तनहुँबाट एक अर्ब बढी बजेट फिर्ता «

तनहुँबाट एक अर्ब बढी बजेट फिर्ता

दमौली-तनहुँमा संघ र प्रदेश सरकारबाट आएको एक अर्बभन्दा बढी विकास बजेट फिर्ता भएको छ ।
आर्थिक वर्ष ०७५-७६ मा जिल्लामा संघ र प्रदेशबाट आएको विकास बजेटमध्ये एक अर्ब १७ करोड ८ लाख रुपैयाँ खर्च नभएको कोष तथा लेखा नियन्त्रकको कार्यालय तनहुँले जानकारी दिएको छ । संघबाट आएको चालु बजेटमा ७ अर्ब ४० करोड ४६ लाख १३ हजार दुई सय ८१ रुपैयाँमध्ये ७ अर्ब १८ करोड ५८ लाख ६० हजार ७ सय ९२ रुपैयाँ खर्च भएको र २१ करोड ८७ लाख ५२ हजार ४ सय ८८ रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको हो ।
त्यस्तै पुँजीगतमा १ अर्ब ५३ करोड ९१ लाख २१ हजार आएको बजेटमा १ अर्ब २६ करोड ६५ लाख ३३ हजार आठ सय १३ रुपैयाँ खर्च भएको छ । जसमा २७ करोड २५ लाख ८७ हजार एक सय ८६ रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको कार्यालयका प्रमुख विष्णुहरि वाग्लेले जानकारी दिए ।
संघको चालु र पुँजीगततर्फ ४९ करोड ७ लाख ३३ हजार ६ सय ७४ रुपैयाँ बजेट खर्च नहुँदा फिर्ता भएको छ । त्यसैगरी प्रदेश सरकारबाट जिल्लामा आएको चालुतर्फ ६२ करोड २७ लाख ७८ हजार चार सय ७५ मध्ये ४९ करोड ९३ लाख २६ हजार ९ सय ७० रकम खर्च भयो भने १२ करोड ३४ लाख ५१ हजार ५ सय चार रुपैयाँ फिर्ता भएको छ ।
प्रदेशको चालु र पुँजीगततर्फ ६४ करोड ३० लाख २१ हजार एक सय ५२ रुपैयाँ बजेट खर्च नहुँदा फिर्ता भएको हो । गत वर्षमा तनहुँबाट ८१ करोड १३ लाख ६७ हजार १२ रुपैयाँ रकम बजेट खर्च नहुँदा फिर्ता भएको थियो ।
तनहुँमा ५१ वटा बजेट निकासा कार्यालय छन् । जसमा ३८ वटा संघको, ३ वटा प्रदेशको र १० वटा स्थानीय तहका छन् ।

प्रतिक्रिया दिनुहोस्