोले चाँडै नै गाउँमा केन्द्रीय प्रसारण लाइनसँग जोडिने दाबी गरे । पर्यटकीय घान्द्रुक गाउँका स्थानीयले केन्द्रीय प्रसारण लाइन नहुँदा वर्षादको समयमा विद्युत समस्या झेल्दै आउनु परेको सांसद बरालले उल्लेख गरे । समस्या समाधानका लागि प्राधिकरणले घान्द्रुकमा लाइन विस्तारका लागि १७ करोड रुपैयाँमा टेण्डर आह्वान गरेको जानकारी सांसद बरालले दिए ।
उनले छिट्टै गाउँसम्म केन्द्रीय प्रसारण लाइन जोडिने दाबी गरे । महोत्सव अवधिभर पर्यटकलाई घान्द्रुकमा २० प्रतिशत छुट दिइएको छ भने भलिबल र बास्केटबलतर्फ ८ सय रुपैयाँको प्याकेजमा खाने बस्ने व्यवस्था गरेको स्थानीय पर्यटन व्यवसायी किसन गुरुङले बताए । उनका अनुसार एकै रातमा घान्द्रुकमा १ हजार २ सय जना पर्यटकहरुलाई व्यवस्थापन गर्न सकिन्छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित महोत्सवको आयोजना गरेको बताए ।
सो अवसरमा घान्द्रुकमा विगत १३ वर्षदेखि फोहोर व्यवस्थापमा सहयोग पुर्याउँदै आएका राम बहादुर परियारलाई सम्मान गरिएको छ । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौरिस हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथनको समेत आयोजना गर्दै आएको छ । दुईवर्ष कोरोना भाइरसका कारण स्थगित म्याराथन तेस्रो संस्करणको म्याराथन महोत्सवको अन्तिम दिन जेठ २० मा सञ्चालन हुने आयोजकले जनाएको छ ।
म्याराथन प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाउनेछन् । त्यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्याराथनमा सहभागी हुन पुरुषतर्फ ७ र महिलातर्फ ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ ।
म्याराथन जेठ २० मा अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न हुने भएको छ । यसैबीच अन्नपूर्ण महोत्सवमा बुधबार देखि खुल्ला गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । खुल्ला गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा १३ समूहको सहभागिता रहेको आयोजकले जनाएको छ ।