कार्गो रेलले ढुवानी खर्च ३५ प्रतिशत सस्तो
परीक्षण भएको चार वर्षपछि विराटनगर–१८ स्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) मा कार्गो रेल आएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीमा उद्घाटन गरेपछि बथनाहाबाट आईसीपीसम्म कार्गो रेल चल्न सुरु भएको हो । रेल हेर्न स्थानीयको बाक्लो उपस्थिति थियो भने संघीय सांसद योगेन्द्र मण्डल, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला पनि भन्सार परिसरमा आएका थिए ।
सांसद मण्डलले कार्गो रेल सञ्चालन भएसँगै भारत र नेपालबीचको सम्बन्ध थप प्रगाढ भएको बताए । रेल सञ्चालन भएसँगै कोशी प्रदेशको विकासमा एउटा इँटा थपिएको उनले प्रतिक्रिया दिए । मेयर कोइरालाले कार्गो रेल सञ्चालन भएसँगै मोरङ–सुनसरी औद्योगिक क्षेत्रका लागि मालवस्तु आयातमा लाग्दै आएको ढुवानी खर्च ३५ प्रतिशतले सस्तो पर्ने बताए । उनले कार्गो रेल सञ्चालनसँगै यस क्षेत्रमा लगानी थपिने विश्वास व्यक्त गरे ।
कटहरीसम्मै रेल सञ्चालनका लागि देखिएका व्यवधान हटाउन महानगरपालिकाका तर्फबाट समन्वयकारी भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । २०७६ मै कार्गो रेलको परीक्षण गरिएको थियो । रेलको लिक परीक्षण सफल भएको चार वर्ष पुग्दा पनि भारतको बथनाहाबाट नेपालको कटहरीसम्म रेल सञ्चालन हुन सकेको थिएन । रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका–१ मा लगभग ६ बिघा जग्गा मुआब्जा विवादका कारण केही स्थानको काम भने रोकिएको छ ।
बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)सम्मको ७.६ किलोमिटर रेलमार्ग सञ्चालनका लागि योग्य छ । २०६८ देखि सुरु बथनाहा–कटहरी रेलमार्ग निर्माण कार्य २०७३ मा सम्पन्न भइसक्नुपर्ने थियो । तर, मुआब्जा निर्धारण समितिले गरेको प्रतिकट्ठा २ लाखका दरले मुआब्जा दिने निर्णयप्रति कटहरीका जग्गाधनीले असहमति जनाउँदै आएका छन् । अदालतले ८ लाखका दरले मुआब्जा दिनुपर्ने फैसला गरे पनि सरकारले मुआब्जा वितरणमा ढिलाइ गरेपछि स्थानीय केही जग्गाधनीले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
उद्योगी–व्यवसायी उत्साहित
विराटनगरको भन्सार चौकीमा रेल आउँदा उद्योगी–व्यवसायी उत्साहित देखिएका छन् । नेपाल उद्योग परिसंघका कोशी प्रदेश अध्यक्ष भीम घिमिरेले कार्गो रेल सञ्चालनले पूर्वका उद्योगीमा उत्साह जगाएको प्रतिक्रिया दिए ।
चर्को बैंक ब्याज, विद्युत समस्या, प्रतिस्पर्धात्मक क्षमतामा ह्रास, बजारको अभावलगायत समस्या झेल्दै आएका उद्योगी व्यवसायीका लागि कार्गो रेल सञ्चालनले सञ्जिवनीको काम गर्ने उनले बताए । “कार्गो रेल विराटनगरमा आएको छ । यसले हामी लगानीकर्तामा थोरै भए पनि उत्साह जगाएको छ,” घिमिरेले भने, “यो अब नियमित सञ्चालनमा आउनुपर्छ ।”
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगीले लामो समयदेखि उठाउँदै आएको एउटा मुद्दा पूरा भएको बताए । “हामीले लामो समयदेखि माग गर्दै आएको विषयको सम्बोधन भएको छ । विराटनगरस्थित रेल्वे यार्डमा पहिलोपटक कार्गो रेल आएको छ,” सुरानाले भने, “अब कस्टम यार्डसम्म मात्रै होइन, कटहरीसम्म रेल सञ्चालनको वातावरण बनाउनुपर्छ ।”
नियमित कार्गो रेल सञ्चालन भए ढुवानीमा ३५ प्रतिशतसम्म सस्तो पर्न जाने संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । विराटनगर भन्सारमा दैनिक ३ सय ट्रक अर्थात् झण्डै ४ हजार ५ सय टन मालवस्तु आयात हुने गरेको छ । जसमध्ये ८० प्रतिशत भारतबाट र २० प्रतिशत तेस्रो मुलुकबाट आउने गरेको छ । कार्गो रेल सञ्चालनपछि तेस्रो मुलुकबाट आउने सबै र भारतबाट आउने ६० प्रतिशत मालवस्तु रेल्वेमार्फत आउने उनको भनाइ छ ।
ट्रकबाट आएका मालवस्तुको प्रतिट्रक (१५ टन) को भारु ४० हजार रुपैयाँ ढुवानी खर्च लाग्ने गरेको छ । रेल्वेमार्फत आउने हो भने त्यो ढुवानी खर्च घटेर भारतीय रुपैयाँ २९ हजारमै आइपुग्नेछ । एकीकृत भन्सार जाँच चौकीभन्दा करिब ५ किलोमिटर भारततर्फ रहेको बथनाहासम्म हाल रेल कार्गोमार्फत नेपाली उद्योगी व्यवसायीले बल्क कार्गो ल्याउने गरेका थिए । बथनाहासम्म आएको रेल कार्गोको लोड/अनलोड, पुनः ट्रकमा लोड गरी भन्सारसम्म ल्याउनुपर्ने र जाँचपास गरी गन्तव्यतर्फ जाने गरेका छन् ।