सुरु भयो नेपालगन्ज एकीकृत जाँच चौकी «

सुरु भयो नेपालगन्ज एकीकृत जाँच चौकी

पश्चिम तराईको प्रमुख नाका बाँकेको नेपालगन्जस्थित जयसपुरमा एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको छ । नयाँदिल्लीस्थित प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दिउँसो संयुक्त रुपमा उद्घाटन गरेपछि भारतको रुपैडिहामा र नेपालगन्जको जयसपुरमा रहेको आईसीपी सञ्चालनमा आएको हो ।

यो भारतीय सहयोगमा बनेको हो । दुई अर्ब ३५ करोड लागतमा निर्माण भएको जाँच चौकीमा तीन सय ट्रक पार्किङ गर्ने क्षमता छ । यहाँ गोदाम, भन्सार भवन, क्वारेन्टिन भवन, अध्यागमन, कार्यालय भवन, बैंक, भन्सार एजेन्ट, पार्किङलगायत विभिन्न सुविधा छन् । सबै सुविधा एकीकृत रुपमा पाइने नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

आईसीपी आंशिक रुपमा सञ्चालनमा आएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । उनले कारोबारसँग भने, “नेपालबाट एक ट्रक जडिबुटी भारततर्फ निर्यात गरिएको छ भने भारतबाट पेट्रोलियम पदार्थ, ग्यास र भेनियर बोकेका तीन गाडी आएका छन् ।” उनका अनुसार विगतमा आयात–निर्यातका लागि वीरगन्ज, भैरहवाबाट जाँच पास गरेर सामान ल्याउनु–लैजानुपर्ने अवस्था थियो ।

सबै सेवासहित जाँच चौकी सञ्चालनमा आएपछि व्यवसायीलाई सहज हुनेछ । एकीकृत जाँच चौकी अन्तगर्तका महत्वपूर्ण संरचना क्वारेन्टाइन ब्लक, गोदाम, प्यासेन्जर टर्मिनल भवन, प्रशासनिक भवन लगायतको काम सम्पन्न भइसकेको सहजीकरणको जिम्मा पाएको संघीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । अब ब्यारेक भवनको केही काम र फर्निसिङको दोस्रो चरणको ठेक्काको काम बाँकी रहेको आयोजनाका निमित्त आयोजना प्रमुख विजयकेशर खनालले बताए ।

अन्तर्राष्ट्रिय व्यापारमा महत्वपूर्ण पूर्वाधार मानिएको आईसीपी सञ्चालनमा आएपछि यस क्षेत्रका व्यवसायी उत्साहित छन् । उनीहरुले आंशिक रुपमा आईसीपी सञ्चालनमा आए पनि विभिन्न संरचना निर्माणका काम अझै बाँकी रहेको भन्दै छिट्टै पूर्ण रुपमा सञ्चालन हुनुपर्ने माग गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले यो नेपालगन्जका व्यवसायीको सपना भएकोले बाँकी संरचना छिटोभन्दा छिटो निर्माण गरी पूर्ण रुपमा आईसीपी सञ्चालन हुनुपर्ने बताए ।

नेपाल र भारत सरकारबीच सन् २००५ मा भएको सम्झौताबमोजिम भारतले विराटनगर, वीरगन्ज, नेपालगन्ज र भैरहवा नाकामा आईसीपी निर्माण गरिदिने सहमति जनाएको थियो । सहमति भएको १५ वर्षपछि सन् २०२० नोभेम्बर २५ देखि आईसीपी निर्माण थालिएकोमा २५ नोभेम्बर २०२२ मा सम्पन्न गर्ने लक्ष्य थियो । तर, विविध कारणले समयमै सम्पन्न हुन नसकेपछि जाँच चौकी ढिलो सञ्चालनमा आएको हो । आईसीपी सञ्चालनमा आएपछि यसले दुई देशबीचको व्यापार सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्